इजरायलविरुद्ध युद्ध लडिरहेको ‘पीआईजे’को नालीबेली | Khabarhub Khabarhub

इजरायलविरुद्ध युद्ध लडिरहेको ‘पीआईजे’को नालीबेली

इस्लामिक अतिवादी संगठनमा इरान, सिरिया र लेबनानको गाजा कनेक्सन



काठमाडौँ :  इजरायली सुरक्षा फौज (आईडीएफ)ले गत शुक्रबारयता प्यालेस्टाइनको गाजा क्षेत्रमा जारी राखेको आक्रमण बन्द गरेको छ । इजिप्टको मध्यस्थतामा इजरायली र प्यालेस्टाइनी पक्षबीच युद्धविराम गर्ने सहमति जुटेसँगै गाजामा हमला रोकिएको हो । आईडीएफले शुक्रबार गाजा पट्टीमा प्यालेस्टिानियन इस्लामिक जिहाद (पीआईजे) विरुद्ध अपरेशन ‘ब्रेकिङ डन’ नामक सैन्य कारवाही शुरु गरेको थियो ।

गाजा क्षेत्रमा आईडीएफ र हमास, पीआईजेजस्ता लडाकु समूहबीच नियमितजसो हिंसात्मक घटनाहरु हुँदै आएका छन् । गत वर्ष पनि इजरायली र प्यालेस्टाइनी पक्षबीच ११ दिन सम्म हिंसा भड्किएको थियो ।

पछिल्लो इजरायली कारवाहीमा पीआईजेका दुई शीर्ष कमाण्डरसहित ५१ जनाको मृत्यु भएको छ । दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाई हमलामा परी आफ्ना वरिष्ठ कमाण्डर खालिद मन्सुरको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक जिहादले आइतबार पुष्टि गरेको थियो ।

त्यसअघि शुक्रबार आईडीएफ ले उत्तरी गाजामा इस्लामिक जिहादका अर्का वरिष्ठ कमाण्डर तैसिर जबारी हवाई हमलामा मारिएको पुष्टि गरेको थियो । सन् २०१९ मा यस समूहका शीर्ष नेता बहा अबु अल अता मारिएपछि जबारीले उनको स्थानमा समूहको सैन्य परिषद्को सदस्यता प्राप्त गरेका थिए ।

सन् २०२१ मा इजरायलसँग भएको युद्धमा जबारीले पीआईजेका लडाकुहरुको नेतृत्व गरेका थिए । त्यसबेला उनले इजरायली सेनाविरुद्ध ट्याङ्कभेदी क्षेप्यास्त्र आक्रमण गर्ने तयारी गरिरहेको इजरायलले दाबी गरेको थियो ।

प्यालेस्टाइनी राज्यले पूर्वमा वेस्ट ब्याङ्क र पश्चिममा गाजा क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । वेस्ट ब्याङ्कमा महमुद अब्बासको नेतृत्वमा प्यालेस्टाइनी सरकार रहेपनि वेस्ट ब्याङ्कसँग सीमा नजोडिएको गाजा क्षेत्रमा भने इस्लामिक लडाकु समूह हमासको शासन रहेको छ ।

सन् २००७ मा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्यालेस्टाइनी राज्यबाट गाजा क्षेत्रमा हमासले शासन आफ्नो हातमा लिएको थियो । हमासले विपन्न गाजा क्षेत्रको राज्य सञ्चालनको जिम्मेवारी लिएको छ ।

यसकारण हमासको आक्रमणको स्तर सीमितमात्रै रहेको तर, पीआईजेसँग यस्तो कुनै दायित्व नरहेकाले पीआईजे र पीआईजेको सशस्त्र गुट अल कुद्स ब्रिगेड हमासभन्दा आक्रामक, उग्र र कठोर मानिन्छ ।

सन् २००७ मा गाजामा सत्ता हत्याएयता हमास समूहले प्रायः पीआईजेको सहयोगमा इजरायलविरुद्ध चारवटा युद्ध लडिसकेको छ । यद्यपि यस्ता युद्धहरु छोटो समयका लागि मात्रै हुँदै आएका छन् ।

हमासले इजरायलसँगको युद्धविराम पालना गरेपनि पीआईजेले हमासको शक्तिलाई कमजोर देखाउन हमासलाई थाहै नदिई इजरायली भूमितर्फ रकेट आक्रमण गर्ने गरेको बताइन्छ ।

यद्यपि यस समूहले इजरायली भूमितर्फ रकेट आक्रमणको जिम्मेवारी कबोल गर्दैन । इजरायलले भने गाजा क्षेत्रबाट प्रहार हुने रकेट आक्रमणका लागि गाजा क्षेत्रमा शासन चलाइरहेको हमासलाई नै जिम्मेवार ठह¥याउने गरेको छ । यहीकारण हमास र पीआईजेबीचको सम्बन्ध अत्यन्त जटिल, संवेदनशील रहेको विश्लेषण गरिन्छ ।

पीआईजे र पीआईजेको सशस्त्र गुट अल कुद्स ब्रिगेड समूहले नियमितजसो इजरायली भूमितर्फ रकेट दाग्ने गरेका छन् । पीआईजेको क्षमता हमासभन्दा कम सबल रहेको र पीआईजेका लडाकुहरुको संख्या पनि हमासको भन्दा निकै कम रहेको बताइन्छ ।

तर, इजरायलको क्षेत्रीय प्रतिद्वन्द्वी इरानसँग पीआईजेको प्रत्यक्ष सम्बन्ध रहेको बताइन्छ । इरानले यो समूहलाई आर्थिक एवम् सैनिक सहयोग गर्दै आएको छ । इरानले यस समूहका लडाकुहरुलाई तालिम, आर्थिक सहयोग एवम् हतियार निर्माणको प्रशिक्षण दिने गरेको छ । यद्यपि यो समूहले गाजा क्षेत्रमा नै हतियारहरुको निर्माण गर्दै आएको बताइन्छ ।

पछिल्ला केही वर्षयता पीआईजे र यस समूहको सशस्त्र शाखा अल कुद्स ब्रिगेडले इजरायली भूमिमा रकेट आक्रमणलाई तीव्रता दिइरहेको छ । पछिल्ला केही वर्षमा यो समूहसँग हमासकै हाराहारीमा हतियारको सञ्चिती रहेको अनुमान गरिन्छ । यो समूहसँग गाजाबाट इजरायलको महत्वपूर्ण सहर एवम् आर्थिक राजधानी तेल अभिभसम्म मार हान्न सक्ने रकेट क्षमता रहेको छ ।

सन् १९८१ मा इजरायलको विनाश र प्यालेस्टाइनी भूमिमा इस्लामिक राज्यको स्थापनाको उद्देश्यले पीआईजेको स्थापना भएको हो । यो समूहलाई इजरायलसहित अमेरिकी विदेश मन्त्रालय, युरोपेली युनियन र अरु मुलुकका सरकारहरुले आतंककारी समूहको सूचीमा राखेका छन् ।

गाजाबाट सक्रिय रहेपनि यो समूहको नेतृत्व इरानको साझेदार सिरियाको राजधानी दमास्कस र लेबनानको राजधानी बेरुतमा समेत सक्रिय रहेको र इरानसँग निकट सम्बन्ध रहेको बताइन्छ । शुक्रबार इजरायलले सैन्य कारवाही थाल्ने बेला समेत यस समूहका शीर्ष नेता जियाद अल नकालाहले इरानको राजधानी तेहरानमा वरिष्ठ इरानी अधिकारीसँग भेटवार्ता गरेका थिए ।

(स्रोत : एपी)

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ४९ बजे

प्रदीप नेपालको इच्छाअनुसार श्रद्धाञ्जली कार्यक्रम राखिएन, कुनै दलको झन्डा ओढाइएन

काठमाडौं– लामो समय पार्किन्सनका कारण थला परेका वामपन्थी नेता एवम्

बाढीमा फसेकी एक वृद्धाको सकुशल उद्धार

सिरहा– यहाँको मिर्चैया नगरपालिका–५ स्थित बतहा खोलामा आएको बाढीमा फसेकी

उपराष्ट्रपति यादवसँग इजरायलका राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी

तिलोत्तमा ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा

 काठमाडौं– मानवसेवा आश्रमको सहकार्यमा तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा

‘गभर्नर नियुक्ति ओलीका कारण अल्झिएको होइन, कांग्रेसलाई दिने सहमति भइसकेको छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका