फाइल फोटो

समाचार

आकाशियो तरकारीको मूल्य

By खबरहब

October 10, 2022

कैलाली– कैलाली, कञ्चनपुर जिल्लामा लगातारको वर्षाले तरकारीको स्थानीय उत्पादकत्वमा निकै कमी आउँदा तरकारीको मूल्य दिनप्रति दिन बढ्दै गएको छ । धनगढी उपमहानगरपालिका-२ स्थित रामजानकी सब्जीमण्डी तरकारी किन्न आएका शिवराज जोशीले अहिले बजारमा तरकारीको मूल्य ह्वात्तै बढेको बताए। निरन्तर वर्षा हुन थालेपछि तरकारीको भाउँ बढेको उनको अनुमान छ । झण्डै एकसाता देखिको अविरलका वर्षाका कारण विभिन्न स्थानबाट तरकारी गन्तव्य ठाउँमा पुग्न नसकेकाले तरकारीको मुख्य बढेको तरकारी व्यवसायीको भनाइ छ । वर्षाले तरकारी उत्पादनमा कमी आएको उनीहरूले बताएका छन् । 

वर्षाले विभिन्न स्थानबाट आउने तरकारी बजारमा पुग्न नसकेको कारण बजारमा ताजा तरकारी पाउन मुस्किल भएको छ । तरकारी बजारमा अहिले हरियो साग प्रतिकिलो एक सय ४०, काउँली प्रतिकिलो एक सय २०, आलु ५०,  टमाटर प्रतिकिलो एक सय, लौका ८०, काक्रा प्रतिकिलो एक सयमा बिक्री भइरहेको छ । वर्षाअघि धनगढीमा हरियो साग प्रतिकिलो ९०-१००, काक्रा प्रतिकिलो ६०, टमाटर ८०, काउली ९० र लौका ४० मा बिक्री भइराखेको थियो ।