पिप्ले-भगवती कालोपत्र सडक योजना अलपत्र, सम्बद्ध निकाय बेखबर « Khabarhub

पिप्ले-भगवती कालोपत्र सडक योजना अलपत्र, सम्बद्ध निकाय बेखबर


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लाको रघुगङ्गा गाउँपालिकाको गलेश्वर राहुघाटबाट पिप्ले-भगवती कालोपत्र सडक अलपत्र परेको छ ।

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले बीचैमा काम छाडेपछि योजना अलपत्र परेको हो ।

निर्माण कम्पनीका साझेदारहरूबीच आर्थिक लेनदेनको विषयमा विवाद भएपछि एक सातादेखि कार्यक्षेत्रमा सम्पूर्ण काम ठप्प भएको छ । आयोजनाको थप भएको समयमा समेत काम नगरिकन निर्माण कम्पनीले काम छाडेपछि बिहीबार नेकपा (माओवादी केन्द्र) रघुगङ्गा गाउँपालिकाले सम्बद्ध निकायमा ध्यानकर्षण गराएको छ ।

माओवादी केन्द्रका रघुगङ्गा गाउँपालिका कमिटी अध्यक्ष हरि भण्डारी, वडा नं २ का वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवाल र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रेशम कटुवालको नेतृत्वमा गएको टोलीले पूर्वाधार विकास कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई आयोजनाबारे ध्यानकर्षण गराएका हुन् ।

ध्यानकर्षणपत्र बुझाउँदै माओवादी केन्द्रका रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भण्डारीले कालोपत्र सडक निर्माण गर्ने योजनालाई निर्माण कम्पनीले अलपत्र पारेपछि सम्बद्ध निकायलाई जानकारी गराउने र कानुनबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन ध्यानकर्षण गराइएको बताए। योजनालाई अधकल्चो बनाएर छाडेपछि प्रभावित क्षेत्रका स्थानीयवासीमा चिन्ता बढेको भन्दै उनले निर्माण कम्पनीलाई तत्काल कार्यक्षेत्रमा फर्काउने वातावरण बनाउन भूमिका खेल्न प्रशासन र योजना कार्यान्वयन गर्ने कार्यालयलाई आग्रह गरिएको बताए ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सम्बन्धित कार्यालय र निर्माण कम्पनीसँग आवश्यक सोधपुछ गरी अलपत्र योजनालाई गति दिनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । उनले कुनै पनि कम्पनीलाई योजनालाई बीचैमा अलपत्र छाडेर हिँड्ने छुट नहुनेसमेत बताए। योजनामा निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले गत जेठमै योजनालाई सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म आधाको हाराहारीमा मात्रै भौतिक प्रगति गरेको छ ।

अन्तिम पटकका लागि थप भएको समयसीमासमेत सकिन एक महिनामात्रै बाँकी छ । गलेश्वरबाट बगैँचासम्मको पहिलेको ट्रयाक (मार्ग)मा पहिराले क्षति पुर्‍याएकाले पहिलो चरणमा पिप्लेबाट भगवतीसम्मको पाँच किलोमिटर सडकलाई कालोपत्र गर्ने भनिए पनि निर्माण कम्पनीले कार्यक्षेत्र नै छाडेपछि यस क्षेत्रका स्थानीयवासी रुष्ट बनेका छन् ।

सुरुआतमा निर्माणको जिम्मा लिने रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्षसमेत रहनुभएका जीवनकुमार मल्ल र मुख्य ठेकेदार रत्न खड्काबीच लेनदेनमा समस्या देखिएपछि आफूहरूले कार्यक्षेत्रमा काम रोकेर हिँड्नुपरेको निर्माण कम्पनीको तर्फबाट परिचालित प्राविधिकहरूको भनाइ छ । कम्पनीले कार्यक्षेत्रमा काम गर्ने मजदुरको पारिश्रमिक र सामान ल्याएको खर्चसमेत तीर्न बाँकी छ ।

भ्याटसहित रु १८ करोड ४१ लाख ८३८ मा ठेक्का सम्झौता भएको यस योजनामा आठ किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्र गर्नुपर्ने उल्लेख छ । दशकअघि मार्ग खुलेको यो सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा आवतजावतका लागि स्थानीयवासीलाई सास्ती हुँदै आएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ११ : २० बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

विश्वकप अन्तिम ३२ को समीकरण पूरा, कसको भिडन्त कुन टिमसँग ?

काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल