मनाङ– “चिसो बढ्दै गएको छ । जाडो बढ्दै गएपछि गाउँ रित्तिँदैछ । चिसोमा भेडाच्याङ्ग्राको पाठापाठी र चौरीको बाच्छाबाच्छी बचाउनै मुस्किल हुन्छ”, हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय पशुपालक किसान याङदुङ गुरुङ भन्छन्।
“पानी जम्दैछ । लेकमा बस्न सकिँदैन । लेकमा घाँस पनि सकिन थाल्यो । लेकबाट बेँसी झारेर बचाउन लागिरहेको छु”, उनले भने, “यी पशुको माया लाग्छ, छोडेर कहीँ जान सक्दिन । यिनैको मायाले यही पानी तताएर खुवाउँदै बसेको छु ।” भेडाच्याङ्ग्रा र चौँरीसहित गोठाला बेँसी झरिसकेका उनी बताउँछन्। उनको गोठमा अहिले ६५ चौँरीलगायत भेडाच्याङ्ग्रा गरी ७० पशु रहेका छन् ।
नार्पाभूमि गाउँपालिकाका निवर्तमान अध्यक्ष मिङ्मार छिरिङ लामा भन्छन्, “वस्तुभाउको व्यवस्थापन गरेर गाउँबाट बेँसी झर्छन् यहाँका स्थानीयवासी । अबको एक सातामा पूरै गाउँ रित्तिन्छ ।”
मनाङका अधिकांश स्थानीयवासी पशुपालनमा आबद्ध छन् । त्यसले गर्दा उनीहरू वर्षमा दुई पटक लेकबेँसी गर्ने गर्छन् । बर्सातको समय लेक र हिउँदको समय बँेसी झर्ने उनीहरूको परम्परा जस्तै हो । उहाँले अब चैत पहिलो साता मात्रै लेक चढ्ने बताए ।
प्रतिक्रिया