जाजरकोट – जाजरकोटको पूर्वी क्षेत्रमा रहेका दुई ठूला आयोजना निर्माण कार्य सुरु भएको ३६ वर्षपछि कामको सुरुवात भएको छ ।
बारेकोट गाउँपालिका–४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजनाको २०४२ सालमा कामको सुरुवात भएको थियो । अर्को भेरी नगरपालिकाको भूरचौरमा रहेको भूरचौर सिँचाइ आयोजनाको निर्माणका लागि समितिले अध्ययन गरिरहेको छ ।
भूरचौर सिँचाइ योजना २०४३ सालमा सुरु भएर बीचमै अलपत्र परेको थियो । नायकबाडाको सिँचाइ आयोजना तत्कालीन वन सहायक मन्त्री दीपबहादुर सिंहको पालामा सुरु गरिएको भए पनि बीचमै काम रोकिएको थियो । यी दुवै आयोजना निर्माण गर्नका लागि पहल नहुँदा रोकिएको अवस्थामा रहेका थिए ।
कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले माघ २३ गते पद बहाली गर्दा दुवै आयोजना निर्माणका लागि आयोजनाको अवस्था पत्ता लगाउन एक समिति गठन गर्न निर्देशन दिँदै कामको सुरुवात गरेका थिए । अध्ययन समितिले नायकबाडा सिँचाइ आयोजनाको काम गर्न सकिने निष्कर्ष निकालेको छ ।
भूरचौर सिँचाइ आयोजनाबारे विस्तृत अध्ययन जारी रहेको बताइएको छ । हिजो मात्र कर्णालीका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले सातै प्रदेशका र संघीय सरकारको बीचमा प्रस्तावित सिँचाइ नीतिमाथिको छलफलको क्रममा दुवै आयोजनाका विषयमा लिखित प्रस्ताव राखेका थिए ।
वर्षेनी नयाँ –नयाँ योजना प्रस्ताव हुने तर काम बीचमै छोडेर जाने कार्यले गर्दा ठूला योजना अलपत्र परेको भन्दै पुराना आयोजना सकेर मात्र नयाँमा जानुपर्ने अन्तरक्रिया कार्यक्रममा सहभागीले जोड दिएका थिए । आयोजना छनोट गर्दा बस्तुवादी र लगानी उठ्ने हुनुपर्नेमा जोड दिइएको थियो ।
कर्णालीको रिपोर्ट खास धरातलबाट आएको भन्दै ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भूलासले प्रशंसासमेत गरेकी थिइन् ।
नायकबाडा सिँचाइ योजना निर्माण भएमा यहाँका दुई वटा वडाको भारी जमिनमा सिञ्चित हुने छन् । वर्षेनी खाद्यान्न झेल्ने बारेकोटमा यो सिँचाइ योजनाले उत्पादनमा वृद्धि गरी आर्थिक रूपमा बलियो बनाउने स्थानीयवासी जनकबहादुर शाहीले जानकारी दिए ।
अहिले आकासे पानीको भरमा नायकबाडा, मैनालगायतका ठाउँमा खेती हुँदै आएको छ । धानबाली लगाउँदा आकासे पानी हेरेर मात्र रोपाइ हुने गरेको छ । बारेकोट गाउँपालिकाको सबैभन्दा बढी खेतीयोग्य जमिन नायकबाडामै रहेको छ ।
लगानी धेरै लग्ने भएपछि आयोजना बीचमै अलपत्र परिएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । करिब १२ किलोमिटर लामो नहरबाट नायकबाडामा पानी लिनुपर्ने अवस्था रहेको छ ।
उता भूरचौर तत्काल सिँचाइ तथा खानेपानीको अवस्था आपूर्ति गर्नका लागि प्रदेश सरकारकै पहलमा लिफ्टमार्फत पानी तानेर समस्या हल भइरहेको छ । भेरी नदीबाट पानी तानेर आपूर्ति गरिएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए । बृहत् आयोजना भएकाले सानोतिनो लगानीले दुवै आयोजना निर्माण गर्न नसकिने प्रमुख शाहीले बताए ।
प्रतिक्रिया