विश्वभर आज : यस्ता छन् अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् अन्तर्राष्ट्रिय घटनाक्रम


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज असार २७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाइ ११, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

श्रीलङ्का संकट

राष्ट्रपति र प्रधानमन्त्रीले आधिकारिक रूपमा राजीनामा नगरेसम्म सरकारी सरकारी निवासमा कब्जा जारी राख्ने श्रीलङ्काका प्रदर्शनकारीहरूले बताएका छन् ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने शनिबार संसद्का सभामुखले जानकारी दिएका थिए । त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताएका छन् । प्रदर्शनकारीले उनको निजी निवासमा आगजनी गरेका छन् ।

तर राष्ट्रपति आफैँ देखिएका छैनन् र सार्वजनिक बयान दिएका छैनन् । उनी हाल श्रीलङ्काको जल क्षेत्रमा नौसेनाको जहाजमा रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनका भाइ पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे पनि नौसेनाको आधारमा रहेको बताइएको छ ।

राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिने भने पनि आन्दोलनकारीहरूले नेताहरूको नियतप्रति शंका गरिरहेका छन् । ‘हाम्रो सङ्घर्ष  सकिएको छैन’, विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकराले भने, ‘राष्ट्रपति राजापाक्षेले नछोड्दासम्म हामी सङ्घर्ष छोड्ने छैनौँ ।’

आगामी दिन राजनीतिक रूपमा के हुन्छ भनेर हेर्नको लागि अत्यन्तै अनिश्चित समय हुने राजनीतिक विश्लेषक तथा मानवअधिकार वकिल भवानी फोन्सेका बताउँछन् । यसैबीच श्रीलंकाका प्रमुख विपक्षी दलहरू आइतबार राष्ट्रपति गोटाबाया राजापाक्षेको अपेक्षित राजीनामापछि सर्वदलीय अन्तरिम सरकार गठन गर्न सहमत भएका छन् । रिपोर्टहरूअनुसार विपक्षी दलहरूले राजापाक्षेको राजीनामापछि वर्तमान अभूतपूर्व आर्थिक संकटबाट देशलाई अगाडि बढाउने उपाय खोज्न वार्ता गरेका थिए ।

‘हामी अन्तरिम समयका लागि सबै दलहरूको सहभागितामा मिलिजुली सरकार गठन गर्न सैद्धान्तिक रूपमा सहमत छौं’, सत्तारुढ श्रीलंका पोदुजाना पेरामुना पार्टी (सएलपीपी बाट अलग्गिएको समूहका नेता विमल वीरावांसाले भने ।

उनले अगाडि थपे, ‘यो सरकार सबै दलको प्रतिनिधित्व हुने सरकार हुनेछ । ’ सोही समूहका अर्का नेता वासुदेव नानायकाराले सरकार गठनका लागि जुलाई १३ मा राजापाक्षेको राजीनामा पर्खनु नपर्ने बताए ।

राष्ट्रपति राजापाक्षेले शनिबार संसद्का सभामुख महिन्दा यापा अबेवर्देनालाई बुधबार राजीनामा दिने जानकारी गराएका थिए । त्यस्तै, प्रधानमन्त्री रनिल विक्रमासिंघले पनि राजीनामा दिने प्रस्ताव गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल समुगी जनता बलवेगया पार्टीले व्यापक आन्तरिक छलफल भएको जनाएको छ । रश्मी कविन्ध्याले आफ्नो जीवनकालमा कोलम्बोस्थित श्रीलंकाली राष्ट्रपतिको सरकारी निवासमा प्रवेश गर्ने कहिल्यै सपना देखेकी थिइन् । ठूलो भीडले देशको सबैभन्दा सुरक्षित भवनमध्ये एउटा भवनमा प्रवेश गरेको भोलिपल्ट  कविन्ध्या जस्ता हजारौँ मानिसहरू फराकिलो कम्पाउन्ड हेर्न भीडमा छन् ।

यो औपनिवेशिककालीन वास्तुकलाको एक आकर्षक भवन हो जहाँ धेरै बार्दली, बैठक कोठा तथा बस्ने ठाउँ, पौडी पोखरी र विशाल दुबोको मैदान छ । शनिबारको नाटकीय घटनाले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई भाग्न बाध्य पारेको थियो ।

आफ्ना चार छोराछोरी लिएर राष्ट्रपति निवासमा पुगेकी कविन्ध्याले बीबीसीसँग भनिन्, ‘यस ठाउँको ऐश्वर्य र समृद्धि हेर्नुहोस् । हामी गाउँमा बस्छौँ र हाम्रो घर सानो छ । यो दरबार जनताको हो र जनताको पैसाले बनेको हो ।’

हजारौँ पुरुष, महिला र केटाकेटीहरू दरबार परिसरभित्र पस्ने प्रयास गरिरहेका थिए । प्रदर्शनकारीमध्ये केहीले भने  भीडलाई नियन्त्रण गरिरहेका थिए । मानव सागर दरबार परिसरमा जाँदा प्रहरी र विशेष फौजहरू एक कुनामा उभिएर चुपचाप हेरिरहेका थिए ।

मानिसहरू एक कोठाबाट अर्को कोठामा घुम्दै दरबारको दृश्यसहित  सेल्फी लिएका थिए । भाँचिएका कुर्सी, झ्यालका फुटेका सिसा र भाँडा भवनका वरिपरि छरिएका थिए । कम्पाउन्डमा प्रवेश गरेपछि भीड अराजक बनेको थियो ।

गनेमुल्ला सहरको बाल मनोरञ्जन पार्कमा काम गर्ने एएल प्रेमवर्द्धनेले भने, ‘यस्तो दरबार हेर्ने मेरो सपना पूरा भएको छ ।’उनले अगाडि थपे, ‘हामी मट्टितेल, ग्यास र खानाको लागि लामो लाइनमा पर्खिरहेका छौँ, तर राजापाक्षेहरू फरक जीवन बिताइरहेका थिए ।’

शनिबार राष्ट्रपति निवासमा प्रवेश गरेका प्रदर्शनकारीले निवासभित्र मनलाग्दो काम गरेका छन् । कसैले किचनमा खान पकाएर खाएका छन् भने कोही जिम हलमा जिम गरेका छन् । त्यस्तै कोही बाथरुममा नुहाएका छन् भने केहीले राष्ट्रपतिको शयन कक्षमा आराम गरेर रमाएका छन् । श्रीलंकाली सुरक्षाकर्मी उनीहरूका गतिविधिप्रति मूकदर्शक बनेको छ  ।

जापानमा निर्वाचन

जापानमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको दुई दिनपछि आइतबार सम्पन्न निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) विजयी हुने अनुमान गरिएको हो ।

१२५ सिट भएको माथिल्लो सदनमा पूर्वप्रधानमन्त्रीको पार्टी एलडीपी र यसको गठबन्धन कोमेटोले ७० देखि ८३ सिट ल्याउने अनुमान गरिएको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ ।

आबेको हत्या हुनु अघि एलडीपी र कोमिटोले आफ्नो बहुमत ल्याउने अपेक्षा गरिएको थियो ।

अमेरिकामा गोलीकाण्ड

अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ । घटनामा तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।

देशको क्यालिफोर्नियामा घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

स्थानीय समय अनुसार राती १२ः४५ बजे घटना भएको हो । आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेको थियो । ती मध्ये तीन पुरुषको मृत्यु भएको छ भने घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

अमेरिकामा गोली प्रहारका घटना निरन्तर हुन थालेका छन् । गोली प्रहारका घटना निरन्तर हुन थालेपछि बन्दुक सम्बन्धी विद्यमान कानुनलाई संशोधन गर्नुपर्ने आवाज बढ्दै गएको छ ।

चीनमा गर्मी

चीनको सांघाइमा अत्यधिक तापक्रम बढेको छ । ४० डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि सांघाई नगरपालिका मौसम विज्ञान पर्यवेक्षकले प्रान्तका केही क्षेत्रमा रेड अलर्ट जारी गरेको छ।

सिन्ह्वाका अनुसार सांघाइमा जुलाई ५ देखि लगातार ६ दिनसम्म अत्यधिक उच्च तापक्रम देखिएको छ । आइतबार सांघाई सुजियाहुई स्टेशनको तापमान ४० डिग्री सेल्सियस पुगेको थियो ।

सन् १८७३ देखि शहरमा ४० डिग्री सेल्सियसभन्दा माथि जम्मा १५ तातो दिनहरू रिपोर्ट गरिएको छ । सन् २०१७ मा सांघाइको तापक्रम ४० दशमलव ९ डिग्री सेल्सियस पुगेको थियो ।

भारतमा कोभिड

भारतमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । पछिल्लो २४ घन्टामा १८ हजार २५७ जना नयाँ संक्रमित थपिएका छन् ।यससँगै कुल संक्रमितको संख्या ४ करोड ३६ लाख २२ हजार ६५१ पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा ४२ जनाको मृत्युसँगै कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २५ हजार ४२८ पुगेको छ ।

कूल सक्रमितको शून्य दशमलब ३० प्रतिशत सक्रिय संक्रमित छन् । त्यसैगरी कोभिड निको दर ९८ दशमलब ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

युक्रेनमा युद्ध

पूर्वी युक्रेनको चासिभ यार सहरमा रहेको एउटा अपार्टमेन्ट ब्लकमा रुसी सेनाको रकेट हमलामा कम्तीमा १५ जना युक्रेनीको मृत्यु भएको छ। आक्रमणमा करिब २० जना भग्नावशेषमुनि पुरिएको अधिकारीहरूले बताएका छन् ।

पाँच जना पीडितलाई भग्नावशेषबाट जीवितै बाहिर निकालिएको युक्रेनी आपतकालीन सेवाका अधिकारीले दिएका छन् । पाँच तले भवनको एक छेउको भाग भत्किएर भग्नावशेषको पहाडमा परिणत भएको प्रापत विवरणहरुमा जनाइएको छ ।

चासिभ यार दोनेत्स्क सहरमा क्रामाटोरस्क क्षेत्र नजिकै पर्छ । पछिल्ला समयमा रुसी सेनाले युक्रेनका एकपछि अर्को सहरलाई आक्रमण गरेका छन् ।

इजरायल र इजिप्टका नेताहरुबीच चाँडै भेटवार्ता हुने

इजरायलका प्रधानमन्त्री यइर लापिड र इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिबीच चाँडै भेटवार्ता हुने भएको छ । आइतबार भएको टेलिफोन कुराकानीका क्रममा उनीहरुले चाँडै भेट्ने योजना बनाएको अधिकारीहरुले जनाएका छन् ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको वक्तव्यमा उनीहरुका बीचमा सौहार्दपूर्ण कुराकानी भएको उल्लेख छ । दुई नेताले अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वमा भ्रमण गर्न लागेको विषयमा पनि छलफल गरेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति बावाइडेनले यही जुलाई १३ देखि १६ सम्म इजरायल, प्ययालेस्टाइनको पश्चिमी किनारा र साउदी अरबको भ्रमण गर्ने तय भएको छ । सन् १९७९ मा भएको दुई देशबीचको सम्झौताका बारेमा पनि उनीहरुले समिक्षा गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

दुबै नेताले त्यस सम्झौतालाई दुई देशको सम्बन्धको जगको रुपमा लिएर आगामी दिनको यात्रा तय गर्नुपर्नेमा जोड दिएका थिए । आफूहरुका बीचमा निरन्तर कुराकानी र सञ्चार सम्बन्ध भइरहनु पर्ने र त्यसो भएमा दुई देश विचको सम्बन्ध थप सकारात्मक हुने उनीहरुको विश्वास छ ।

क्युबामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई चीनको आग्रह

चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई क्युबामाथिको प्रतिबन्ध पूर्ण रूपमा हटाउन आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले जुलाई ९ मा २८ क्युबाली अधिकारीहरूमाथि भिसा प्रतिबन्धको घोषणा गरेकोबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरेका हुन् ।

वाङले दैनिक समाचार ब्रिफिङमा चीनले क्युबाली सरकार र त्यहाँका जनताले सामाजिक स्थायित्व कायम गर्न गरेको प्रयासलाई दृढतापूर्वक समर्थन गर्ने पनि बताएका छन् ।

लगातार २९ पटक संयुक्त राष्ट्र संघको महासभाले अमेरिकालाई आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दी अन्त्य गर्न माग गर्दै प्रस्तावहरू पारित गरेको छ ।

‘हामी संयुक्त राज्य अमेरिकालाई अन्तर्राष्ट्रिय समुदायबाट न्यायको लागि आह्वान गर्न, संयुक्त राष्ट्रसंघको बडापत्रको उद्देश्य र सिद्धान्तहरूको परिपालना गर्न र क्युबा विरुद्ध एकपक्षीय रूपमा लगाइएको प्रतिबन्धहरू पूर्ण रूपमा हटाउन आग्रह गर्दछौँ,’ वाङले भने ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ८ : ०५ बजे

सिंहदरबारमा ‘प्रचण्डराज’- योजना आयोगलाई दुरुपयोग गरेर उल्टो यात्रा !

काठमाडौं– दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच

सन्दीपलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय

काठमाडौं–  नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

काठमाडौं–  धनकुटा र सल्यानबाट जबरजस्ती करणी गरेको आरोपमा दुई जना

म माधव नेपालको पार्टीमा छैन, जनताको काम गरेर बस्छु : प्रेम आले

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू उक्त पार्टीमा

एकीकृत समाजवादीको केन्द्रीय समितिमा परेनन् प्रेम आले

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीको जारी दशौँ ममहाधिवेशनबाट ९३