काठमाडौँ– आसन्न स्थानीय तहको निर्वाचनको कारण उम्मेदवारहरूलाई भ्याईनभ्याई छ ।
मतदाता कहाँ आफ्नो योजना लिएर घरदैलोमा उनीहरुको व्यस्तता बढ्दो छ । यद्यपि एक उम्मेदवार अनशन बसेका छन् । काठमाडौँ महानगरपालिकामा मेयर पदको लागि उम्मेदवारी दिएका दीपक सिलवाल अनशनमा छन् । उनले निर्वाचन आयोगबाट समेत रिक्सा चुनाव चिन्ह पाएका छन् । उनले गत वैशाख २२ गतेबाट अनशन बसेका हुन् ।
घर आँगन नेपाल मार्फत बालबालिकालाई सहयोग गर्दै आएका समाजसेवी दिपकले सुत्केरीको व्यथाले छटपटाइ रहेकी महिलालाई उद्धार गर्ने गरेका छन् । बच्चालाई जन्मदिन नसकेर पीडामा रहेकी महिलाहरूलाई हेलिकप्टर मार्फत उद्धार गर्ने गरेका छन् । यसो गर्दै गर्दा उनलाई केही ऋण समेत परेको छ । ‘मैले आफ्नो सम्पत्ति बेचेर नै सेवा गर्दै आइरहेको छु । त्यो सकिएपछि म संग अब बाँकी केही छैन । अझै केही रकम हेलिकप्टरलाई तिर्न बाँकी छ । त्यसको लागि प्रहरी कहाँ पनि पुगेको छु’ दीपकले भने ।
उनले आफ्नो अभियान ‘किनौँ हेली, बचाउँ चेली’ लाई अगाडि बढाउन अनशन बसेको बताए । ‘हामीले सम्पूर्ण नेपालीहरूले थोरैधेरै सहयोगी हात अगाडि बढाउने हो भने हेलिकप्टर किन्न सकिन्छ । त्यसबाट हामीले आर्थिक अभावमा गाउँमा छटपटाई रहेका महिलाहरूलाई उद्धार गर्न सक्छौँ’ उनले भने । उनले आफूले अनशन नतोड्ने समेत बताए ।
‘मैले आफ्नो अधिकार प्रयोग गरेर उम्मेदवारी दिएको हो । यद्यपि मलाई चुनावी प्रतिष्पर्धामा जानु नै छैन । मैले आफ्नो माग सम्बोधन नभएसम्म म अनशन तोड्दिन’ दीपकले भने । उनले हालसम्म व्यक्तिगत खर्चमा १२ जना महिलाहरूको उद्धार गरेको बताए । राज्यले नै दुई हेलिकप्टरको व्यवस्था गरेर दुर्गममा रहेर सुत्केरी पीडामा रहेका महिलाहरूले ज्यान गुमाउनु पर्दैन । यो राज्यले सक्ने कुरा हो यद्यपि आवाज त्यहाँसम्म नपुगेर हाम्रा कयौँ महिला दिदीबहिनीहरूले ज्यान गुमाउनु भएको छ’ उनले भने ।
उनले आफूले सुरु गरेको अभियान पश्चात नेपाल सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु भएको बताए । ‘मलाई महिला मन्त्रालय अन्तर्गतको सह-सचिवले सम्पर्क गरेर आइडिया पनि लिनु भयो । मैले उहाँहरूलाई उद्धार गर्नु पर्ने महिलाहरूलाई सम्पर्क समेत गराए । यद्यपि सरकारी प्रोसेस बढी हुने भएकाले तुरुन्तै उद्धार गर्नु पर्ने स्थानमा गाह्रो हुने गरेको छ । त्यसैले मैले किनौँ हेली, बचाउँ चेली अभियान सुरु गरेको हुँ’ दीपकले भने ।
प्रतिक्रिया