महोत्तरी – श्रीपुर र कबिलासपूरका किसानलाई बजार जान होस् वा अर्को गाउँ जान होस् एक वर्ष अघिसम्म निक्कै कठिन थियो ।
अझ बर्षायाममा यो गाउँमा नाकाबन्दी लागेको जस्तै हुन्थ्यो । अत्यावश्यक परेर अर्को गाउँ जान परेमा जंघाहा खोलामा हेलिनै पर्ने हुन्थ्यो । यही बाध्यताले कविलासपुर र श्रीपुरका सर्वसाधारणले धेरैले आफ्न्त गुमाएको उनीहरूसँग नमिठो विगत छ ।
करिब ३६ करोड लागतमा यही ठाउँमा पुल निर्माण भएयता औरहीवासी निकै खुसी भएका छन् ।

औपचारिक रुपमा पुल सञ्चालनमा आएपछिको खुसी उनीहरूको अनुहारमा प्रष्ट देखिन्थ्यो ।
कबिलासपूरका अजय दासले खुसी पोखे, ‘हाम्रै जीवनकालमा यहाँ पुल बन्ला र सहज होला भन्ने सोचेका थिएनौँ । पुल बनेपछि आधा समस्या सकियो ।’
वडा नम्बर ४ को कबिलासपूर र वडा नम्बर ५ को श्रीपुरमा करिब १० हजार जनालाई यो पुल हुँदा सहज भएको छ । पुल निर्माणले किसानहरूका उत्पादित वस्तु बजारसम्म पुर्याउन र एक गाउँबाट अर्को गाउँ जान सहज भएको उनीहरू बताउँछन् ।

औरही नगरपालिकाका नगरप्रमुख सुनिल यादवले जनताको समृद्धिसँग जोडिएका पुलमात्रै उद्घाटन गरेनन् यहाँको रामजानकी मन्दिर, विद्यालय, सामुदायिक भवन, नगर अस्पताल र आठ वटा स्वास्थ्य चौकीको पनि उद्घाटन गरेका छन् ।
करिब एक सय ९५ मिटर लम्बाइको यो पुलले वडा नम्बर ४ र ५ का स्थानीयलाई अभाव र बाध्यताबाट मुक्ती मात्र गराएन वर्षेनी बाढी कै कारण धनजनको क्षतिले अप्रिय घटनाको साक्षी समेत बन्दै आएका किसानलाई सहज प्रदान गरेको छ ।
श्रीपुर र कबिलासपुरका साना नानीहरूलाई पनि वर्षायाममा आवतजावत गर्न समस्या थियो । श्रीपुर र कबिलासपुर कै बीचमा श्री सोन्फी दशै उच्च माध्यमिक विद्यालय छ । यस विद्यालयमा उक्त गाउँका करिब पाँच सय विद्यार्थी पढ्छन् ।
गाउँमा उत्पादित वस्तुहरूलाई बजारसम्म पुर्याउन स्थानीयहरूलाई सहज भएसँगै यहाँका किसानले आधुनिक कृषि कर्मलाई पनि जोड दिएका छन् । परम्परागत खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका किसानहरू अहिले व्यवसायिक खेतीतर्फ आकर्षित भएका छन् ।
पहिलेको तुलनामा व्यवसायिक खेती गर्नेको संख्या बढीरहेको नगरप्रमुख सुनील यादवको ठम्याइ छ ।













प्रतिक्रिया