अडियो सुन्नुहोस्ः
फिलिपिन्समा आँधीका कारण २५ जनाको मृत्यु
फिलिपिन्समा आँधीपछिको बाढीपहिरोमा परी २५ जनाले ज्यान गुमाएका छन् । ६५ किलोमिटर प्रतिघन्टाको वेगमा आएको मेगी नामक आँधीबाट फिलिपिन्सको पूर्वी तटीय क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको बीबीसीले जनाएको छ ।
शक्तिशाली आँधी आएपछि पूर्वी तटका १३ हजारभन्दा बढी मानिस आश्रयका लागि उच्च क्षेत्रमा भागेका थिए । मंगलबार उद्धार टोलीहरू अझै पनि पूर्वी र दक्षिणी तटहरूमा बिचल्लीमा परेका मानिसहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन् ।
भीषण वर्षा र हावाले विद्युत आपूर्तिमा अवरोध पुर्याउनुका साथै घर तथा मैदान जलमग्न बनाएको बीबीसीले जनाएको छ । उद्धारकर्ताहरू हिलोको दलदलमा हिँडिरहेको र जलमग्न घरहरू भएको क्षेत्रहरूमा पुग्न प्रयास गरिरहेको तस्बिर सामाजिक सञ्जालहरूमा सेयर गरिएका छन् ।
बाढीपहिरोबाट लेटे प्रान्त सबैभन्दा बढी प्रभावित रहेको जनाइएको छ । सो प्रान्तमा अहिलेसम्म २२ शव फेला परेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
‘म रोइरहेको थिए, किनकी त्यहाँ मैले चिनेका मानिसहरू पुरिएका छन् र हाम्रो घर छेउमा पनि पहाड रहेकाले मलाई डर लागेको थियो’, लेटेका एक स्थानीयले समाचार संस्था एएफपीलाई भने ।
लेटेमा २२ जनाबाहेक फिलिपिन्सको दक्षिणमा रहेको डभाओ क्षेत्रमा कम्तीमा तीन जनाको मृत्यु भएको राष्ट्रिय विपद् निकायले जनाएको छ ।
श्रीलंकाले विदेशी ऋण नतिर्ने
चरम आर्थिक संकट र अत्यावश्यक सामानको अभाव खेपिरहेको श्रीलंकाले विदेशी ऋण नतिर्ने घोषणा गरेको छ ।
श्रीलंकाबाट प्रकाशित हुने डेली मिरर अखबारको अनलाइन संस्करणले जनाएअनुसार त्यहाँको अर्थमन्त्रालयले विदेशी ऋण तिर्न नसकिने जानकारी दिएको हो । अर्थमन्त्रालयले विदेशी सरकारसहितका ऋणदाताहरूले श्रीलंकाली रुपैयाँमा भुक्तानी स्वीकार गर्न सक्ने समेत जनाएको छ ।
‘ऋण तिर्न निकै चुनातिपूर्ण र असम्भव हुँदै गएको अवस्था छ ।’ श्रीलंकाली राष्ट्रबैंकका गभर्नर पी नन्दलाल विरसिंघेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । ‘हामीले वाह्य ऋण तिर्न भन्दा पनि अत्यावश्यक वस्तुको आयातमा ध्यान दिनुपर्नेछ ।’ उनले भने ।
हाल श्रीलंकामा विदेशी मुद्राको चरम अभाव रहेको जनाइएको छ । समाचार संस्था रोयटर्सका अनुसार श्रीलंकामा मार्च महिनाको अन्त्यसम्म विदेशी मुद्राको सञ्चिती १ अर्ब ९३ करोड डलर बराबर छ भने श्रीलंकाले यो वर्षमात्र ४ अर्ब ऋण तिर्नुपर्ने छ ।
श्रीलंकाले ऋण कार्यक्रमका विषयमा अन्तर्राष्ट्रिय मुद्राकोष आईएमएफसँग आगामी साता छलफल गर्ने जनाइएको छ ।
श्रीलंकामा औषधिको चरम आभाव, भयानक अवस्था आउने चिकित्सकको चेतावनी
लोडसेडिङ र जीवन बचाउने औषधिको चरम अभावका कारण श्रीलंकामा ठूलो संख्यामा मानिसहरूको मृत्यु हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ।
श्रीलंकाली चिकित्सकहरूको समूह श्रीलंका मेडिकल एसोसिएसन (एसएलएमए) ले श्रीलंकाका हरेक अस्पतालमा आयातित स्वास्थ्य एवम् शल्यक्रिया सामग्रीको चरम अभाव रहेको जनाएको हो ।
त्यहाँ हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न प्रयोग हुने ट्युबहरूको देशव्यापी अभाव रहेको जनाइएको छ ।
एसएलएमएलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएअनुसार स्वास्थ्य सामग्रीको चरम अभावका कारण केही स्वास्थ्य संस्थाहरूले गत महिना देखि नै नियमित शल्यक्रिया स्थगित गरेका छन् ।
लोडसेडिङले श्रीलंकाको ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई बिरामीको घाउमा टाँका लगाउन समस्या हुनुका साथै अँध्यारोमा सर्पदंशको उपचार गर्न बाध्य बनाएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।
त्यहाँ प्रयोगशाला परीक्षणमा पनि कमी आएको छ । औषधि र स्वास्थ्य सामाग्री अभावको विरोधमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरू सडकमा उत्रिन थालेका छन् भने कतिपयले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामाको माग गर्दै सडकमा भइरहेका आन्दोलनलाई समर्थन गरेको जनाइएको छ ।
‘श्रीलंकाका सबै अस्पतालहरू ध्वस्त हुने अवस्थामा छन्’, सरकारी मेडिकल अफिसर्स एसोसिएसनका सचिव डा. सेनल फर्नान्डोलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ, ‘अबको दुई हप्तामा अवस्था बिग्रन्छ र अहिले नै काम नगरे मानिस मर्न थाल्छन् ।’
औषधि अभावकै कारण बिरामीको मृत्युले ‘अस्पतालहरूमा दंगा’ हुन सक्ने उनले चेतावनी दिएका छन् । सरकार सङ्कटप्रति गम्भीर हुन र पारदर्शी बन्न असफल भएको उनले बताए ।
रुसमाथि युक्रेनमा रासायनिक हतियार प्रयोग गरेको आरोप
युक्रेनमा सैनिक आक्रमणलाई जारी राखेको रुसमाथि रासायनिक हतियार प्रयोग गरेको आरोप लागेको छ । युक्रेनकी उप रक्षामन्त्री हाना मलायरले चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा रुसले रासायनिक हतियार प्रयोग गरेको विषयमा जाँचबुझ अघि बढाइएको बताएकी हुन् ।
‘फस्फोरसबाट आक्रमण भएको हुनसक्ने सम्भावना छ ।’ मलायरलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । उनले रुसी फौजबाट भएको भनिएको रासायनिक आक्रमणको अपुष्ट दाबीको युक्रेन सरकारले जाँच गरिरहेको जानकारी दिइन् ।
यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने बताएका थिए ।
रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरको एजोभ्स्टल औद्योगिक क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच भीषण लडाई भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यता युक्रेनका साझेदारहरू अमेरिका र बेलायत रासायनिक हतियार प्रयोग भएको भन्ने विवरणको पुष्टि गर्ने प्रयासमा रहेको रोयटर्सले जनाएको छ ।
रासायनिक हतियारबारे सन् १९९७ को अभिसन्धिअनुसार रासायनिक हतियारको उत्पादन, प्रयोग र भण्डारण गर्न बन्देज छ । यद्यपि रुसले मारिउपोलमा प्रयोग गरेको भनिएको सेतो फस्फोरस भने यो अभिसन्धिले प्रतिबन्ध लगाएका रासायनिक हतियारको सूचीमा समावेश छैन ।
यसबारे रुसी रक्षा मन्त्रालयबाट कुनै टिप्पणी नआएको जनाइएको छ । यद्यपि रुसको इन्टरफ्याक्स समाचार संस्थाका अनुसार पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी समूहले भने कुनै किसिमको रासायनिक हतियार प्रयोग नगरेको दाबी गरेका छन् ।
नोकियाले पनि रुसमा व्यापार बन्द गर्ने
फिनल्याण्डको टेलिकम सामग्री निर्माता कम्पनी नोकियाले पनि रुसमा आफ्नो व्यापार बन्द गर्ने घोषणा गरेको छ ।
नोकियाका प्रमुख कार्यकारी पेक्का लण्डमार्कलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार कम्पनीले रुसी बजारबाट बाहिरिने निर्णय लिएको छ ।
‘वर्तमान अवस्थामा त्यस देशमा निरन्तरता दिन हामीले कुनै सम्भावना देखेका छैनौँ ।’ लण्डमार्कलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
उनका अनुसार रुसी बजारबाट बाहिरिएपनि आफ्ना ग्राहकहरूलाई नोकियाले सेवा भने प्रदान गरिरहनेछ । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सयौँ विदेशी कम्पनीले रुसी बजारमा व्यापार बन्द गरेका बेला नोकियाले यस्तो निर्णय गरेको हो ।
यसअघि गत नोभेम्बर महिनामा नोकियाले रुसको याडरो समूहसँग मिलेर त्यहाँ फोरजी र फाइभजीका लागि आधार केन्द्र बनाउने घोषणा गरेको थियो । रोयटर्सका अनुसार नोकियाले यस परियोजनाबाट पनि हात झिकेको छ ।
रुसबाट बाहिरिने नोकियाको घोषणाले २ हजार कामदार प्रभावित हुने जनाइएको छ । यद्यपि प्रमुख कार्यकारी लण्डमार्कले यिमध्ये केहीलाई विश्वका अरु ठाउँमा पनि कामको अवसर दिइने छ ।
आफ्ना नागरिकलाई रुसले नियन्त्रणमा लिएको युक्रेनी दाबी
युक्रेनले केही मानिसहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनले दाबी गरेको छ । रुसले सर्वसाधारण नागरिक, पत्रकार, कार्यकर्ता र निर्वाचित अधिकारीहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेसचुकले बताइन् ।
‘धेरै पादरीहरू, पत्रकारहरू, कार्यकर्ताहरू, मेयरहरू, र सामान्य नागरिकहरू नियन्त्रणमा छन् । उनीहरू युक्रेनको भूभागमा मात्र होइन कुर्स्क, ब्रायनस्क, रोस्तोभजस्ता रुसी भूभागमा जबरजस्ती राखिएको छ’, भेरेश्चुकले भनिन् ।
युक्रेन हमलामा सर्वसाधारण नागरिकलाई निशाना नबनाएको रुसले बारम्बार दाबी गर्दै आएको छ । तर, ती दाबीमा कुनै सत्यता नभएको युक्रेनले बताउँदै आएको छ । पछिल्लो समयमा रुसले पूर्वी युक्रेनलाई निशाना बनाएको छ । पूर्वीयुक्रेनको दोनबासलगायतका क्षेत्रमा आक्रमण गरेपछि त्यहाँबाट ठुलो संख्यामा सर्वसाधारण पलायन भएका छन् ।
युक्रेनमा भएका महिला हिंसाको छानबिन गर्न संयुक्त राष्ट्रसंघको आह्वान
राष्ट्रसंघले युक्रेनमा महिलाविरुद्ध भइरहेका हिंसा छानबिन गर्न आह्वान गरेको छ । युक्रेनमा रुसी हिंसा रोक्न तथा बालबालिकाहरुको रक्षा गर्न राष्ट्रसंघका उच्च अधिकारीहरूले आह्वान गरेका हुन्।
‘यो युद्ध अब रोकिनुपर्छ’ लैंगिक समानता र महिला सशक्तिकरणका लागि राष्ट्रसंघकी निर्देशक सिमा बाहोउसले सुरक्षा परिषद्को बैठकमा भनिन् ।
युक्रेनमा रुसी सेनाले महिलालाई बलात्कार गरेका विवरणहरू सार्वजनिक भइरहेका बेला राष्ट्रसंघले महिलाहिंसा छानबिनका लागि आह्वान गरेको हो । केही साताअघि एक रुसी सेनाले युक्रेनी पुरुषको हत्या गरेर उनकी श्रीमतीलाई बलात्कार गरेको समाचार सार्वजनिक भएको थियो ।
‘हामीले बलात्कार र यौन हिंसाका घटनाहरू बढ्दो रूपमा सुनिरहेका छौँ । न्याय र जबाफदेहिता सुनिश्चित गर्न यी आरोपहरूको स्वतन्त्र रूपमा छानबिन हुनुपर्छ’, उनले भनिन् ।
युक्रेनी नागरिकलाई रुसी सेनाले पाशविक व्यवहार गरेको हालै युद्धग्रस्त क्षेत्रको यात्रा गरेर फर्किएकी बाहौसले बताइन् । युद्धमा भएका हिंसा र गैर नागरिकको हत्या छानबिन गर्न रुस सहमत हुन्छ वा हुँदैन भन्नेबारेमा प्रष्ट भइसकेको छैन ।
रुसले सोमबार सुरक्षा परिषद्का सदस्यहरूले लगाएका आरोपहरू फेरि अस्वीकार गरेको छ । रुसी हमलाको जोखिममा सबैभन्दा बढी बालबालिका र महिलाहरू परेको राष्ट्रसंघीय बाल कोष यूनिसेफले जनाएको छ । युद्धका कारण लाखौँ बालबालिकाहरू युक्रेनबाट आन्तरिक र बाह्य रूपमा विस्थापित भएका छन् ।
त्यस्तै, लाखौँ बालबालिका पर्याप्त खानाबाट वञ्चित भएको पनि यूनिसेफको भनाइ छ ।
नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्रीलाई मोदीको बधाई
नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत् मोदीले पाकिस्तानको नयाँ प्रधानमन्त्री बनेकोमा शहबाजलाई बधाई दिएका हुन् ।
उनले भारतले यस क्षेत्रमा आतंक रहित शान्ति र स्थायित्व चाहेको बताउँदै यसले विकासका चुनौतीमा ध्यान केन्द्रित गर्न र जनतालाई सुख समृद्धिको प्रत्याभूत गर्न मद्दत पुग्ने टिप्पणी गरेका छन् ।
‘म महामहिम मियाँ मुहम्मद शहबाज शरिफलाई पाकिस्तानको नयाँ प्रधानमन्त्री निर्वाचित भएकोमा बधाइ दिन चाहन्छु ।’ उनको ट्विटमा उल्लेख छ, ‘भारतले यस क्षेत्रमा आतंक रहित शान्ति र स्थायित्व चाहेको छ ता कि हामी हाम्रा विकासको चुनौतीमा ध्यान केन्द्रित गर्न सकौँ र हाम्रा जनताको सुख र समृद्धि प्रत्याभूत होस् ।’
रुसबाट तेलको आपूर्ति बढाउँदा भारतको हित हुँदैन – अमेरिका
रुसबाट तेलको आपूर्ति बढाउँदा भारतको हित नहुने अमेरिकाले टिप्पणी गरेको छ । दुई मुलुकका सरकार प्रमुखबीच भएको संवादका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसी तेलको आपूर्ति परिमाण बढाउनु भारतको हितमा नभएको बताएका हुन् ।
राष्ट्रपति बाइडेनले रुसबाट तेलको आपूर्ति कटौती गरेको खण्डमा उर्जा विविधीकरणका लागि भारतलाई सहयोग गर्न अमेरिका तयार रहेको समेत आश्वासन दिएको ह्वाइट हाउसले जनाएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले सोमबार यसबारे जानकारी दिँदै भनिन्– ‘तेल आयातको माध्यमको विविधीकरण गर्नका लागि सहयोग गर्न हामी तयार छौँ भनेर राष्ट्रपतिले सन्देश दिनु भएको छ ।’
अमेरिकाबाट भारततर्फ हुने आयात अहिले पनि उल्लेखनीय छ, रुसबाट हुने आयात भन्दा निकै धेरै ।’ उनले भनिन्, ‘यो बढाउनु भारतको हितमा नरहेको राष्ट्रपतिले टिप्पणी गर्नुभएको छ ।’
अमेरिकाले भारतलाई रुसी अर्थतन्त्रमा थप दबाब बढाउनका लागि रुसबाट आयात घटाएर सहयोग गर्न आग्रह गर्दै आएको छ ।
प्रतिक्रिया