मलाई नेपालका जात्रा र पर्व धेरै मनपर्छ : अमेरिकी राजदूत बेरी « Khabarhub

मलाई नेपालका जात्रा र पर्व धेरै मनपर्छ : अमेरिकी राजदूत बेरी



नेपाल र अमेरिकाबीच २५ अप्रिल १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता अमेरिका नेपाललाई सहायता गर्ने प्रमुख देश मध्येमा पर्ने गरेको छ। नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठको अवसरमा विभिन्न कार्यक्रमको आयोजना भइरहेका छन्। लामो समयदेखि नेपाललाई सहायता गर्दै आएको अमेरिकाले कोभिड-१९ को महामारीविरुद्ध पनि सघायो। नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले कोभिड-१९ विरुद्धको लडाइँमा नेपाललाई साथ दिन पाउँदा अमेरिकी दूतावास हर्षित भएको बताउने गरेका छन्। उनले विश्वव्यापी खोप कार्यक्रमले मानिसको जीवन बचाउन एवम् महामारीको अन्त्य गर्न सहयोग गर्ने विश्वास लिएका छन्। नेपालमा आफ्नो कार्यकाल पूरा गरेर चाँडै उनी स्वदेश फर्किने तयारीमा छन्। राजदूत बेरीको यो दोस्रो नेपाल बसाइ हो। यसअघि उनी सन् २००७ देखि २००९ सम्म काठमाडौँस्थित अमेरिकी दूतावासमा डेप्युटी चिफ अफ मिसनको पदमा कार्यरत थिए। उनीसँग एसिया र अफ्रिकामा रहेर कूटनीतिक क्षेत्रमा काम गरेको लामो अनुभव छ। प्रस्तुत छ खबरहबका ईश्वरदेव खनालले नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीसँग गरेको कुराकानीको सम्पादीत अंश :

कोरोना भाइरसको सङ्क्रमणविरुद्ध नेपाललाई अमेरिकाले गरेको सहयोगबारे केही टिप्पणी गर्न सक्नुहुन्छ ?
अमेरिकाले नेपाललाई कोरोना भाइरसको महामारी सुरु भएदेखि नै सहयोग गर्दै आएको छ। हालसम्म हामीले नेपाललाई विभिन्न प्याकेजमार्फत् १२ करोड ४० लाख डलर सहयोग गरेको छौँ। उपकरण र बन्दोबस्तीका सामान, स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी एवम् स्वयम्सेवकलाई तालिम, कोरोना विरुद्धको खोप लगाउन प्रोत्साहन गर्ने अभियान जस्ता कार्यमा सहयोग उपयोग भएको छ।

हालै अमेरिकाले प्रदान गरेको ४५ लाख डोज बालबालिकालाई लगाइने खोप नेपाल आइपुगेको छ। मलाई यति भन्दा गौरव महसुस हुन्छ। यसअघि हामीले ४० लाखजति वयस्कलाई लगाइने खोपको आपूर्ति गरेका थियौँ। एक अभिभावकको रुपमा केटाकेटीलाई खोप लगाउन पाउँदाको खुशी भन्दा अरु खुसी केही पनि हुँदैन।

समन्वयको प्रक्रिया के छ ?
अमेरिकाले प्रदान गरेका खोप, पीपीई वा अन्य उपकरणको नेपालभर उचित वितरण भइरहेको निश्चित गर्न हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गरिरहेका छौँ। अमेरिकाले विश्वभर खोप वितरण गर्ने कोभ्याक्स नामक अन्तर्राष्ट्रिय कार्यक्रमसँग पनि सहकार्य गर्छौँ। यूएसएआईडी र अमेरिकाको रक्षा मन्त्रालयले पनि नेपाललाई दशौँ लाख डलर बराबरको कोभिड–१९ विरुद्धको सहायता प्रदान गरेका छन्। अमेरिकी सरकारका यस्ता निकायहरुले पनि नेपाल सरकारसँग समन्वय गरिरहेका छन्।

अमेरिकामा अहिले कोभिड–१९ को अवस्था के छ ?
दुई वर्षअघि भन्दा हाम्रो अवस्था अहिले केही राम्रो छ। यद्यपि तपाईंहरुलाई थाहै छ नेपालमा जस्तै अमेरिकामा पनि डेल्टा, ओमिक्रोन र अन्य भेरियन्ट देखिन्छन्। निकट भविष्यसम्मका लागि विश्व सजग हुनुपर्ने अवस्था छ। तर, हामीलाई मास्क र खोपजस्ता कुराले सहयोग पुर्याउँछन् भन्ने थाहा छ।

के अमेरिकाले कोभिड–१९ जस्ता महामारीको रोकथामका लागि कस्ता शोध अनुसन्धान गरिराखेको छ ?
हामी यस्ता भाइरसबारे निरन्तर अध्ययन, अनुसन्धान, शोध गरिरहेका छौँ। किनकी यस्ता रोगले देशको सीमा छुट्याउँदैनन्। यस्ता रोग र महामारी नियन्त्रणका लागि खोज अनुसन्धानमा योगदान दिनेछौँ। हामी सबैले यस्ता महामारी खेप्छौँ। सायद यस्ता समस्या मौसम परिवर्तनका कारण पनि हुनसक्छ। यस्ता माहामारीको अझ ठूलो जोखिम कायमै छ। भविष्यमा उत्पन्न हुने यस्ता महामारीका सन्दर्भमा हामीले अनुसन्धान, विज्ञान, विश्वव्यापी सहकार्यमा जोड दिनुपर्छ।

कोरोना भाइरसको महामारी उत्कर्षमा रहेका बेला तपाईं नेपालका लागि अमेरिकी राजदूत हुनुहुन्थ्यो। नेपालले गरेको महामारी व्यवस्थापनलाई कसरी हेर्नुहुन्छ ?
अरु मुलुकको तुलनामा नेपालमा कोभिड-१९ को न्यून सङ्क्रमित र उच्च खोप दर रहेको छ। नेपालले आफ्नै पहल र अमेरिकाजस्ता अन्तर्राष्ट्रिय साझेदारको सहयोगमा महामारीको व्यवस्थापन गर्न सफल देखियो।
यूएसएआईडीका माध्यमबाट अमेरिका सरकारले नेपालको स्वास्थ्य क्षेत्रलाई गरेको सहयोगबाट नेपालको पुरानो र सफल सहयोग कार्यक्रमको महत्व देखिन्छ।
यो साझेदारीबाट नै नियमित भ्याक्सिन आपूर्तिको बाटो खुलेको छ। तर, नेपाल सरकारमात्रै नभएर नेपालका स्वास्थ्यकर्मी एवम् समुदायको पहलबाट नै यो उपलब्धि हासिल भएको हो जस्तो मलाई लाग्छ।

राजदूतका रुपमा दुई मुलुकबीचको सम्बन्धका लागि तपाईंका प्राथमिकतामा के के थिए ?
मेरा प्राथमिकता हाम्रा दुई मुलुकबीचको ऐतिहासिक सम्बन्धलाई जोगाउनु तथा दिगो लोकतन्त्रका लागि सहयोग आदान प्रदान गर्ने, जलवायु परिवर्तनबाट उत्पन्न प्रभावविरुद्ध लड्ने र मानव अधिकारको संरक्षण गर्नु रहेका थिए।

यसका लागि मैले हाम्रा सरकारबीच मात्रै नभएर नागरिकस्तरमै सम्बन्धको विस्तारमा ध्यान दिने प्रयास गरेँ। दुई मुलुकबीच साझेदारीको इतिहास र यसबाट प्राप्त नतिजालाई ध्यान दिँदा मैले भन्नै पर्छ, अमेरिकाविरुद्ध बेलाबेला व्यक्त हुने दुष्प्रचार र आशंकाले मलाई कहिलेकाही निराश बनाएको छ। म यो स्पष्ट भन्न चाहन्छु, नेपालको सार्वभौमिकता, संस्कृति, इतिहास र समृद्धि हाम्रो प्राथमिकता हो।

नेपाल, नेपाली जनता र नेपाली संस्कृतिलाई कसरी लिनुहुन्छ ?
नेपाली जनताको न्यानो आतिथ्यता र संस्कृतिबाट म निकै नै प्रभावित भएको छु। मलाई यहाँका जात्रा, पर्व र अरु उत्सव मनाउन ज्यादै मनपर्छ।

उदाहरणका लागि भक्तपुरको बिस्केट जात्रा, मच्छिन्द्रनाथको रथ वा नवदुर्गा वा ल्हो मन्थाङको तिजी पर्वहरु मेरो जीवनका अर्थपूर्ण, महत्त्वपूर्ण र उत्कृष्ट अनुभव हुन्।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : १६ बजे

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका