जेलेन्स्कीको आह्वान
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप हतियार र कडा प्रतिबन्धहरू लगाउन आह्वान गरेका छन् ।
पूर्र्वी युक्रेनमा रुसी आक्रमणको त्रासले भागेका महिला, बालबालिका र वृद्धवृद्धाहरूले भरिएको रेल स्टेसनमा हमला हुँदा कम्तिमा ५२ जनाको मृत्यु भइरहेका बेला जेलेन्स्कीको आह्वान आएको हो ।
पूर्वी क्षेत्रको क्रामाटोर्स्कमा भएको सो हमलालाई राष्ट्रपति जेलेन्स्कीले नियोजित रुपमा भएको बताएका छन् । हमला भएका समयमा करिब ४ हजार मानिस भेला भएको सहरका मेयरले अनुमान गरेका छन् ।
रुसद्वारा १५ विदेशी संस्थाका कार्यालय बन्द
रुसले त्यहाँ कार्यरत १५ विदेशी संस्थाका कार्यालय बन्द गरिदिएको छ ।
रुसको राजधानी मस्कोबाट प्रकाशित हुने मस्को टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार रुसले ह्युमन राइट्स वाच, एम्नेष्टी इन्टरनेशनल, कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिस, फ्रेडरिक नौमन फाउन्डेसन फर फ्रिडम, फ्रेडरिक एबर्ट फाउन्डेसन, आगा खान फाउन्डेसन, स्पोल्नोटा पोल्स्का एसोसिएसन लगायत १५ अन्तर्राष्ट्रिय संस्थाहरूको स्थानीय कार्यालयहरू बन्द गरेको हो ।
रुसमा ती संस्थाको दर्ता समेत खारेज गरेको बताइएको छ । रुसी न्याय मन्त्रालयले ‘रुसी महासंघमा कायम ऐन अनुसार’ ती संस्थाहरु बन्द गरिएको जनाएको छ ।
रुसमा बन्द गरिएका अन्तर्राष्ट्रिय संस्थाहरूमा ९ जर्मन, तीन अमेरिकी र बेलायत, पोल्याण्ड र स्विट्जरल्याण्डका एक एक संस्था रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
युक्रेनमा रुसी सैनिक नेतृत्व हेरफेर
रुसले युक्रेनमा आफ्नो सैन्य नेतृत्वलाई पुनर्गठन गरेको छ । बीबीसीले जनाएअनुसार रुसले युक्रेनमा जारी आक्रमणका लागि सैनिक नेतृत्व हेरफेर गरेको हो ।
बीबीसीको समाचारमा जनाइएअनुसार जनरल अलेक्जेन्डर दिभोर्निकोभलाई युक्रेनमा रुसी सैनिक गतिविधिको नेतृत्व गर्ने सम्पूर्ण जिम्मेवारी दिइएको छ ।
यसअघि युक्रेनका विभिन्न क्षेत्रमा छुट्टाछुट्टै रुसी कमान्डरले युद्ध चलाइरहेको बताइएको छ । जनरल दिभोर्निकोभसँग सिरियामा रुसी कारवाहीमा राम्रो अनुभव रहेको पश्चिमा अधिकारीहरूले बताएका छन् ।
नाम नबताउने स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यसअघि दिभोर्निकोभ रुसको दक्षिणी सैन्य जिल्लाका कमाण्डर थिए । युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्नस्वरूप नयाँ कमान्डर खटाइएको बताइएको छ ।
अपेक्षा अनुसार सैनिक लक्ष्य हासिल गर्न नसकेको र किभ जस्ता मुख्य शहरमा पनि नियन्त्रण जमाउन नसकेका कारण अहिले रुसी सेना पूर्वको डोनबास क्षेत्रमा केन्द्रित हुनुपरेको बीबीसीले जनाएको छ ।
लुहान्स्कबाट सुरक्षित स्थानमा जान स्थानीयलाई युक्रेनको आह्वान
रुसी सेनाले पूर्वी युक्रेनमा गोलाबारी तीब्र पारेसँगै युक्रेन सरकारले सर्वसाधारणलाई लुहान्स्कबाट सुरक्षित क्षेत्रमा जान आह्वान गरेको छ ।
सो क्षेत्रमा ठूलो सङ्ख्यामा रुसी फौज परिचालन भएको जनाइएको छ । सो क्षेत्रका सहर र गाउँमा अझै ३० प्रतिशत बासिन्दा रहेको रोयटर्स समाचार संस्थाले जनाएको छ ।
रुसले पूर्वी युक्रेनको डोनबासमा आफ्नो हमला तीव्र पारेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले त्यहाँ खाली गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।
डेढ महिनाअघि रुसी फौजले डोनबास क्षेत्रलाई ‘मुक्त गर्न’ भन्दै युक्रेनमा ‘विशेष सैनिक कारवाही’ को घोषणा गरेको थियो ।
यद्यपि युक्रेनमा जारी रुसी आक्रमण सुस्त भएसँगै रुसले अब आफ्नो सैनिक गतिविधिलाई पूर्वी युक्रेनतर्फ केन्द्रित गर्ने जनाएको छ ।
पुटिनका छोरीहरुमाथि बेलायतको पनि प्रतिबन्ध
युक्रेनमाथि जारी आक्रमणको जवाफमा बेलायतले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ ।
पुटिनका छोरीहरुका साथै बेलायतले रूसी विदेशमन्त्री सर्गेई लाभरोभकी छोरी माथि पनि प्रतिबन्ध लगाएको बेलायती सरकारले एक प्रेस विज्ञप्तिमा जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “आजबाट क्रेमलिनको भित्री घेराको भव्य जीवनशैली थप लक्षित गर्दै बेलायतले राष्ट्रपति भ्लादिमिर पुटिन र उनका विदेशमन्त्री सर्गेई लाभरोभका छोरीहरूलाई प्रतिबन्ध लगाउने भएको छ ।”
राष्ट्रपति पुटिनकी छोरी क्याटरिना भ्लादिमिरोभना टिखोनोभा,मारिया भ्लादिमिरोभना भोरोन्सोभा तथा विदेश मन्त्री सर्गेई लाभरोभकी छोरी येकाटेरिना सर्गेइभाना भिनोकुरोभालाई यात्रा प्रतिबन्ध लगाउँदै उनीहरूको बेलायतमा रहेको र सम्पत्ति जफत गरिने निर्णयमा उल्लेख रहेको अमेरिकी समाचार संस्था एनपीआरले जनाएको छ ।
यसअघि गत बुधबार अमेरिकाले पनि पुटिनका छोरीहरूमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।
राजीनामा दिएपनि श्रीलंकाका अर्थमन्त्रीले जिम्मेवारीलाई निरन्तरता दिने
चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव झेलिरहेको श्रीलंकामा अर्थमन्त्रीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने जनाएका छन् ।
यसै साताको शुरुमा नयाँ अर्थमन्त्रीको नियुक्ति पाएको २४ घण्टा नबित्दै राजिनामा दिएका श्रीलंकाली सत्तारुढ दलका सांसद अली सबरीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका हुन् ।
२६ मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि उनलाई गत सोमबार राष्ट्रपति गोताबाया राजपाक्षेले अर्थमन्त्री नियुक्त गरेका थिए । अर्थमन्त्रीको नियुक्ति पाएको एक दिनपछि सबरीले राष्ट्रपतिसमक्ष राजीनामा पेश गरेका थिए ।
यद्यपि राष्ट्रपतिले उनको राजीनामा स्वीकृत नगरेको बताइएको छ । सबरीले शुक्रबार संसदमा बोल्दै अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न धेरैले आनाकानी गरेको र राष्ट्रपति गोताबाया राजपाक्षेले सबरीको राजीनामा स्वीकृत गर्न नमानेपछि उनले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका हुन् ।
सबरीले भने, ‘जस्तोसुकै चुनौती सामना गर्नु परे पनि देशको अर्थतन्त्र बचाउन म अर्थमन्त्रीका रुपमा रहन र आवश्यक काम गर्न तयार छु ।’
ईयूले युक्रेनमा कूटनीतिक गतिविधि राजधानी किभबाटै गर्ने
युक्रेनमा रुसी आक्रमणपछि अस्थायी रूपमा पोल्याण्डबाट गर्दै आएका आफ्ना कूटनीतिक कार्य पुनः राजधानी किभबाट गर्ने युरोपेली युनियन ईयूले जनाएको छ ।
ईयूका शीर्षस्थ पदाधिकारीले किभको भ्रमण गरेलगत्तै यस्तो भनाइ आएको हो । यसअघि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइन र ईयूका विदेश मामिला प्रमुख जोसेफ बोरेलले किभको भ्रमण गरी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।
ईयूको पछिल्लो कदमले युक्रेनी सरकारसँग ईयूको अन्तरक्रियालाई बढाउने र युक्रेनी नागरिकहरूलाई सहयोग गर्ने बोरेलले विश्वास व्यक्त गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
युक्रेनमा रुसले २४ फेब्रुवरीमा हमला गरेपछि केही पश्चिमा देशहरुले आफ्ना कूटनीतिक नियोग बन्द गरेर कर्मचारीलाई स्वदेश बोलाएका थिए ।
पछिल्लो समय रुसले आफ्नो हमला पूर्वी युक्रेनमा केन्द्रित गरेको जनाएको छ ।
रुसी आक्रमणका कारण जहाजीको बिचल्ली
डेढ महिनाअघि युक्रेनमाथि रुसले आक्रमण थालेयता करिब एक हजार जहाजी बिचल्लीमा परेका छन् । युक्रेनी बन्दरगाह र समुद्रमा फसेका व्यापारिक जहाजहरूमा रहेका करिब एक हजार जहाजीहरूलाई मद्दत र सुरक्षा गर्न संयुक्त राष्ट्र संघका दुई एजेन्सीहरूले आह्वान गरेका छन् ।
फसेका मध्ये १०० भन्दा बढी व्यापारिक जहाजहरूले युक्रेनी बन्दरगाह छोड्न नसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का प्रमुखहरूले बताएका हुन् ।
उनीहरूले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र डाक्टर्स विदाउट बोडर्ससलाई जहाजहरूमा आपूर्तिका लागि मद्दत गर्न ‘तत्काल कदम चाल्न’ आग्रह गर्दै पत्र पठाएको समाचार संस्था एएफपीले जनाएको छ ।
रुसी आक्रमणका कारण युक्रेनी समुद्र तथा बन्दरगाहमा फसेका जहाजमा खानेकुरा, इन्धन, सफा पानी र अरु अत्यावश्यक वस्तुहरूको अभाव देखा पर्न थालेको जनाइएको छ ।
अमेरिकामा भएको गोलीकाण्डमा किशोरीको मृत्यु
अमेरिकाको न्यु योर्क शहरस्थित एक विद्यालयमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ । न्यु योर्क शहरको ब्रन्क्स जिल्लामा रहेको साउथ ब्रन्क्स विद्यालयमा बन्दुकधारीले जथाभावी गोली प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको जनाइएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् । सुरक्षा अधिकारीलाई उद्धृत गर्दै एबीसी ७ न्यु योर्कले जनाएअनुसार घटना स्थानीय समय अनुसार सबेरै दुई बज्नुभन्दा अघि भएको हो ।
प्रहरीले बन्दुकधारीको खोजी गरिरहेको बुझिएको छ । अमेरिकामा बारम्बार यस्ता गोलीकाण्डका घटना हुँदै आएका छन् ।
अमेरिकी संविधानको दोश्रो संशोधनमै बन्दुक राख्न र बोक्न पाउने अधिकार दिइएकाले बन्दुकले अमेरिकामा एक किसिमको संस्कृति पहिचान नै स्थापना गरेको बताइन्छ ।
यद्यपि आलोचकहरूले भने बन्दुक संस्कृतिका कारण गोलीकाण्डका घटनाहरू हुने भन्दै यस्तो व्यवस्था हटाउन माग गर्दै आएका छन् ।
प्रतिक्रिया