टीकापुरमा बालबालिकालाई बालभिटा खुवाइँदै « Khabarhub

टीकापुरमा बालबालिकालाई बालभिटा खुवाइँदै


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कैलाली – जिल्लाको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम सञ्चालनमा छन् । टीकापुरमा अहिले पनि छ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि यसै वर्षदेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन थालिएको छ ।

बालबालिकाको पोषणमा ध्यान दिन कैलाली जिल्लाभरि यस वर्ष बालभिटा खुवाउन थालिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । गत असोजदेखि कैलालीको टीकापुर नगरपालिकाले छ महिना पुगिसकेका बालबालिकालाई अनिवार्य बालभिटा खुवाउन थालेको हो । ‘बालबालिकालाई छ महिनादेखि दुई वर्षसम्म बालभिटा खुवाइने भएपछि बच्चाका आमाहरूले बालभिटालाई बच्चाको खानामा मिसाएर खुवाउने गरेका छन्’, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका चन्द्रावती शर्माले भने, ‘बच्चालाई स्वस्थ रहन सघाएको छ । बच्चाले पनि बालभिटा रुचाएर खाने गरेका आमाहरू बताउँछन् ।’

टीकापुरकी पुष्पा देवकोटाले पनि आफ्नो बच्चालाई नियमित बालभिटा खुवाइरहेको बताए । ‘पहिलो बच्चा हुँदा बालभिटा खुवाउन पाइएन, अहिले दोस्रो बच्चाको पालामा स्वयंसेविकाले बालभिटा दिनुभयो, मैले खुवाइरहेकी छु’, देवकोटाले भने, ‘छोरी स्वस्थ छिन्, सरकारले बालबालिकाको स्वास्थ्य राम्रो होस् भनी ल्याएका कार्यक्रम राम्रा छन् ।’

बालभिटा १५ प्रकारका भिटामिन तथा खनिजतत्वको मिश्रण हो । यो सानो पुरियामा पाइन्छ । बालभिटा खानामा मिसाएर खुवाइन्छ । बालभिटा छ महिना पूरा भएदेखि दुई वर्षमुनिका बालबालिकालाई खुवाउनुपर्छ । बालभिटा घरमा तयार पारिएका खानेकुरा (जाउलो, लिटो, मिचिएको दाल, भात) सजिलैसँग मिसाएर खुवाउन सकिने भएकाले बालबालिका पनि रुचाएर खाने गरेको आमाहरू बताउँछन् । टीकापुरकै दुर्गा चौधरीको बच्चाले पनि खानासँग बालभिटा खाइरहेको छ । ‘पालिकाले बच्चाको नियमित वृद्धि अनुगमन, स्वस्थ बच्चाबीच प्रतिस्पर्धाजस्ता कार्यक्रम पनि गरिरहेको छ । यसले हामी आमाहरूलाई पनि सचेत गराउने गरेको छ’, चौधरीले भने, ‘मेरो बच्चा स्वस्थ छ । हरेक महिना वृद्धि अनुगमन गर्दा स्वास्थ्यकर्मीले बच्चाको अवस्थाबारे भन्छन्, कसरी स्याहार्ने भनी सुझावसमेत दिने गरेका छन् ।’

बालभिटामा आइरनलगायत खनिजतत्व उपलब्ध हुने भएकाले रक्तअल्पता हुनबाट जोगाउने स्वास्थ्यकर्मी बताउँछन् । छ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई हरेक छ महिनाको अन्तरालमा दैनिक एक प्याकेटको दरले ६० प्याकेट बहु सुक्ष्म पोषकतत्वको मिश्रण थप आहारमा मिलाएर खुवाउनुपर्ने टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका सिनियर अहेव कमलबहादुर रावल बताउँछन् । ‘बालभिटा खुवाउँदा बच्चाको दिमागको विकास, शरीरको वृद्धि विकास, रोगसँग लड्ने क्षमताको विकास, खाना खाने रुचिमा वृद्धि, रक्तअल्पता तथा अन्य सुक्ष्म पोषकतत्वको कमीले हुने विकृति कुपोषणबाट जोगाउँछ’, रावलले भने, ‘बालबालिकालाई चनाखो र दरिलो बनाउन सघाउने भएकाले एक दिनमा एउटा बच्चालाई एक पुरिया बालभिटा खुवाउनुपर्ने मापदण्डअनुसार आमाहरूलाई खुवाउन भनेका छौँ। राम्रो प्रतिक्रिया आएको छ ।’

बालभिटा समुदायमा महिला स्वास्थ्य स्वयंसेविकामार्फत वितरण गर्ने गरिएको छ । यसका साथै पालिकाले स्वस्थ बच्चा प्रतिस्पर्धामा उत्कृष्ट हुने बच्चा र आमालाई पुरस्कृत गर्ने गरेको छ । यसका साथै कुपोषित बालबालिकाको उपचारका लागि सबै स्वास्थ्य संस्थामा आकस्मिककक्ष स्थापना गरिएका छन् । कुपोषित बालबालिकालाई तयारी खाना खुवाउने गरिएको छ । ‘समुदायमा रहेका कुपोषित र कुपोषणको जोखिममा रहेका बालबालिकालाई स्वास्थ्य संस्थामा प्रेषित गर्छौँ’, स्वयंसेविका सुशीला ढुङ्गानाले भने, ‘स्वास्थ्य संस्थाले प्रत्यक्ष निगरानीमा बच्चाको उपचार गर्छन् । बालबालिका भविष्यका कर्णधार भएकाले पोषणमा ध्यान दिन आवश्यक छ ।’

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १० : ४० बजे

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले