‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ टुँडिखेलमा सुरु « Khabarhub

‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ टुँडिखेलमा सुरु


२६ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’ शनिबारदेखि काठमाडौँमा सुरु भएको छ ।

टुँडिखेलमा सुरु भएको महोत्सव चैत ३० गतेसम्म चल्नेछ । खुला दोहोरीमध्ये ठूलो पुरस्कार राशीको प्रतियोगीतासहितको महोत्सवलाई डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजले आयोजना गरेको हो ।

शनिवार महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लोकगीतमा हाम्रो इतिहास, हाँसो, आँशु, पीडा, परिस्थिति कलात्मक तरिकाले प्रस्तुति हुने भएकाले लोकगीत जीवनको वास्तविक अभिव्यक्ति भएको बताए । ‘विभिन्न जातजाती, भूगोल, धर्म संस्कृतिमा गाइने लोकगीत संगीत देशको अमूल्य सम्पत्ति हो’ उपराष्ट्रपति पुनले भने ।

कुनैबेला गाउँका मेला–पात, वनजंगल, रोधी, विवाह लगायतमा गुञ्जने लोकदोहोरी आज सहर हुँदै अन्तराष्ट्रियकरण भइरहेको उनको बुझाइ थियो । ‘कुनैबेला समुदाय विशेषका मेला, पाखा, बनजंगल, रोधी, चौतारी, विवाहलगायत विभिन्न उत्सवहरुमा हाम्रो गौरवको रुपमा रहेको लोकदोहोरी गीत अन्तराष्ट्रियकरण भैरहेको छ’ उपराष्ट्रपति पुनले भने ।

विभिन्न जात–जातिहरूको संस्कृति झल्कने झाँकी प्रदर्शनीसहितको र्‍याली माइतिघरदेखि सुरु भई टुँडिखेलमा पुगेपछि महोत्सवको उद्घाटन गरिएको थियो । महोत्सवको पहिलो दिन विभिन्न लोकभाका एवं गीतहरू चर्चित गायक/गायिकाहरूले प्रस्तुत गरेका थिए ।

पूर्वेली गीतदेखि सुदूरपश्चिमको देउडा भाकासम्म एउटै मञ्चबाट गुञ्जिएको थियो ।

उपराष्ट्रपति पुनकै आग्रहमा बाग्लुङ, म्याग्दी जिल्लामा गाईने लोपोन्मुख यानीमाया भाकासँगै रोल्पा जिल्लातिर गाईने मौलिक लोकभाका ‘साइँला बरै’समेत टुँडिखेलमा प्रस्तुत गरियो । विरन्द्रकुमार झाले मैथिली गीत प्रस्तुत गरे भने कमलीकान्त भेटवालले पूर्वेली गीत प्रस्तुत गरे ।

त्यस्तै, मणिराम करिया मगरियाले थारु गीत प्रस्तुत गरे भने सरोज लामीछाने र रामकुमार नेपालीले काठे लोकभाका प्रस्तुत गरे । नन्दकृष्ण जोशी र पुष्पा बोहोराले देउडा भाका प्रस्तुत गरे भने टिका बमजनले तामाङ सेलो गीत गाए । महोत्सवको पहिलो दिन लोक गीतमार्फत योगदान पुर्‍याउने थुप्रै अग्रज कलाकारहरूलाई सम्मान समेत गरिएको थियो ।

अग्रज देउडा गायक नन्दकृष्ण जोशी, भोजपुरी गायक धु्रवसिंह ठकुरी, थारु गायक मणिराम करिया मगरिया, अग्रज गायिका तिर्थ कुमारी थापा, मैथली गायक विरेन्द्रकुमार झा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मरविरही गुरुङलाई सम्मान गरिएको थियो । स्वर्गीय बुद्धिकृष्ण लामिछाने, रत्न बानिया, जंगबहादुर गन्धर्व, भगवती दंगाललाई मरणोपरान्त सम्मान प्रदान गरियो ।

उद्घाटनसँगै शनिबारबाटै दोहोरी प्रतिस्पर्धा सुरु भएको छ । देशभरका विभिन्न जिल्लाबाट सहभागी ६७ समूहबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित पदक तथा अन्य पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, द्वितीय, तृतिय र सान्त्वना हुने समूहलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिनेछ । दोहोरी प्रतियोगीतामा ख्यातीप्राप्त गायक–गायिकाहरु निर्णायकका रुपमा रहेका छन् । पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरी थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल निर्णायकका रुपमा छन् ।

त्यस्तै, गायक–गायिकाहरु अमृत खाती, मिना मैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र राम कुमार नेपाली सम्मिलित निर्णायक मण्डल समेत रहेको छ । महोत्सवमा उत्कृष्ट गायक–गायिकालाई २५ हजार नगद पुरस्कार एवं २० हजार राशीको नव–प्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ । महोत्सवमा हरेक दिन विभिन्न विधाका चर्चित कलाकारहरूको समेत प्रस्तुति रहनेछ ।

समुद्घाटन समारोहमा डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजका संरक्षक गोविन्दराम दाहाल, दिनेश डिसी, मञ्जु पौडेललगायत सहभागी थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  १० : ५९ बजे

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

बनेपा– धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३