समाचार

अविरल वर्षाले तीन हजारभन्दा बढी घर डुबानमा

By खबरहब

October 08, 2022

देउखुरी– गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण दाङका अधिकांश बस्ती डुबानमा परेका छन् । लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा धरै क्षति भएको छ । स्थानीय खोलामा आएको बाढीका कारण बस्तीमा पानी पसेको छ । तीन हजार पाँच सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा तीन हजार पाँच सय ३५ घर डुबानमा परेका छन् भने ५८ घर भत्किएको जिल्ला आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ । घर डुबानमा परेपछि विस्थापित डुङ्गाको प्रयोग गरेर आफन्तको घरमा आश्रय लिएर बसेका छन् । 

सबैभन्दा बढी देउखुरी क्षेत्रमा क्षति भएको छ । लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिका पूर्णरूपमा प्रभावित बनेका छन् । यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण गाउँपालिका, बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकाका अधिकांश वडा बाढीका कारण प्रभावित छन् ।