ओझेलमा मुठाचौर « Khabarhub

 ओझेलमा मुठाचौर


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पहाडको टुप्पोमा छ मुठाचौर । यहाँभन्दा माथि कुनै बस्ती छैन ।  तमानखोला गाउँपालिका–२ मा पर्ने मुठाचौर बागलुङ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । भौगोलिक हिसाबले निकै विकटमा रहेको मुठाचौर पर्यटकीय हिसाबले भने निकै मनोरम छ । 

तमानखोलाको मत्वपूर्ण पर्यटकीयस्थल बराह ताल नजिकै रहेको मुठाचौरमा माटो, ढुङ्गा र काठले बनेका घर छन् । त्यस वरपर रहेको समथर भूभाग, मकै, आलु फल्ने बारीहरुले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ । अझ यहाँबाट देखिने दर्जनौँ हिमश्रृङ्खला र अनेकौँ दृश्यले यहाँको प्राकृतिक वातावरणलाई मनोरम बनाएको छ । यस ठाउँमा करिब एक सय घरपरिवार बसोबास गर्दै आइरहेका छन् । 

हरेक वर्ष स्थानीय उनीहरु पाँच महिना मुठाचौरमै बस्ने गर्छन् भने बाँकी समय कटेरी, भयरभबोङ्गा गाउँमा झर्ने गर्छन् । मुठाचौर माथिल्लो क्षेत्रमा पर्छ भने भयरबोङ्गा, कटेरी गाउँ केही तल पर्छ । यहाँका अधिकांश नागरिक पशुपालन र खेतिपातीमै व्यस्त छन् । यो ठाउँ प्राकृतिक रुपले सुन्दर भए पनि सडक, विद्युत्लगायत विकासका पूर्वाधारले जोडिन नसक्दा ओझेलमा परेको स्थानीय चूडामणि छन्त्यालले बताए ।

‘यहाँका स्थानीय बर्खाको समय मुठाचौर बस्छन्, हिउँद लाग्यो भने बेसी झर्छन्, हिउँदमा हिउँ पर्छ, जाडो हुन्छ, बर्खामा पशु पाल्न पर्‍यो, त्यसले गर्दा यहाँ आउँछन्, यहाँ घाँस राम्रो हुन्छ, चरन क्षेत्र पनि धेरै छ, यो ठाउँ निकै राम्रो छ, तर यहाँ अहिलेसम्म विकास आउन सकेको छैन’, छन्त्यालले भने, ‘मोटरबाटो र बिजुली आएको भए यो ठाउँ निकै चर्चित हुन्थ्यो, पर्यटकलाई भित्र्याउन सकिन्थ्यो, यहाँ अहिले पनि खानेपानी चरम अभाव छ, भूगोलले पनि ठगेको ठाउँ  पर्‍यो, अब विकास होला ।’

बर्खाको समयमा यहाँ बस्ने स्थानीय अँध्यारोमै बस्न बाध्य छन् । उनीहरुले भाँङ (सुकेको निगालो), दियालो र टुकी बालेर रात बिताउन बाध्य भएको छन्त्यालले बताउनुभयो । मुठाचौरभन्दा केही तल रहेको कटेरी गाउँसम्म भने मोटरबाटो, बिजुलीको पहुँच पुगेको उनको भनाइ छ । यहाँसम्म पुर्‍याउन भौगोलिकरूपले निकै कठिनाइ रहेको उनले बताए । तीनै तहका सरकारले चासो देखाए मुठाचौरले मुहार फेर्न धेरै समय नलाग्ने उनी बताउँछन्  ।

‘अहिले पनि यहाँ बस्ने नागरिक टुकी र दियालोको भरमा रात कटाउँछन्, कुवा, पोखरी र आकाशे पानीको भरमा छन्, सडक र विद्युत् पुग्न अब धेरै नलाग्ला, अहिले कटेरीसम्म पुगेको छ, स्थानीय, प्रदेश र केन्द्र सरकारले चासो देखाए यस ठाउँको विकास गर्न कुनै समस्या छैन, अलिकति भूगोलका कारण समस्या हो’, उनले भने, ‘यसलाई विकास गर्नसके यो ठाउँ पर्यटकीय गाउँ बन्न सक्छ ।’

छन्त्यालले मोटरबाटोले जोड्न सके यहाँ उत्पादन भएका आलु, सिमीले राम्रो बजार पाउने बताउँछन् । सडक नभएकाले उत्पादन भएका कृषिउपज आफैँ उपभोग गर्नुको विकल्प छैन । स्थानीय खिमा रसाइलीले आफूहरू वर्षौँदेखि अँध्यारोमा बस्न बाध्य रहेको बताए । उनले सडक, विद्युत् र खानेपानी नहुँदा उपभोग्य सामान घोडा खच्चडमा बोकेर उपभोग गर्दै आएको बताए । रसाइलीले सडक नहुँदा पालिकाको केन्द्र बोङ्गादोभानदेखि सामान बोकेर उपभोग गर्नुपरेको गुनासो गरे । बर्खाको समयमा मात्रै यहाँ बस्ने हुँदा धेरै समस्या भाेग्नुपरेको उनी बताउँछन् ।

‘यहाँ बस्ने भनेको बर्खामा मात्रै हो, बर्खामा सबै सामान बजारबाटै ल्याउनुपर्छ, हिलोले गर्दा घोडा खच्चड पनि हिँड्न सक्दैनन्, त्यसले गर्दा मान्छेलेनै नुन, तेल र चामल बोकेर ल्याउनु पर्छ’, रसाइलीले भने, ‘खानेपानीको समस्या पनि निकै छ, आकाशको, पोखरीको पानी खानु पर्छ, मोटरबाटो आए त निकै सजिलो हुन्थ्यो हो, गाडीले सामान ल्याउँथ्यो होला, यहाँ फलेका आलु, सिमी पनि बजार झार्न सजिलो हुन्थ्यो होला, बिजुली बत्ति कहिले आउला यो ठाउँमा ?’

स्थानीय असारदेखिनै मुठाचौर जान सुरु गर्छन् भने असोज कात्तिक लाग्नासाथ गाउँ झर्ने गर्दछन् । 

मुठाचौरमा बस्ने समयमा उनीहरु पशुचौपाया पाल्ने, आलु, सिमी तथा लेकाली खाद्यबाली उत्पादन गर्ने गर्दछन् । गाउँपालिकाले कटेरी गाउँको शिरसम्म मोटरबाटोले जोडे पनि मुठाचौरसम्म पुर्‍याउन सकेको छैन । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले मुठाचौर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ भएको भन्दै यसको विकासका लागि गाउँपालिका लागि परेको बताए । अध्यक्ष बुढामगरले मुठाचौरको विकासका लागि पालिकाले योजना बनाएर क्रमागत रुपमा विकास गरिरहेको बताउँछन् । यस ठाउँका नागरिकलाई आवश्यक पर्ने सबै खाले विकासका पूर्वाधार निर्माण गर्न सुरु भएको उनको भनाइ छ ।

‘मुठाचौरको विकास हाम्रो मुख्य प्राथमितामा छ, सबै विकास निर्माणका लागि हामीले कामको सुरुआत गरेका छौँ’, अध्यक्ष बुढामगरले भने। अध्यक्ष बुढामगरले यहाँ आधा वर्ष मात्रै नागरिक बसोबास गर्ने भएको हुँदा पूर्वाधारले जोडिन ढिला भएको भन्दै केही समयमै विकासका पूर्वाधारले जोडिने बताए । मुठाचौरमा पर्यटकलाई आकर्षण गर्नसके यहाँका नागरिकको जीवनस्तर उकासिने भन्दै मुठाचौर नजिकै रहेको बराहतालको विकासमा समेत आफूहरू जुटेको उनको भनाइ छ । बराह ताल र त्यहाँ रहेको मन्दिर पुनःनिर्माण भएको र आन्तरिक पर्यटक पनि बढ्न थालेको भन्दै अध्यक्ष बुढामगरले अब मुठाचौरमा पूर्वाधार निर्माण गरे ‘होम-स्टे’ सञ्चालन गर्ने बताए।

‘सबैभन्दा पहिले यहाँ सडक, विद्युत् र खानेपानीको व्यवस्थापन गर्छौं, अब यसलाई पर्यटकीय गाउँ बनाउने गरी काम गर्ने योजना बनाएका छौँ’, अध्यक्ष बुढामगरले भने, ‘केही समय लाग्ला तर मुठाचौर निकै आकर्षक गाउँ बन्ने छ ।’

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ११ : ५२ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति