अडियो सुन्नुहोस्ः
सुदुरपश्चिममा जसपा गठबन्धनबाट बाहिरिएको घोषणा
सुदूरपश्चिममा जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको छ। धनगढीमा पत्रकार सम्मेलनमार्फत जसपाले गठबन्धन तोडेको घोषणा गरेको हो । केन्द्रमा गठबन्धन दलहरूबीच भएको सहमतिविपरीत नेपाली कांग्रेसलाई मात्रै सरकारमा सहभागी गराएर आफ्नो अपमान गरेको भन्दै जसपाले गठबन्धन तोडेको जनाएको छ । केन्द्रबाट पाँचदलीय गठबन्धन प्रदेश तथा स्थानीयस्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन आएको भएपनि जसपालाई आउट गर्दै अगाडि बढ्न खोजेको जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरीले आरोप लगाए । यस्तै सुदूरपश्चिममा गठबन्धन नहुने पनि उनले बताए ।
अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइएको ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न खोज्दा गभर्नरलाई हटाइएको आरोप लगाएका छन् । आज एमालेले काठमाडौँमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवकलाई सरकारले अस्वभाविक ढंगले हटाइएको आरोप लगाए । उनले गभर्नरमाथि छानबिन गर्नसमेत माओवादी केन्द्रको इसारामा समिति गठन गरिएको आरोप लगाए । त्यस्तै ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका घाइतेहरूलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाइ नारायण दाहाललाई राष्ट्रिय सभा सदस्य बनाएकोसमेत तर्क गरे ।
गभर्नर निलम्बन माओवादीको अर्को गम्भीर भुलः एमाले
त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाएर गम्भीर भुल गरेको आरोप लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाउन खोजेको प्रसङ्गलाई जोड्दै त्यसपछिको अहिले अर्को गम्भीर भुल भएको टिप्पणी गरे । फेसबुकमा लेख्दै महासचिव पोखरेलले देशको अर्थतन्त्र ओरालो लाग्नुको कारक प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मा भएको आरोपसमेत लगाए । एमालेका अर्का नेता गोकुल बाँस्कोटाले पनि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने ठाउँमा गभर्नर निलम्बन गर्नु माओवादीले गलत गरेको बताए ।
मुलुकको सुन्दर भविष्य निर्माण गर्ने नेकपा समाजवादी नेताहरूको प्रतिबद्धता
नेकपा एकीकृत समाजवादीका नेताहरूले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाएर सुन्दर भविष्य निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । आज पार्टीले भृकुटिमण्डपमा आयोजना गरेको आमसभामा उनीहरूले नयाँ शिराबाट कम्युनिस्ट आन्दोलनको सुरुवात गर्दै मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउने प्रतिवद्धता जनाएका हुन् । आमसभालाई सम्बोधन गर्दै समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मदन भण्डारीको नामको दुरुपयोग र जवजको मान्यतामाथि कुठाराघात भइरहको आरोप लगाए । उनले गफाडीहरूलाई गफ गर्न दिनुपर्ने र आफूहरू प्रष्ट बिचारका साथ जनतामाझ जाने धारणा राखे । त्यस्तै समाजवादीका नेता झलनाथ खनालले समाजवाद नै भविष्य रहेको भन्दै यसका लागि नयाँ यात्रा सुरु गरेको बताए ।
एमाले गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोलेका हौँः नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएका कारण नयाँ पार्टी खोल्नुपरेको बताएका छन् । आज काठमाडौंमा दोलखा–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमाले गलत व्यक्तिको कब्जामा गएको र बोल्न पनि नदिएका कारण नयाँ पार्टी खोल्नुपरेको भन्दै छोटो समयमा नै पार्टी बलियो भएको दावी समेत गरे । उनले एमालेमा विद्रोह गर्न नसकेका केही नेताको अवस्था बिजोग भएको टिप्पणी गरे ।
आगामी निर्वाचनमा कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्नुपर्छः डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै प्रतिष्पर्धा गर्नुपर्ने बताएका छन् । नेविसंघ ईलाम–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले कांग्रेसले देश र जनताका लागि गरेको योगदानको वास्तविक परीक्षण गर्न पनि कांग्रेस एक्लै प्रतिष्पर्धामा जानुपर्ने बताए । चुनावमा तालमेल भए माओवादी र एमालेबीच सहकार्य हुन सक्ने खतरा रहेको पार्टी सभापतिको चिन्ता रहेको स्वभाविक रहेको उनले बताए । त्यस्तै कोइरालाले मुलुकको निर्वाचन खर्च महङ्गो हुँदै गएको पनि बताएका छन् ।
चैते दशैँ पर्व मनाइयो
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैतेदशैँ पर्व आज नेपालीले शक्तिपीठसहित घर–घरमा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाएका छन् । चैतेदशैँका अवसरमा आज बिहानैदेखि राजधानीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको थियो । मन्दिरसम्म नजाने भक्तजनले भने घरघरमै देवीको आराधना गरी मीठामीठा परिकार बनाएर भोजन गरी परिवारका सदस्यबीच रमाइलो गरेर चैतेदशैँ पर्व मनाएका छन् । बडादशैँ जस्तै चैतेदशैँको पूजा उपासनाको मुख्य उद्देश्य पनि यो लोकमा सुख, शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण छिट्टै सुरु हुन्छ : दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण छिट्टै अघि बढाउने बताएका छन् । आज चितवनमा प्रज्ञा स्मृति प्रतिष्ठानले आयोजना गरेको भरतपुर साइक्लिङ म्याराथनको समापन गर्दै उनले क्रिकेट रंगशालाको बाँकी काम पूरा गर्ने सहमति भई प्रक्रिया अघि बढेको बताए । रंगशालाको निर्माणकार्य छिट्टै सुरु हुने पनि उनले बताए । युवा तथा खेलकूदमन्त्री महेश्वरराज गहतराजले नागरिकस्तरबाट निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी काम अगाडि बढाउन नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गर्ने जानकारी दिए ।
सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट सुरु
सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । आज काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्याइएको छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । तेस्रो अथवा अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पुर्याइन्छ ।मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ । शनिबारबाट सुरु भएको रथजात्रा ३ दिनमा सम्पन्न हुन्छ । तीनधारा पाठशालाबाट सुरु भएको रथजात्रा जनवहालमा पुगेर सम्पन्न हुन्छ ।
महिना दिन नपुग्दै साउदीबाट रित्तो हात फर्काइए चार कामदार
रोजगारीका सिलसिलामा साउदी अरब पुगेको महिना दिन नपुग्दै चार जना कामदार स्वदेश फर्काइएका छन् । ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठमाडौंबाट बेकरी हेल्परका रूपमा साउदी अरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राईसहित चार युवा महिना दिन नपुग्दै फर्काइएका हुन् । महिना दिन नपुग्दै घर फर्काइएकामा एक जना उदपयुरका, एक जना, सिन्धुली, एक जना धरान र एक जना पश्चिमका युवा छन् । पैसा कमाउने सपना बोकेर ऋण काढेर साउदीअरब पुगे लगत्तै रित्तो हात फर्कनु पर्दा युवा निराश बनेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ३९ पीसीआर परीक्षणका क्रममा १२ जना र १ हजार ६ सय १६ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो । आज ४४ संक्रमित संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ६ सय ३७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रवासमा कांग्रेसले बनायो ८४ सदस्यीय प्रचार उपसमिति
नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि प्रवासमा ८४ सदस्यीय प्रचार उपसमिति बनाएको छ । कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिको बैठकले प्रवासमा रहेका नेपालीमार्फत चुनाव प्रचार गर्न उपसमिति गठन गरेको बताएको छ । प्रवास उपसमितिको संयोजकमा नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) विष्ट चयन भएका छन् ।
पत्रकार पाण्डेलाई रिहा गर्न अधिकारवादीको माग
संयुक्त अरब इमिरेट्स (यूएई)मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घसस्थाले माग गरेका छन् । काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले आज विरोध प्रदर्शन गर्दै पत्रकार पाण्डेलाई तत्काल रिहा गर्न माग गरेका हुन् । युथ कंग्रेस नेपालले आयोजना गरेको प्रदर्शनमा नेपाल पत्रकार महासङ्घ, एम्नेस्टी इन्टरनेशन नेपाल, युनिमी नेपाललगायतले ऐक्यबद्धता जनाएका थिए । विरोधसभामा महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जालमा लेखेकै आधारमा पत्रकार पाण्डेलाई थुनिएको आरोप लगाए ।
रामनवमीका अवसरमा आइतबार सार्वजनिक बिदा
रामनवमीका अवसरमा सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी भोलि रामनवमीको अवसरमा आज नेपाल अधिराज्यभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइने जनाइएको छ ।
बर्दिबासमा रेल्वे स्टेसन बनाउन दिदैनौँ : स्थानीय
ब्रोडजेग रेल्वेको पूर्वधार निर्माण आयोजनाले बर्दिबासमा जगा अधिग्रहण गरेर रेल्वे स्टेसन बनाउने प्रक्रिया अगाडि बढाए पनि स्थानीयवासीले स्टेसन बनाउन नदिने चेतावनी दिएका छन् । स्थानीयवासीले हिँजो पत्रकार सम्मेलन आयोजाना गरी बर्दिबास जस्तो सानो ठाउँमा रेल्वे स्टेसन बनाउँदा थप भिडभाड र होहल्ला हुने भएकाले स्टेसन बनाउन नदिने घोषणा गरेका हुन् । बर्दिबास कै सेरोफेरोमा सरकारी जग्गा प्रसस्त हुँदाहुँदै बस्तीको बीचमा स्टेसन बनाउँदा धेरै ठूलो असर पर्ने स्थानीयको ठहर छ ।
बाघले बेपत्ता बनाएका पुरुषको शव फेला
चितवनमा बाघको आक्रमणबाट फेरी एक पुरुषको ज्यान गएको छ । आज विहान बाघले आक्रमण गरी लगेका ६५ वर्षीय रामप्रसाद धमलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आज बिहान पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका धमलाई बाघले आक्रमण गरी लगेको थियो । उनको शव जितपुरघाटमा भेटिएको हो ।
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्कनुभएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उहाँलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले बताए ।
प्रतिक्रिया