अडियो सुन्नुहोस्ः
श्रीलंकामा राजनीतिक संकट बढ्दै, निवर्तमान प्रधानमन्त्री नौसेनाको शरणमा
प्रदर्शनकारीले सरकारी निवासमा आक्रमण गरेपछि श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्षे भागेर नैसेनाको शरणमा पुगेका छन् ।
राजपाक्षे र उनको परिवारका सदस्यहरु श्रीलंकाको उत्तरपूर्वी शहर ट्रिङ्कोमालीस्थित नौसेनाको आधारमा शरण लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबारमात्र उनले राजीनामा दिएका थिए ।
सरकार समर्थक प्रदर्शनकारीको समूहसँग झडप भएपछि आक्रोशित बनेका सरकार विरोधी प्रदर्शनकारीले रातभर हिंसात्मक प्रदर्शनलाई निरन्तरता दिएसँगै निवर्तमान प्रधानमन्त्री राजपाक्षे भागेर नौसेनाको आधारमा पुगेको भारतीय टेलिभिजन च्यानल एनडीटीभीले जनाएको छ ।
राजपाक्षे र उनका परिवारलाई हेलिकोप्टरमार्फत राजधानी कोलम्बोबाट २७० किलोमिटर टाढा रहेको नौसैनिक आधार पु¥याइएको हो ।
राजपाक्षे त्यहाँ रहेको थाहा पाएर आधार बाहिर पनि प्रदर्शनकारीले प्रदर्शन चर्काएको बताइएको छ । यसैबीच, श्रीलंकामा प्रदर्शनकारीले मुलुकको प्रमुख बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वारमा घेराउ गरेका छन् ।
विमानस्थलको श्रोतलाई उद्धृत गर्दै श्रीलंकाबाट प्रकाशित हुने अङ्ग्रेजी भाषाको अखबार डेली मिररको अनलाइन संस्करणले जनाएअनुसार कटुनायके खुला व्यापार क्षेत्रका स्थानीय युवाहरुले विमानस्थलको प्रवेशद्वार घेराउ गरेका हुन् ।
देशका सांसद्हरु भागेर विदेश नजाऊन् भन्नाका लागि मुख्य प्रवेशद्वार घेराउ गरिएको डेली मिररले जनाएको छ ।
प्रदर्शनकारीले मुख्य प्रवेशद्वारमा गाडीहरु रोकेर प्रवेश निषेध गरिएको जनाइएको छ ।
त्यसअघि सरकार विरोधी प्रदर्शनकारीको क्रुद्ध भीडले सत्तारूढ राजापाक्षे परिवार र केही सांसदहरूको घरमा आगो लगाइदिएका थिए ।
बीबीसीका अनुसार सरकार समर्थक प्रदर्शनकारीसँग झडप भएपछि सरकार विरोधी प्रदर्शनकारीले राजपाक्षे परिवार र केही सांसदहरूको स्वामित्वमा रहेको घरमा आगजनी गरेका हुन् ।
प्रदर्शनकारीले दक्षिणी श्रीलंकाको हम्बनटोटामा हाल संग्रहालय बनाइएको राजपाक्षे परिवारको पुर्ख्यौली घरमा आगो लगाइदिएको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा भाइरल भिडियोमा घर जलिरहेको देखिन्छ भने प्रदर्शनकारीहरू खुशियाली मनाइरहेको सुनिन्छ ।
मुलुकमा जारी चरम आर्थिक संकट र यसबाट सिर्जित अत्यावश्यक वस्तुको अभावको समाधान गर्न असफल भएपछि प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएपनि श्रीलंकामा हिंसा रोकिएको छैन । उनले राजीनामा दिने क्रममा उनी भित्रै रहेको बेला प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवासमा आक्रमणको प्रयास गरेका थिए ।
हिंसात्मक प्रदर्शनका कारण सोमबार यतिमात्र ७ जनाको मृत्यु भइसकेको छ भने अरु १९० जना घाइते भएको बीबीसीले जनाएको छ । त्यहाँ बुधबारसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।
प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजपाक्षेले पनि राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । त्यसअघि सोमबार सरकार समर्थक प्रदर्शनकारी र सरकार विरोधी प्रदर्शनकारीको समुहबीच शुरुमा प्रधानमन्त्रीको सरकारी निवास ‘टेम्पल ट्रिज’ र पछि सरकार विरोधी प्रदर्शनकारीले डेरा जमाएको गल्ले फेस ग्रिनमा झडप भएको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन दंगा नियन्त्रण प्रहरी परिचालन गरिएको थियो । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको बीबीसीले जनाएको छ ।
त्यसपछि क्रुद्ध बनेको सरकार विरोधी प्रदर्शनकारीको भीडले एकजना सांसद चढेको कारलाई घेराउ गरेपछि उनको शव फेला परेको थियो । दुई प्रदर्शनकारीलाई गोली हानी सत्तारूढ दलका सांसद अमराकीर्ति अथुकोराला घेराउबाट भाग्न सफल भएको र पछि उनले आत्महत्या गरेको जनाइएको छ ।
रात ढल्दै गएपनि हिंसा नरोकिएको र प्रदर्शनकारीले विभिन्न स्थानमा आगजनी र ढुंगा मुढा गरेका थिए ।
फिलिपिन्समा पूर्वराष्ट्रपतिका छोरा राष्ट्रपति र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपति निर्वाचित
फिलिपिन्समा पूर्व राष्ट्रपतिका छोरा राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।
कठोर शासकका रुपमा चिनिएका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरू उठाएका थिए । दुई प्रभावशाली राजनीतिक नेताहरुको तालमेलका कारण उनीहरुका दुबै उम्मेदवार अत्यधिक मतान्तरका साथ विजयी भएका छन् ।
राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत पाएको र त्यो सङ्ख्या आफ्नो प्रमुख प्रतिस्पर्धीको भन्दा दोब्बर भएको निर्वाचन आयोगले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धीको रुपमा उदारवादी पक्षधर एवं वर्तमान उपराष्ट्रपति लेनी रोब्रेडो चुनावी मैदानमा थिइन् । नवनिर्वाचित राष्ट्रपति मार्कोस जुनियरले एक करोड ६० लाखभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिसहित देशभरबाट झण्डै १८ हजार प्रतिनिधि चयनका लागि सोमबार देशभरी मतदान भएको थियो । त्यस अन्तर्गत राष्ट्रपति र उपराष्ट्रपति, १२ जना सिनेटर, ३०० भन्दा बढी संसद्का प्रतिनिधिहरू र १७ सय भन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरू रहेका छन् ।
मतदानका लागि देशभरी ३७ हजार २११ मतदान केन्द्रहरू तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।
नवनिर्वाचित राष्ट्रपति मार्कोसले गरिबी घटाउनेदेखि कमजोर लोकतन्त्रलाई बलियो बनाउने सम्मका प्रतिवद्धताहरू जनाइएका थिए । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, रोजगारी बढाउनेलगायतका विषय पनि प्रमुख एजेण्डा बनेका थिए ।
पूर्व सिनेटर समेत रहेका ६४ वर्षका मार्कोसले अब वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई विस्थापित गर्नेछन् । अहिलेका राष्ट्रपतिको ६ वर्षे कार्यकालमा देशमा धेरै हिंसात्मक घटनाहरू भएको आरोप लाग्ने गरेको छ ।
फिलिपिन्सको राष्ट्रपति बन्नका लागि अरु आठ जनाले पनि उम्मेदवारी दिएका थिए । निर्वाचनको सुरक्षाका लागि ४५ हजार सैनिक र ६० हजार प्रहरी परिचालन गरिएको थियो ।
प्रजातान्त्रिक गणतन्त्र कंगोमा विस्थापित शिविरमा हमला हुँदा १४ जनाको मृत्यु
प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भागमा विस्थापित शिविरलाई लक्षित गरी गराइएको आक्रमणमा १४ जनाको मृत्यु भएको छ ।
हिंसात्मक आक्रमणको पछिल्लो शृंखला अन्तर्गत पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोको इटुरी प्रान्तमा रहेको आन्तरिक द्वन्द्वका कारण विस्थापितहरू बसोबास गर्ने शिविरलाई लक्षित गरी हमला भएको हो ।
इटुरी प्रान्तको फटाकी सहरबाहिर रहेको शिविरमा सशस्त्र लडाकुले आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आक्रमणका बेला सो शिविरमा सयौँ विस्थापितको बसोबास रहेको जनाइएको छ ।
मारिनेमा बालबालिका समेत रहेको प्रजातान्त्रिक गणतन्त्र कंगो सेनाका प्रवक्ता जुलेस ङ्गोङ्गोलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । आक्रमणमा विद्रोही समूह ‘कोडेको’ को हात रहेको बताइएको छ ।
यस समुहले आइतबार स्थानीय खानीमा आक्रमण गर्दा ३५ जनाको मृत्यु भएको थियो ।
पुटिन अनुमान गर्न माहिर व्यक्तिः अमेरिकी राष्ट्रपति बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको युद्धबाट बाहिर निस्कने बाटो नभएको टिप्पणी गरेका छन् ।
वाशिंगटनमा एक राजनीतिक कोषमा बोल्दै बाइडेनले पुटिन धेरै अनुमान गर्ने व्यक्ति भएको र अझै पनि किभको अवस्थाको बारेमा के गर्ने भनेर पत्ता लगाउन प्रयास गरिरहेको बताए ।
७९ वर्षीय पुटिनले युक्रेनमा आक्रमण गरेर उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) र युरोपेली युनियन (इयू) लाई तोड्न सक्छ भन्ने विश्वास गरेर गल्ती गरेको बताए ।
युक्रेनलाई आफ्नो देश र लोकतन्त्रको रक्षा गर्न र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रुर युद्ध विरुद्धको लडाईर्मा समर्थन गर्ने उनले बताए ।
युक्रेनलाई थप ३३ अर्ब डलर सहयोगका लागि राष्ट्रपति बाइडेनले स्वीकृति जनाइसकेका छन् । यसैबीच, रुसी सेनाले पूर्वीयुक्रेनमा आफ्नो हमला जारी राखेको छ। २४ फेब्रुवरीमा हमला गरेको रुसले युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएको छ ।
रुसी हमलामा संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालय (ओएचसीएचआर) ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने अनुमान पनि एचसीएचआरले गरेको छ।
अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विस्फोटक हतियारहरूबाट मारिएका जनाइएको छ । रुसले युक्रेनमा आफ्नो हमलालाई युक्रेनलाई निशस्त्रीकरण गर्न र फाँसीवादीहरूबाट जोगाउनको लागि गरेको ‘विशेष कारबाही भनेको छ, जसलाई युक्रेन र पश्चिमाहरूले निराधार भनेका छन् ।
युद्ध अन्त्यका लागि दुबै पक्षबीच पटक पटक भएका वार्ता बिनानिस्कर्ष टुंगिएका छन् । युक्रेनले दुई देशका राष्ट्रपति तहमा वार्ता हुनुपर्ने बताउँदै आएको छ । रुसले वार्ता र आक्रमण सँगसँगै लैजाने रणनीति लिएको पाइन्छ ।
अमेरिकाले अफगानिस्तानको तालिवान सरकारलाई दबाब दिने
अमेरिकाले अफगानिस्तानको तालिबान सरकारलाई महिला र बालिकाहरूका अधिकारमा प्रतिबन्ध लगाउने हालैका केही निर्णयहरू उल्ट्याउन दबाब दिने भएको छ ।
कट्टरपन्थी समूहले आफ्ना कार्यहरू सच्याउने संकेत नदेखाए समूहका निणर्य उल्ट्याउन दबाब दिने अमेरिकाले संकेत गरेको हो। तर, उसले समूहमाथि कस्तो दबाब दिने भन्ने बारेमा केही सार्वजनिक गरेको छैन ।
‘हामीले यस विषयलाई तालिवानसँग प्रत्यक्ष रूपमा सम्बोधन गरेका छौं’, विदेश मन्त्रालयलका प्रवक्ता नेड प्राइसले भने। उनले सम्भावित कदमबारे विस्तृत विवरण दिएनन् ।
तालिबानले शनिबार महिलाहरूलाई सार्वजनिक रूपमा आफ्नो अनुहार छोप्न उर्दी जारी गरेको थियो। तालिबानको निर्देशनको सर्वत्र विरोध भएको छ ।
तालिबानले यसअघि सन् १९९६ देखि सन् २००१ मा शासन गर्दै महिलाहरुका अधिकांश अधिकार कटौती गरेको थियो। तालिबानले फेरि महिलाका एकपछि अर्का अधिकार कटौती गर्न सक्ने अफगानिस्तानमा त्रास बढेको छ ।
यसअघि समूहले छात्र र छात्रालाई सँगसँगै पढ्न रोक लगाएको छ। गत १५ अगस्टमा सत्तामा पुगेपछि तालिबान सरकारले आर्थिक संकट सामना गरेको छ । दातृ राष्ट्रहरुले अफगानिस्तानलाई दिँदै आएको सहयोग रोक्का गरेका छन् ।
उत्तरसँग वार्ताको ढोका खुलै रहेको नवनियुक्त दक्षिण कोरियाली राष्ट्रपतिको टिप्पणी
दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति युन सुक–येउलले सोमबार पत्रकारहरुसँग उत्तरसँग वार्ताको ढोका खुलै रहेको धारणा राखेका हुन् ।
सोमबार दक्षिण कोरियाको नेसनल एसेम्बलीमा भएको सपथ समारोह पछि त्यहाँ उपस्थित पत्रकारहरुसँग उनले आफूले उत्तर कोरियासँग वार्ताको ढोका सधैँ खुला राख्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘हामी सबै समस्याहरुको समाधान शान्तिपूर्ण रुपमा वार्ताबाट गर्न सकिन्छ भन्ने विश्वास गर्छौँ त्यसैले हामी सबैसँग वार्ताको ढोका खुला राख्दछौँ ।’
सोमबारबाट दक्षिण कोरियामा नयाँ राष्ट्रपतिको पाँच वर्षे कार्यकाल सुरु भएको छ ।
उनले आफ्नो कार्यकालमा उत्तर कोरियासँग वार्ता गर्ने र कोरियाली प्रायद्वीपको समस्या शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्ने पनि बताए ।
भारतमा तीन करोड भन्दा धेरै बालबालिकाले कोरोना विरुद्धको खोप पाए
भारतमा तीन करोडभन्दा बढी बालबालिकाले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् ।
खोप लगाएका तीन करोड बालबालिकाहरू १२ देखि १४ वर्षसम्मको उमेरको रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा १२ देखि १४ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन गत मार्च १६ देखि सुरु गरिएको हो ।
कोरोना भाइरस विरुद्धको खोप लगाउनु उपयुक्त हुने विज्ञ तथा सरोकारवालाहरूको सुझाव र निष्कर्षका आधारमा भारतमा सरकारले बालबालिकालाई पनि खोप लगाइदिने निर्णय गरेको थियो ।
खोप लगाएका बालबालिकालाई खोप लगाएर सुरक्षित भएको भन्दै संघीय स्वास्थ्य मन्त्री मनसुख मन्डावियाले बधाइ दिएका छन् ।
खोप लगाएका बालबालिका मध्ये एक करोड दुई लाख २७२ जनाले दोस्रो खोप पनि लगाएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी १५ देखि १८ वर्षसम्मका भने पाँच करोड ८७ लाख ७० हजार ४२८ ले कम्तीमा एउटा खोप लगाएका छन् । ती मध्ये चार करोड ३३ लाख आठ हजार ६५१ जनाले दोस्रो खोप लगाएका छन् ।
भारतमा अघिल्लो वर्षको जनवरी १६ देखि देशव्यापी रुपमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान सुरु गरिएको थियो ।
प्रतिक्रिया