देश/प्रदेश

वर्षाका कारण उम्मेदवारी दर्ता प्रभावित

By खबरहब

October 09, 2022

खजुरा- बिहानदेखि परेको अविरल वर्षाका कारण नेपालगन्ज आसपास क्षेत्र जलमग्न भएको छ ।

सहरका विभिन्न स्थान जलमग्न भएका कारण प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता कार्यक्रमसमेत प्रभावित भएको छ । वर्षाका कारण उम्मेदवारी दर्ताका लागि राजनीतिक दलका उम्मेदवार अलि ढिलो गरी मुख्य निर्वाचन कार्यालय पुगेका छन् ।

भारी वर्षाले नेपालगन्ज नगरका अधिकांश स्थान जलमग्न भएका छन् । नेपालगन्जको न्यूरोड, एमपी स्कुलरोड, फुल्टेक्रा, सेतु विक चोक, धम्बोझी बेलासपुर, कोरियनपुर, कारकादो, रानीतलाउलगायत स्थान तथा सडक जलमग्न भएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।

वर्षाले नरैनापुर, खजुरा, कोहलपुर, जानकी, बैजनाथ गाउँपालिकाका अधिकांश स्थान जलमग्न भएको प्रहरीले जनाएको छ । बाढी र डुबान सुरु भएपछि आसपास क्षेत्रका सर्वसाधारण त्रसित बनेका छन् ।