के काठमाडौँ महानगरले महिला मेयर पाउला ? | Khabarhub Khabarhub

के काठमाडौँ महानगरले महिला मेयर पाउला ?



सत्ताधारी गठबन्धनले राष्ट्रिय राजधानी काठमाडौँ महानगरपालिकाको प्रतिष्ठापूर्ण नगर प्रमुखको पदमा सिर्जना सिंहलाई आफ्नो प्रत्याशी बनाएको छ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापित विभिन्न किसिमका आरोपप्रत्यारोपमा अल्झिएका बेला सिर्जना सिंह बडो संयमित, सन्तुलित, मर्यादित एवं सभ्य तरिकाले राजधानी काठमाडौंका जनताको घरदैलोमा पुग्ने काम गरिरहेकी छिन्। सुरुमा उनको उम्मेदवारीलाई लिएर केही अनावश्यक टीका टिप्पणी गरिएको भए पनि गठबन्धनमा सहभागी राजनीतिक दलका नेता र कार्यकर्ता दत्तचित्त भएर परिश्रम गरिरहेका छन्। चुनावी विश्लेषक र सर्वेक्षणकर्ताले सिंहको सफलताको सम्भावना देखिरहेका छन्। एउटी शिक्षित, सभ्य एवं संस्कारी बुहारी, गृहिणी, नेतृ र धर्मसंस्कृतिप्रति आस्थावान नगर प्रमुखलाई चुनावमा सफल बनाउनु राजधानीबासीको निम्ति पनि गर्वको विषय हुनेछ।

कतिपयले सिर्जना सिंहलाई गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमतीको रुपमा चर्चा गरेर उनको योग्यता, क्षमता, लोकतन्त्र प्रतिको अटुट निष्ठा तथा त्याग एवं सर्मपणको अनादर गरिरहेका छन्। अहिलेसम्म उनी पार्टी संगठन अथवा लाभको कुनै पदमा नपुग्नु अथवा धारण नगर्नु गणेशमान सिंहको परिवारसित आवद्ध भएकै कारणले हो, होइन भन्ने योग्यता र क्षमताको हिसाबले त दशकौं अघि उनी अवसरको ठाउँमा पुगी सक्नुपर्ने हो। गणेशमान सिंह तथा श्रीमती मंगलादेवी सिंहको परिवारको बुहारी बन्नु कुनै पनि महिलाको निम्ति सौभाग्यको विषय हुन सक्दछ। यस परिवारले देश र लोकतन्त्रको निम्ति धेरै थोक गुमाएको छ। दोहोरो मापदण्ड कहिल्यै अपनाएको छैन। पटक–पटक धोका खाएको छ तर बाचा गरेर कसैलाई धोका दिएको इतिहास छैन। जबकी नेपाली राजनीतिमा सत्तासम्म पुगेकामध्ये अधिकांशले उपवित्र, अपत्यारिलो एवं अवसरवादी गठबन्धन तथा निर्णय गरेका अनेकौं उदाहरण छन्।

जाबो एक साता लामो चुनावी प्रचार प्रसारका अवधिमा नै सिर्जना सिंहले आफ्नो योग्यता, क्षमता र दक्षताको परिचय दिइसकेकी छन्। काठमाडौंको जनता बडो सहजताका साथ र खुसीसाथ उनलाई समर्थन व्यक्त गरिरहेका छन्। सिर्जना सिंह २०३२ सालमा नै नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएकी थिइन। २०३६ सालमा नेपाली कांग्रेस प्रतिबन्धित हुँदा उनी गोरखा जिल्ला नेपाल महिला संघ बहुदल प्रचार–प्रसार समितिको संयोजक थिइन्। २०३६ सालदेखि ०३८ सालसम्म उनी नेविसङ्घको क्याम्पस इकाई सभापति पनि भएकी थिइन। त्यसपछि उनले शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनमा वर्तमान ऊर्जामन्त्री पम्फा भुसाललाई कोषाध्यक्षमा पराजित गरेकी थिइन्।

उनी २०३५ देखि २०३८ सालसम्म महाबौद्ध क्याम्पसको इकाई सभापति थिइन्। बीपी कोइरालाको स्वास्थ्य उपचारका लागि चन्दा संकलन अभियानमा ०३७ सालमा पक्राउ परेकी सिर्जना २०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचार प्रसारमा सक्रिय थिइन्।

शंकरदेव क्याम्पसका अध्ययनरत रहँदा उनको राजनीतिक सक्रियता प्रखर थियो। त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर सिर्जना, कांग्रेस नेता प्रकाशमान सिंहसँग विवाह भएपछि पदमा नरहे पनि सक्रियता भने कम थिएन।

२०५४ सालदेखि महिला संघ, काठमाडौँ जिल्ला समितिको सल्लाहकार भएकी उनी कांग्रेसको ११ औं महाधिवेशनमा प्रतिनिधि बनेकी थिइन। १२ औं र १३ औं महाधिवेशनमा प्रतिनिधि नभए पनि १४ औं महाधिवेशनमा प्रतिनिधिको रुपमा उनी निर्वाचित भएकी थिइन। केशव स्थापितले यसपालि लोकतान्त्रिक पृष्ठभूमिका सिर्जना सिंहसँग प्रतिस्पर्धा गर्नु सजिलो हुने छैन।

राजधानी काठमाडौँको धर्म संस्कृतिमाथि पटकपटक प्रहार भइरहेको अवस्थामा सिर्जना सिंहको उम्मेदवारी धर्म संस्कृतिको रक्षाका लागि पनि हो।

ओली सरकारमा ल्याइएको गुठी सम्बन्धी विधेयकले हिन्दु धर्म संस्कृति माथि ठूलो प्रहार गरेको थियो। भविष्यमा कुनै सरकारले हिन्दु, बौद्ध तथा नेवार सभ्यता एवं संस्कृतिमाथि प्रहार गर्न नसकोस् भने उद्देश्यले पनि सिर्जना सिंह काठमाडौंका सुयोग्य मेयर सावित हुनेछिन्

२०४२ सालमा प्रकाशमानसँग बिहे गरेपछि उनी राजनीतिबाट निष्क्रिय जस्तै हुन पुगिन्। यद्यपि २०५९ सालमा कांग्रेस विभाजन भएर बनेको शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा उनको सक्रियता देखिएको थियो। पति प्रकाशमान सिंह जेलमा भएका बेला कांग्रेस प्रजातान्त्रिकको ११ औं महाधिवेशनमा महाधिवेशनमा उनी प्रतिनिधि भएकी थिइन्। त्यसपछि भने काँग्रेस राजनीतिमा उनको सक्रियता थिएन। तर, कांग्रेसको १४ औं महाधिवेशनबाट उनी पुनः सक्रिय भूमिकामा देखिएकी छन्। १४ औं महाधिवेशनमा उनी काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि बनेकी छिन्।

काठमाडौँ महानगरपालिकाको नगर प्रमुखको पदमा एक त नेपाली कांग्रेस नै दाबी गर्ने र सो पद हासिल गर्ने अवसर पाउनु कम चुनौती थिएन। किनभने पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस मात्रै होइन, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीभित्र पनि यस पदका अनेकौं दाबेदार थिए। नेपाली कांग्रेसको कोटामा यो पद आउँदा पनि बाटो सरल थिएन। किनभने नेपाली कांग्रेस भित्र पनि यस पदका दाबेदारहरू निकै बढी संख्यामा थिए। तर, नेपाली कांग्रेसको जिल्ला कार्य समितिले सर्वसम्मतिले सिर्जना सिंहको नामको प्रस्ताव गर्नु ठुलो कुरा थियो। आफ्नो उम्मेदवारी सुनिश्चित भएपछि उनले व्यक्त गर्ने गरेका प्रत्येक शब्द संयमित र सन्तुलित हुने गर्दछ। सत्ताधारी दलका गठबन्धनका नेता र कार्यकर्ताको चाहना र भावनाको सम्मान गर्दै आफ्नै पार्टीको नेतासमेतको सहयोग समर्थन र सदभाव हासिल गर्ने कुनै पनि अवसर गुमाई रहेका छ्रनन्। आफ्ना प्रतिद्वन्द्वी र नेकपा एमालेका उम्मेदवार प्रति उनी अहिलेसम्म खासै आक्रामक देखिएका छैनन् बरु संयमित प्रतिक्रिया नै दिँदै आएका छन्।

सम्भवतःः उनको यसै व्यवहार र योग्यतालाई हेरेर भूतपूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईले पनि सिर्जना सिंहलाई नेपाली कांग्रेसको पनि कुशल व्यवस्थापक बन्न सक्ने भविष्यवाणी गर्दै आशीर्वाद दिएका थिए। सिर्जना सिंहले महानगरको लागि अघि सारेका आफ्नो सात बुँदे संकल्प “सात स” मा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा, दिगो पर्यावरण, सुरक्षित शहर, संस्कृति, सम्पदा र सभ्यता सबल र सम्मुनत पूर्वाधार तथा सबल युवा, स्वावलम्बी महिला र सिर्जनशील महानगरवासी रहेका छन्। काठमाडौँ महानगरपालिका देशको राष्ट्रिय राजधानी क्षेत्र हो। यसको विकास, व्यवस्थापन र सुन्दरताले विश्वमै नेपालको परिचय र पहिचान गराउनेछ। राजधानीका महानगरको प्रमुख जिम्मेवार, सहिष्णु र संवेदनशील हुनु आवश्यक छ। काठमाडौं महानगरपालिका आर्थिक रुपले पनि देशको सर्वाधिक सम्पन्न नगरपालिका हो। यसको क्षमताको सदुपयोग हुनुपर्दछ।

काठमाडौँ भनेको, संक्षिप्‍त भ्रमणमा नेपाल आउनेले हाम्रो देशको अनुहार हेर्ने ठाउँ पनि हो। हुन त काठमाडौँलाई नै नेपाल मान्ने मान्यता हाम्रो देशमा हालका यता वर्षसम्म पनि रही आएको हो। वास्तवमै देशको राजधानीले नै देशको परिचय र पहिचान पनि दिलाउने गर्दछ। काठमाडौँलाई विश्वकै सुन्दरतम, आकर्षक र पर्यटकीयस्थल बनाउन भिजन भएको नगर प्रमुख चाहिन्छ। सत्ताधारी गठबन्धनको साझा प्रत्याशी र नेपाली कांग्रेसका नेतृ सिर्जना सिंहले आफ्नो सात बुँदे संकल्प प्रस्तावलाई जुन अघि सार्नु भएको छ, त्यो यथार्थमा “गाग्रोमा सागर” नै हो। जसरी नेपालको संविधान २०७२ ले स्थानीय तहलाई दोश्रो सिंह दरबारको रुपमा परिभाषित गरेको छ, चित्रण गरेको छ, त्यसरी नै यसको औचित्यलाई सावित गर्न पनि सोही अनुसारको काम पनि हुनु आवश्यक छ। भिजन भएको नेताले नै देश, समाज तथा नगरलाई विकास, सफलता एवं समृद्धिको लक्ष्यसम्म पुर्याउन सक्दछ।

संकल्प पत्रमा प्रस्तुत गरिएका सात “स” मा उल्लेख गरिएका बुँदाहरूको कार्यान्वयन भएमा राजधानी काठमाडौँ अवश्य पनि विश्वकै चर्चित र सुन्दर सहर बन्न सक्नेछ। सिर्जना सिंहको उम्मेदवारीलाई राजधानीवासीले सकारात्मक तथा सुन्दर रुपमा लिएका हुन। के काठमाडौँ महानगरले आफ्नो नयाँ नगर प्रमुखको रुपमा सिर्जना सिंह जस्तो कुशल एवं योग्य महिलालाई पाउने छन त ? यसको जवाफ पाउन ढेड–दुई सत्ता पर्खनै पर्दछ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ३ : ५२ बजे

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका