काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन आवश्यक रहेकामा जोड दिएका छन्। उनले विधिको शासन र संविधानको रक्षाका लागि गठबन्धन अघि बढेको बताएका हुन् । उनले भने, “कतिपयलाई रुचिकर नहुन सक्छ । पार्टी र लोकतन्त्रको हितका लागि गठबन्धन जरुरी छ ।”
बिपीको प्रजातान्त्रिक समाजवादको सान्दर्भिकता अझै बढेर गएको उनको भनाइ थियो । विश्वमा नेपाललाई चिन्दै गर्दा सगरमाथाको देश, गौतम बुद्ध जन्मिएको देश र बिपीको जन्मभूमि भनेर चिन्ने गरेको उनको भनाइ छ ।
कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले निर्वाचनमा गठबन्धनको उम्मेदवारले हार्नुपर्दा गठबन्धनले हार्ने भएकाले सोहीअनुरूप परिचालन हुन अनुरोध गरे ।
कार्यक्रममा अर्का कांग्रेस केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे र क्षेत्रीय सभापति राजु सिलवालले आउँदो निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी हुने गरी एकजुट बनाएर अघि बढाउनुपर्नेमा जोड दिए। सो अवसरमा जिल्लाका विभिन्न तह र तप्कामा रहेर पार्टीलाई योगदान पुर्याउने जीवित र मरणोपरान्त गरी एक सय ५० लाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया