सुदूरपश्चिममा गौरा पर्वको चहलपहल सुरु | Khabarhub Khabarhub

सुदूरपश्चिममा गौरा पर्वको चहलपहल सुरु


२४ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल सुरु भएको छ । दसैँभन्दा पनि बढी महत्त्व दिइने यो पर्व विशेष गरेर सुदूरपश्चिम पहाडी समुदायले  मनाउने गर्दछन् ।

गौरा एकादशीपछि यहाँ गौराको चहलपहल सुरु भएको दोगडाकेदार गाउँपालिका–३ की फुनडी विष्टले बताए। हरेक वर्षको साउन शुक्ल एकादशीलाई गौरा एकादशी पर्वको रूपमा मनाउने गरिएको छ ।

एकादशीको दिन गौराको उपासना गर्ने महिला व्रत बस्ने गर्दछन् । उनले भने,“गौरा पर्व उपासना गर्ने व्रतालु महिलाले गौरा एकादशीको व्रत बस्नुपर्ने र साँझको समयमा पूजाआजा गर्ने चलन रहिआएको छ ।” गौरामा दुबधागो धारण गर्ने व्रतालु महिलाले एकादशीदेखि नै गौरा पर्व सुरुआत भएको मान्ने गरेका छन् । हरेक वर्ष भाद्र शुक्ल अथवा कृष्णपक्षको पञ्चमी तिथिबाट गौरा पर्व सुरु हुन्छ । त्योभन्दा अगाडि साउन शुक्ल एकादशीमालाई गौरा एकादशीको रूपमा लिएर  व्रत बस्ने चलन रहिआएको हो । भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रहिआएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए।

यो वर्ष भाद्र शुक्ल पक्षमा गौरा परेको छ । पहिलो पटक गौरा पर्वको व्रत बस्ने महिलाले उजेली गौरामा व्रत बस्न उपयुक्त हुने बताइन्छ । बैतडीसहित सुदूरपश्चिमका सबै जिल्लामा गौरा पर्व मनाउने चलन रहिआएको छ । तराईका जिल्लामा पनि पहाडी समुदायले गौरा पर्व मनाउने गरेका छन् । यसका साथै छिमेकी देश भारतको उत्तराखण्डको कुमाउ प्रदेशमा पनि यो पर्व धूमधामका साथ मनाउने गरिन्छ ।

गौराको चहलपहल सुरु भएसँगै रोजगारीका लागि देशबाहिर रहेको स्थानीय बासिन्दा घर फर्किने क्रम सुरु भएको छ । बजारमा पनि नयाँ लुगा किन्नेको भीड बढ्न थालेको छ । घर बाहिर भएका पनि घर फर्किन थालेका र गौराको समयमा नयाँ लुगा लगाउने चलन रहेकाले बजारमा पनि चहलपहल बढेको दोगडाकेदारका गणेश विष्टले बताए। गौरामा शिव पार्वतीको पूजाआजा गरिनाका साथै स्थानीय ठाउँमा रहेका देवीदेवताका मन्दिरमा पनि जात्रा लैजाने चलन छ । पौराणिककालमा भगवान् शिव (महेश्वर) प्राप्तिका लागि गौरा गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी मनोकामना पूरा भएको विश्वास गरिन्छ ।त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको हो । गौरा पर्व भाद्र शुक्लको पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ ।

गौरा पर्वको पहिलो दिन महिलाले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँच थरिका गेडागुडी भिजाउने गर्छन् । यहाँका महिलाले गहुँ केराउ गहत मास र गुरुस मिसाएर तामाका भाँडामा भिजाउँछन् । यी पाँच अन्नलाई बिरुडा भनिन्छ । दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुहूर्तमा सामूहिक रूपमा बिरुडा धोइन्छ। सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठ–मन्दिरमा डालोमा स्थापना गरिन्छ ।

गौरा भित्र्याएर पूजा अर्चना गरी महिलाले दुबधागो चढाउने गर्छन् । दुर्गाष्टमी अर्थात अठ्यावाली यो पर्वको मुख्य दिन हो । गौरा अष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा खलो (गौरा मनाउने स्थल)मा फाग गाएर पूजाआजा गर्छन् । साँझपख अभिषेक गरी  दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने र  सोही दिन व्रतालुले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने गर्छन् । महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि,  सन्तान वृद्धि र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने गर्दछन् । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौरा घरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःखसुख बाँड्नाका साथै माया प्रेम दर्साउने गरिन्छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरा पर्वले मानिसमा धार्मिक, आस्था र आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।सुदूर पश्चिमेलीहरुले दसैँ भन्दा पनि बढी महत्त्वका साथ यस पर्वलाई मनाउने भएकाले गौरामा एकै छिन भए पनि डेउडामा रमाउन परदेशिएका पनि घरपरिवार सम्झिएर फर्किने गर्छन् । गौरामा विवाहित चेली पनि माइत आउने चलन छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  २ : ५८ बजे

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा

प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन

भोजपुर– कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि