५४ वर्षदेखि आरन चलाएरै गुजारा | Khabarhub Khabarhub

५४ वर्षदेखि आरन चलाएरै गुजारा


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा सानो झुपडी छ। झुपडीभित्र फलामका टुक्रा असरल्ल छरिएका छन्। कोइला पोल्न प्रयोग गरिने आरन र आरन नजिकै घन र हतौडा छन्। तिनै घन र हतौडासँग खेल्दै गरेका भेटिन्छन्, भीमदत्त –६ का ६६ वर्षीय विष्णु लुहार।

उनी आरनको काम गर्छन्। उनले दशकौँदेखि आरन चलाएरै जीविकोपार्जन गर्दै आएका छन्। उनी घरबाट बिहानै आरनमा आउँछन् र बेलुका राति मात्रै घर फर्कन्छन्। आरनमा उनलाई काम गर्न भ्याइनभ्याई छ। यही पेसाबाट उनले छोरा–बुहारी, नातिनातिनासहित १० जना परिवार पालेका छन्। ‘आरन चलाएर परिवार पालेको छुँ, छोराछोरी नातिनातिनालाई शिक्षादीक्षा दिन सकिएको छ’, उनी भन्छन्, ‘घरखर्च पनि राम्रै चलेको छ।’

उनले आरनमा काम गर्न थालेको ५४ वर्षभन्दा बढी भइसकेको छ। उनका बुबा पनि आरनकै काम गर्थे। सानै हुँदा बुबासँगै आरनमा खेल्दाखेल्दै काम सिकेका हुन् उनले। अहिले त्यही सीपको उपयोग गर्दै विष्णुले पनि आफ्नो परिवार सुखका साथ पालिरहेका छन्। विष्णुका बुबा विसं २०२४ मा दार्चुलाको बचालबाट तराई बसाइँ सरेका थिए। बचालमा आरन चलाउने उनीहरुले तराई (बनगाउँ) मा पनि त्यही काम थाले। बुबालाई आरनमा सघाउने उनले पहाडमै काम सिकिरहेका थिए। तराईमा बुबासँग काम गर्दा उनी झनै काममा निपुण भए।

सानै उमेरमा बुबालाई गुमाउँदा परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा आयो। त्यसका लागि उनले पनि आरनलाई नै निरन्तरता दिए। ‘अरू काम गर्नका लागि पढेको थिएन। कि त भारत नै जानु पर्थ्यो। तर म भारत गइनँ’, उनी सम्झन्छन्, ‘बुबाको कामलाई नै निरन्तरता दिए। काम गर्दै जाँदा कृषकहरुले पनि काम मन पराए।’ बुबासँग आरनमा लडिबडी खेल्दै सिकेको सीपले परिवारको घरखर्च जुटाउने स्रोत बन्यो। त्यसैले उहाँले जीविकोपार्जनका लागि अन्य विकल्प खोज्नु परेन।

उनीसँगैका साथीहरु कामका लागि अहिले पनि भारतमा छन्। उनी स्वदेशमा नै पौरख गरिरहेका छन्। उनी भन्छन्, ‘भारतमा गएर मैले पनि १३ दिन काम गरेँ। तर मलाई अर्काको मुलुकमा काम गर्न मन परेन, त्यसैले अहिले पनि आफ्नो सीपको उपयोग गरेर स्वदेशमै मेहनत गरिरहेको छुँ।’ फलाम पिटेर कमाएको पैसाले नातिनातिनाहरुलाई समेत बोर्डिङ स्कुलमा पढाउन सकेको उनी बताउँछन्। भोलिका दिनमा आफ्ना सन्ततिले पढेर डाक्टर र इन्जिनियर बनेको हेर्ने चाहना छ, विष्णुको।

आरनबाट हुने कमाईबाट उनी सन्तुष्ट छन्। ‘कहिले दिनमा एक-दुई हजार। कहिले पाँच-छ सय कमाई हुन्छ। कृषकहरुले कामप्रति खुसी भएर पैसा दिएर जान्छन्’, उनी बताउँछन्। उनले छोराहरुलाई पनि रोजगारीमा लगाएका छन्। एक छोराका लागि अटो किनिदिएको र अर्का छोरा खेतीपातीको काममा रहेको उनले जनाए। विष्णुले कृषक वर्गलाई चाहिने कुटो, कोदालो, हँसिया, बञ्चरोलगायत हातहतियार बनाउने गर्छन्।

आरनमा कामका लागि महेन्द्रनगर आसपासका क्षेत्रका साथै भारतको बनबासा, टनकपुर, नानकमाताबाट मानिसहरु आउने गरेको उनी सुनाउँछन्। ‘टाढाटाढाबाट विश्वास गरेर मेरामा काम लिएर आउनुहुन्छ’, उनी भन्छन्, ‘आउने ग्राहकलाई खुसी बनाएका कारण ज्यालाभन्दा बढी पैसा दिएर जानुहुन्छ।’ काममा मेहनत गरेका कारण सबैलाई सन्तुष्ट बनाउन सकेको उनको दाबी छ। जनशक्ति नहुँदा एक्लैले चाहे जति काम गर्न नसकेको उनको भनाइ छ। ‘धेरै काम आइरहेको छ। तर एक्लै हुँदा सबैको काम भ्याउन गाह्रो हुन्छ,’ उनी भन्छन्, ‘जनशक्ति नहुँदा आफूसँग भएको सीप देखाउन सकिएको छैन।’

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १२ : १२ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी