बैतडी – बैतडीका अधिकांश ग्रामीण क्षेत्रमा विद्युत् विस्तार हुन नसक्दा त्यहाँका बासिन्दा अन्धकारमा बस्नुपरेको बारे सबै निकाय जानकार नै छन् । केही ग्रामीण क्षेत्रमा बिद्युत् तार र खम्बा अपुग हुँदा बिजुली बल्न सकेको छैन । तर, कतिपय ठाउँमा भने पुगाएका विद्युत् खम्बा र तारको चरम दुरुपयोग भएको पाइन्छ ।
जिल्लाको सिगास गाउँपालिका वडा न. ७ न्वाघरमा एक किसानको खेतबारीमा विद्युत् तारले बार लगाइएको छ । स्थानीय किसान रामसिंह साउदले आफ्नो २ रोपनी खेतमा उक्त विद्युत् तारको बार लगाएका हुन् । सो क्षेत्र मुख्य बाटो छेउमै पर्ने भएकाले आवतजावत गर्ने सबैले तारको दुरुपयोग प्रस्ट देख्छन् तर कोही बोल्दैनन् ।
खेतको बार मात्रै नभई आल्मोनियनका विद्युत् तारहरुबाट आरन व्यवसायीहरूले कराई, मान्द्रो, ताप्के, ढकेरा जस्ता भाँडाकुँडा बनाउने गर्दछन् । सिगास-४ मा गडतोलामा बस्ने करिब १ दर्जन आरन व्यवसायीले उक्त सामग्रीको दुरुपयोग गरेको स्थानीय सुरेन्द्र साउदले बताए ।
उक्त तार स्थानीय तह हुनुपुर्व नै वैकल्पीक उर्जा प्रवर्धन केन्द्रले न्वाघरीगाड लघु जलविद्युत आयोजनाका लागि आएको हो । उक्त जलविद्युत अहिले पूर्णरुपमा बन्द भैसकेको छ । उक्त विद्युत् सञ्चालनका बखत प्रयोग भएका काठका खम्बा ५ वर्षमै कुहिएपछि तारको स्थानीयवासीले भाँडाकुँडा बनाउनुका साथै खेतबारीमा प्रयोग गरेका हुन् ।
यसैगरी सिगास १ मा एक पक्की घर निर्माणाधीन अवस्थामा छ । स्थानीय लोकराज भट्टको उक्त घरमा पिल्लरमाथि छडको सट्टा विद्युतका खम्बा प्रयोग गरिएका छन् भने, शौचालयको खाडलमा समेत विद्युत् खम्बाको प्रयोग गरिएको छ । भट्टले शौचालयको खाडलमा विद्युत् पोलहरु तेर्साएर माटो हालेका छन् । २०७५मा स्थानीय तह र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा विद्युत् आयोजना निर्माण हुँदा उनी आफै उपभोक्ता समिति अध्यक्ष रहेकाले विद्युत् सामग्रीको दुरुपयोग गरेको स्थानीयवासीको भनाई छ ।
केही ठाउँमा ठेकेदारको लापरबाहीले गर्दा गाउँघरमा विद्युत् तार र पोल पुगाइएको छ । तर, जडान गरिएको छैन । तार, पोल तथा ट्रान्सफर्मर अलपत्र छाडिएका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा न. ५ र ६को विभिन्न खोलामा तार, पोल तथा मेसिन अलपत्र छाडिएका छन् ।
-न्युज कारखानाबाट
प्रतिक्रिया