बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. सत्ता गठबन्धनको बैठक बस्दै
प्रदेश र संघीय निर्वाचनका लागि सिट बाँडफाँडको मोडालिटीसहित सुझाव दिन गठित सत्तारूढ पाँच दलीय कार्यदलको पहिलो बैठक आज बस्दै छ। दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धनको आधार र मापदण्डको विषयमा छलफल हुने कार्यदल सदस्यहरुले बताएका छन्। पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँडबारे छलफल गर्ने कार्यदलको तयारी रहेको सदस्य कृष्णप्रसाद सिटौलाले जानकारी दिए । तालमेलको आधारबारे पहिलो बैठकमा छलफल हुने छ। कार्यदलको बैठकअघि अहिले कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै छ ।

२. राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी जानकारी गराउन आज राष्ट्रिय सभाको बैठक बस्दै छ । राष्ट्रिय सभाको १२औँ अधिवेशनको ४५औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । यस्तै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

३. दुई संसदीय समितिका बैठक बस्दै
विभिन्न समसामयिक विषयमा छलफल गर्न संघीय संसद् अन्तर्गतका दुई वटा समितिको बैठक आज बस्दैछ । विकास तथा प्रविधि समिति र महिला तथा सामाजिक समितिको बैठक बस्न लागेको हो । विकास तथा प्रविधि समितिको बैठकमा नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान अवस्थाको सम्बन्धमा छलफल हुनेछ । यस्तै, महिला तथा सामाजिक समितिको बैठकमा राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन र आगामी आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीति सम्बन्धमा छलफल हुने जनाएको छ । दुबै समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

४. दर्ताका लागि ६ वटा दलको निर्वाचन आयोगमा निवेदन
मंसिर ४ गते हुने चुनावका लागि ६ वटा पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचनमा भाग लिन एक सय १६ वटा दल योग्य रहेका छन् । आयोगले साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दल दर्ता गर्न समय दिएको छ ।  हिजो पहिलो दिनमै ६ दलले दल दर्ता गरेको आयोगले जनाएको छ । बिदाका दिनमा समेत दल दर्ताका लागि कार्यालय खुल्ला रहने आयोगले जनाएको छ  ।

५. तनहुँमा छ मतदानस्थल थप गर्न सिफारिस 
मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति तनहुँले जिल्लामा छ मतदानस्थल थप गर्नका लागि निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका चार स्थानीय तहमा ती मतदानस्थल थप गर्न आयोगसमक्ष सिफारिस गरिएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।

६. मध्य बिन्दु जिल्ला अस्पतालको अपरेसन सेवा पाँच महिनादेखि बन्द
नवलपरासीको बर्दघाट सुस्तापूर्व नवलपुरको मध्य बिन्दु जिल्ला अस्पतालमा पाँच महिनादेखि अपरेसन सेवा बन्द भएको छ । जिल्ला अस्पतालमा आवश्यक जनशक्ति नहुँदा पाँच महिनादेखि अपरेसन सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए। गएको चैतदेखि जिल्ला अस्पतालमा अपरेसन सेवा बन्द भएको हो । जिल्ला अस्पतालमा अपरेसन पूर्व बेहोस बनाउने चिकित्सक नहुँदा सेवा बन्द हुन पुगेको सूचना अधिकारी सुवेदीले बताए।

७. पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना प्रभावित
पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो । अर्बौँ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ । जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् ।

८. बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछलेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पुर्‍याउन थालेपछि स्थानीयहरू धार परिवर्तन गर्न जुटेका छन् । नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो । जनताको तटबन्ध कार्यालयले केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थालेपछि जोगाउनका लागि नदीको धार परिवर्तनमा लागेका वडाध्यक्ष अर्जुनबहादुर साउदले बताए ।

९.इजरायल र प्यालेस्टाइनबीच युद्धविरामको सहमति
इजरायल र प्यालेस्टाइनी लडाकूहरूबीच युद्धविरामको सहमति भएको छ । तीन दिनको हिंसामा ४३ जनाको मृत्यु भएपछि दुबै पक्ष युद्धविराम कार्यान्वयनको लागि सहमत भएका हुन् । प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) का लडाकुहरूले इजिप्टका मध्यस्थकर्ताहरूले गरेको मध्यस्थता वार्तापछि युद्धविराम सुरु भएको बताएका छन् ।  इजरायली प्रधानमन्त्री यायर लापिडको कार्यालयले युद्धविरामको पुष्टि गरेको छ । पछिल्लो तीन दिनमा भड्किएको हिंसाका कारण १५ जना बालबालिकासहित ४३ जनाको मृत्यु भएको छ । ३०० भन्दा बढी घाइते भएका छन् ।

१०. जोन ग्याम्परको उपाधि बार्सिलोनाले जित्यो
मेक्सिकन क्लब पुमास यूएनएएमलाई ६–० गोल अन्तरले हराउँदै स्पेनिस क्लब बार्सिलोनाले जोन गाम्परको उपाधि जितेको छ । गए राति घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ६–० को जित निकालेको हो । बार्सिलोनाले पहिलो २० मिनेटमै चार गोल गरेको थियो । बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ । हालसम्म ५७ पटक यो कपको आयोजना हुँदा बार्सिलोनाले सर्वाधिक ४५ पटक यो उपाधि जितेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १० : २५ बजे

५० रन नपुग्दै कर्णालीले ओपनरसहित गुमायो ३ विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुरविरुद्ध कर्णाली

अफगानिस्तानमा बस दुर्घटना, ५२ जनाको मृत्यु

एजेन्सी – अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्यांकर र

कर्णालीलाई पहिलो झट्का, जयकिशन १ रनमै आउट

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई

पहिलो पटक ओजन तहमा सुधार, वैज्ञानिकहरू खुसी

काठमाडाैं– पृथ्वीको निरन्तर तापक्रम अहिले यस ग्रहमा बस्ने हरेक मानिसका

मञ्जुश्री फाइनान्सको ६.३५ प्रतिशत नगद लाभांश घोषणा 

काठमाडौं– मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य