नेपालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्ले हाल नेपालकै चर्चित नाम हो । प्राय यो नाम नचिन्ने व्यक्ति कमै छन् नेपालमा । डा.काफ्ले २०११ सालमा रामेछापमा जन्मिएका हुन् । उनले कक्षा ४ सम्म सालु सेतीदेवी प्राथमिक विद्यालयमा पढे । उनी राम्रो स्कुलको खोजीमा रामेछापको सदरमुकाममा रहेको गौरीशंकर उच्च माविमा पढ्न गए । त्यहाँ उनले पाँच कक्षा अध्ययन नगरी ६ कक्षामा भर्ना भए । तर त्यहाँ पनि ७ कक्षा पास हुन नपाउँदै उनलाई परिवारले काठमाडौँमा पढ्न पठाए ।
७ कक्षाको परीक्षा नै नदिएका काफ्ले काठमाडौँको पद्मोदय माध्यमिक विद्यालयमा ८ कक्षामा भर्ना भए । कक्षा टप्दै १४ वर्षकै उमेरमा १० कक्षा पुगेका काफ्लेले एसएसलीमा उमेर कम हुँदा परीक्षा दिनै नपाउने हो कि भन्ने अवस्था सम्म आयो । त्यति बेला एसएलसी परीक्षामा सहभागी हुन १५ वर्ष पूरा भएको हुनुपर्ने नियम थियो ।
तर उनले नयाँ आइडिया लगाएर परीक्षा फर्ममा आफूलाई एक वर्ष जेठो बनाएर एसएलसी दिए । उनले २०२५ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरे । ‘स्कुल परिवर्तन गर्दै कक्षा टप्दै पढे, एसएलसी दिने समयमा उमेर नै पुगेन, सरकारले एसएलसी दिन तिम्रो उमेर पुग्दैन एक वर्ष उमेर बढाएर आऊ भन्नुभयो,’ डा.काफ्लेले भने, ‘मैँले पनि एक वर्ष उमेर आफैँले बढाएर फर्म भरेर एसएलसी दिएँ ।’
त्यसपछिको नयाँ यात्रा
एसएलसी पास भइसक्दा पनि उनले भविष्यमा के बन्ने ? उच्च शिक्षामा कुन विषय अध्ययन गर्ने, भनेर सोचेका थिएनन् । तर उनको परिवारको इच्छा डाक्टर बनाउने थियो । परिवारकै योजना अनुसार उनले डाक्टर बन्न २०२६ सालमा विज्ञान संकाय अन्तर्गत बायोलोजीमा आइएस् सी गरे ।
तर उनको आइएस्सीमा भने सोचे अनुसारको नतिजा आएन । उनी सेकेन्ड डिभिजनमा पास भए । आइएस् सी सकेपछि २०३९ सालमा उनले सरकारी छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि रुस जाने अवसर पाए । काफ्लेले रुसमा एक वर्ष भाषा सिकेर ६ वर्ष मेडिसिन विषय पढे । उनले ३ नेफ्रोलोजीमा मास्टर्स पनि सके । डा.काफ्लेले मिर्गौला रोगको विषयमा पनि अरूले भनेकै भरमा अध्ययन सुरु गरेका थिए ।
नेफ्रोलोजीमा मास्टर्स
त्यति बेला नेपालमा मिर्गौला रोग विशेषज्ञ चिकित्सक एक जना मात्रै थिए । उनलाई रुसमा अध्ययनरत आफूभन्दा सिनियरहरुले मिर्गौला रोगको विषयमा पढ्न सल्लाह दिए । अग्रज र साथीहरूकै सल्लाहमा मिर्गौला रोगको विषयमा मास्टर्स सकेर २०३८ सालमा नेपाल फर्किए ।
नेपाल फर्किएपछि उनले आफूले अध्ययन गरेको विषयमा काम गर्न भने पाएनन् । किनकि उनले पढेको विषयको रोगका बिरामीका लागि नेपालमा उपचार गराउन सुरुवात नै भएको थिएन । उनले केही वर्ष फिजिसियन र मेडिकल अफिसर भएरै काम गर्न बाध्य भए । ‘नेपालमा कामै नलाग्ने विषय किन पढेको ?’ २०३८ सालमा रुसबाट नेफ्रोलोजीमा मास्टर्स सकेर आएपछि डा. ऋषि कुमार काफ्लेलाई स्वास्थ्य सेवा विभागका कर्मचारीले यो प्रश्न गरे ।
‘सरकारी छात्रवृत्तिमा नेफ्रोलोजी पढेर स्वास्थ्य सेवा विभागमा जागिर दिनुस् भन्दा त्यहाँका महानिर्देशकले भन्नुभयो ‘यो के विषय पढेको यस्तो विषय पढेर तिमीलाई कहाँ जागिर दिने ? बेकारमा किन पढेको ? सोध्नु पर्दैन थियो ?’ अचम्म मान्दै उनले त्यति बेलाको अनुभव साट्दै डा. काफ्लेले भने, ‘केही समय अन्य अस्पतालहरूमा फिजिसियन र मेडिकल अफिसरको काम गरे । २०४३ सालपछि बल्ल सरकारले मिर्गौला रोगको उपचारका लागि मलाई खोज्यो ।’
२०४३ सालमा वीर अस्पतालमा आफ्नो अध्ययन अनुसार विशेषज्ञ सेवा दिन सुरु गरेका थिए १० वर्ष सरकारी अस्पतालमा काम गरेपछि उनले राष्ट्रिय मिर्गौला उपचार केन्द्र स्थापना गरी मिर्गौलाका बिरामीहरूलाई डायलासिस सेवा दिँदै आएका छन् ।
उनी अहिले मिर्गौला रोगका बिरामीको उपचारमा मात्रै होइन ‘मिर्गौला रोग लाग्नबाट बचौँ र बचाऔँ’ भन्दै ‘मिर्गौला बचाऔँ अभियान’ लिएर जनचेतनामूलक कार्यमा समेत लागेका छन् ।
फिल्म हेर्न छाडेर बिरामी बचाउन गएको त्यो क्षण
सरकारी सेवामा स्थायी भएपछि २०४१ सालदेखि ४३ सालसम्म पोखराको गण्डकी क्षेत्रीय अस्पतालमा काम गरेँ। पोखरामा काम गर्दा शनिबारको दिन पनि कहिलेकाहीँ अस्पताल जानुपर्थ्यो । त्यति बेला फिल्म हलमा फिल्म हेर्दाहेर्दै बिरामी जाँच्नु परेको डा.काफ्लेलाई अझै सम्झना छ ।
‘शनिबार परिवारसँग फिल्म हेर्न गएको थिए, एक जना बिरामीको उपचार गर्नुपर्यो भनेर फोन आयो फिल्म हेर्नै छाडेर बिरामी बचाउन गए,’ डा.काफ्लेले भने, ‘केही दिनपछि बिरामी ठिक भएर फर्किदा खुसी लाग्यो ।’
डायलासिस मेसिन आएको दिन
पोखरामा काम गर्दै गर्दा वीर अस्पतालमा मिर्गौला रोगका बिरामीका लागि सरकारले डायलासिस मेसिन उपलब्ध गराउने भयो । वीर अस्पतालमा दुई वटा मेसिनबाट मिर्गौलाका बिरामीको नेपालमै निशुल्क डायलासिस सेवा सुरु भयो । सो क्रममा डा.काफ्ले लगायतका चिकित्सकले स्वर सम्राट नारायण गोपालदेखि नायक शिव श्रेष्ठका पिताकोसमेत डायलासिस गराए ।
त्यति बेला बिरामीलाई डायलासिस सेवा दिने मेसिन अहिलेको जस्तो राम्रो थिएन । डा काफ्लेका अनुसार डायलासिस गर्दा बिरामीहरू स्वर रोकिन खोजेजस्तो भएर चिच्याउँथे । स्वर सम्राट नारायण गोपाल पनि मिर्गौलाका बिरामी थिए । उनी वीर अस्पतालमा डायलासिस गर्न समय–समयमा जान्थे । स्वर सम्राट नारायण गोपाललाई डा.काफ्ले, डा सुधा खकुलेर लगायतले डायलासिस गराउँथे ।
डायलासिस गराउँदै गर्दा नारायण गोपालले देखाएको संगितप्रतिको प्रेम पनि डा.काफ्लेको दिमागमा अझै ताजा छ । यस्तै नायक शिव श्रेष्ठका बाबुको डायलासिस गराउँदा दुई सय आफन्त अस्पताल परिसरमा जम्मा भएको डा.काफ्लेले कहिल्यै भुल्न सक्दैनन् ।
अस्पतालमै थुनिँदाको त्यो दिन
नेपालमा राजतन्त्र थियो । चिकित्सकहरूलाई सरकारी अस्पतालमा काम गर्न त्यति सहज थिएन । २०४६ सालमा पछिको राजनीतिक आन्दोलनका कारण सरकारले कर्फ्यु लागिरहन्थ्यो । त्यति बेला काम गर्दागर्दै कर्फ्यु लाग्दा अस्पतालमै थुनिएको डा.काफ्ले सम्झन्छन् ।
‘२०४६,४७ सालको आन्दोलनपछि हामी काम गर्दागर्दै कर्फ्यु लाग्थ्यो,हामी अस्पतालमै थुनिन्थ्यौँ,’ डा.काफ्लेले भने, ‘अन्य व्यक्तिहरू कर्फ्यु खुलेपछि घर जान्थे, हाम्रो फेरि अस्पतालमै ड्युटी गर्ने समय हुन्थ्यो । कति पटक त एम्बुलेन्समै घर गइन्थ्यो ।’ सोही आन्दोलनपछि नेपालको चिकित्सा क्षेत्रमा पनि सुधार भएको डा.काफ्ले बताउँछन् ।
२०४६,४७ सालको आन्दोलन अघि एउटा रोगका विशेषज्ञ चिकित्सकले मुटु, मिर्गौला, नर्मल बिरामी सबै हेर्नुपर्ने बाध्यता थियो,’ डा.काफ्लेले भने, ‘त्यो आन्दोलनमा चिकित्सकहरू पनि होमिए, त्यसपछि नेपालको चिकित्सा क्षेत्रमा पनि सुधार आयो ।
विशेषज्ञ चिकित्सकले आफ्नो विशेषज्ञता अनुसार कै काम गर्न पाउन थाले । नेपालमा विशेषज्ञ सेवा नै छैन भन्थे तर प्रजातन्त्र स्थापना भएपछि स्वास्थ्य क्षेत्रमा पनि सुधार आयो र विशेषज्ञ सेवा विस्तार भयो ।’
सरकारी जागिर छाडेर मिर्गौला उपचार केन्द्र
करिब १० वर्ष सरकारी सेवामा रहेका काफ्लेले २०५३ सालमा सरकारी अस्पतालको जागिर छाडे । वीर अस्पतालमा डायलासिस सेवा पाउने भएपनि डायलासिस सेवाका लागि चाहिने औषधिदेखि पानीसम्म बिरामी आफैले किन्नुपर्ने बाध्यता थियो ।
बिरामीको त्यो बाध्यता देखेर डा.काफ्ले चिन्तित हुन्थे । उनले सबै सेवा अस्पतालभित्रै हुने गरी डायलासिस सेवा सुरु गर्ने उद्देश्यले २०५३ सालमा आफैले राष्ट्रिय मिर्गौला उपचार केन्द्र स्थापना गरी सेवा दिन सुरु गरे ।
‘अस्पतालमा निःशुल्क सेवा भएपनि डायलासिस गराउने बिरामीले आफैले डायलासिस गर्ने सामाग्री किन्नुपर्थ्यो, उनीहरूलाई निक्कै गाह्रो हुन्थ्यो, सरकारी अस्पतालमा औषधि उपचारका सामाग्री किन्ने व्यवस्था थिएन,’ डा.काफ्लेले भने, ‘ बिरामीले भोग्नुपरेको त्यो दुःख देखेर हामीले निजी क्षेत्रमा डायलासिस सेवा दिने भनेर हेल्थ केयर फाउन्डेसन नेपाल नामक गैरसरकारी संस्था स्थापना गरी सेवा दिन सुरु गर्यौं ।’
डा.काफ्लेको टिमले सोही संस्थामार्फत राष्ट्रिय मिर्गौला उपचार केन्द्र सञ्चालन गर्ने निर्णय गरे तर न उनीहरूसँग पैसा थियो न डायलासिस मेसिन ।
२०४५ सालमा जन्मिएकी छोरी मालश्री भने बाबुजस्तै डाक्टर बन्न चाहन्थिन् । तर मालश्रीको एमबीबीएस अध्ययन पूरा नहुँदै १० वर्ष अघि निधन भयो । र्याफ्टिङमा जाँदा उनको ज्यान गयो ।
डायलासिस मेसिनका लागि डा.काफ्लेको टिमले जर्मनका वियाटे फोक्ट नामक एक व्यक्तिले केन्द्रलाई पुरानो डायलासिस मेसिन दिन तयार भए । त्यसपछि उनीहरूले आफ्नै केन्द्रमा डायलासिसका बिरामीलाई सबै उपचार सामाग्रीसहित ३५ सयमा डायलासिस सेवा दिन सुरु गरे । हाल राष्ट्रिय मिर्गौला उपचार केन्द्रले ८५ वटा डायलासिस मेसिनबाट हजारौँ बिरामीको डायलासिस सेवा दिँदै आएको छ ।
छोराले डाक्टर बन्न चाहेन, छोरी बाँचिनन्
२०४० सालमा विवाह गरेका डा.काफ्लेको एक छोरा र एक छोरी थिए । २०४१ मा जन्मिएका जेठो छोरा बाबुको व्यस्तता देखेर डाक्टर बन्न चाहेनन् । उनले इन्जिनियरिङ पढे । र हाल अमेरिकामा छन् । २०४५ सालमा जन्मिएकी छोरी मालश्री भने बाबुजस्तै डाक्टर बन्न चाहन्थिन् । तर मालश्रीको एमबीबीएस अध्ययन पूरा नहुँदै निधन भयो ।
‘छोरीले नेपालगञ्ज मेडिकल कलेजमा पढ्दै थिइन्, एमबीबीएस पहिलो वर्षमा पढ्दै गर्दा कर्णालीमा र्याफ्टिङ गर्न गइछिन् त्यति बेला र्याफ्टिङ बोट पल्टिएर वर्षअघि निधन भयो,’ डा. काफ्लेले मलिन हुँदै भने, ‘स्विमिङ पनि राम्रासँग आउँथ्यो । खै के भयो, लेखेको कुरा नटर्ने रैछ, भावुक हुँदै उनले भने ।
जनचेतनामा लाग्न पाउँदा धेरै खुसी लाग्छ
लामो समयदेखि मिर्गौला रोगको क्षेत्रमा कार्य गर्दै आएका डा.काफ्ले मिर्गौला रोगकै विषयमा जनचेतनामूलक कार्यमा लाग्ने योजनामा छन् । मिर्गौला रोग लागेपछि उपचार भन्दा मिर्गौला रोग लाग्नै नदिन जनचेतना दिनु अहिलेको आवश्यकता भएको डा.काफ्ले बताउँछन् ।
‘मेहनतले मान्छेलाई सफल व्यक्ति बनाउँछ, हामीले कर्म गर्दै जानुपर्छ,’ डा.काफ्लेले भने, ‘मिर्गौला रोगी बढ्दै गएका छन् त्यसैले मिर्गौला बचाउने अभियानमा लाग्दै छु । सबैले यसमा साथ दिन आवश्यक छ ।’
प्रतिक्रिया