सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक | Khabarhub Khabarhub

सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको पात्रो आज मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव महेश्वर न्यौपानेलगायतले सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा सचिव न्यौपानेले विज्ञानसम्मत् गणनालाई संस्थागत गर्ने ऋषि परम्परालाई पुनर्जागरण गरिनुपर्ने बताए ।

“राष्ट्रिय–पञ्चाङ्गलाई मोबाइल एप्लिकेसन बनाएर हत्केलामा पुर्‍याउनुपर्छ, प्रविधिसँग जोडियो भने यो विधा सर्वस्वीकृत हुन्छ, प्रत्येक दिन हुने सूर्योदय र सूर्यास्तको गणना गर्ने ज्योतिष शास्त्रीय विधि विज्ञानसम्मत छ, सबै धर्मावलम्बीका लागि ग्रह गणना गर्ने विधि एकै हो”, उनले भने ।

सहकारी, संस्थागत विद्यालयलगायत विभिन्न सङ्घसंस्थाले निकाल्ने भित्तेपात्रोलाई स्वीकृति दिई नियमन गर्ने कामको जिम्मेवारी पनि समितिलाई दिएको सचिव न्यौपानेले जनाए ।

भित्तेपात्रोमा तिथिमिति, चाडपर्व, बिदालगायत विषयमा फरक परेर समाजमा भ्रम सिर्जना हुन थालेकाले यस क्षेत्रको नियमन गर्न सरकारले समितिको गठन आदेश स्वीकृत गरी यस्तो जिम्मेवारी दिएको हो ।

पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो र भित्तेपात्रो मात्र प्रयोग गर्न पनि उनले आम जनतामा आह्वान गरे ।

यससम्बन्धी जागरण फैल्याउनुपर्नेमा मन्त्रालयको जोड छ । समितिको स्वीकृति नलिएको पात्रो र भित्तेपात्रो जफत गरी त्यो सूचना सार्वजनिक गर्न पनि मन्त्रालयले समितिलाई निर्देशन दिएको छ ।

अर्को वर्षदेखि राष्ट्रिय–पञ्चाङ्ग फागुनमै प्रकाशन गर्न, गोजी पात्रो, भित्तेपात्रो पनि प्रकाशन गर्न, वर्षमा एकपटक पण्डित एवं ज्योतिषिको सम्मेलन गर्न पनि सचिव न्यौपानेले समितिलाई निर्देशन दिए ।

धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले पञ्चाङ्ग ब्रह्मवाक्य भएकाले यसको अभावमा राज्य अन्धकार हुने बताए ।

सबै कुराको निर्देश पञ्चाङ्गले गर्ने भएकाले यसको उपयोगिताका विषयमा सबै जानकार हुनुपर्ने उनको भनाइ छ।

पञ्चाङ्गमा राखिएका ग्रहगतिलगायत विषय आकाशीय ग्रहसँग मिलेको छ कि छैन भनी अध्ययन अनुसन्धानको व्यवस्था गर्न धर्मशास्त्रविद् गौतमले सरकारसँग माग गरे ।

आफ्नो नौवर्षे कार्यकालमा मन्त्री, सचिवलगायत उच्च अधिकारीलाई पटकपटक भन्दा पनि कार्यान्वयन नभएको विषयले अहिले साकार रूप लिँदा खुसी लागेको उनको भनाइ थियो ।

समितिका सदस्य एवं नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईले कर्मकाण्ड, ज्योतिष र पुराण वाचनलाई व्यवस्थित गर्न मन्त्रालयले ध्यान दिनुपर्ने बताए । धर्म, संस्कृतिका विषयमा विश्वलाई बाटो देखाउने काम नेपालको भएकाले त्यसअनुरूप नेपालले पहिले काम गरेर देखाउनुपर्नेमा उनको जोड थियो ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ ज्योतिषशास्त्र विभागका प्रा. डा. माधवप्रसाद पाण्डेयले सरकारले पञ्चाङ्ग प्रकाशन गरेको आजको दिन ऐतिहासिक बनेको उल्लेख गर्दै पात्रोमा प्रयोग भएको ग्रहगति र आकाशीय ग्रहगतिका विषयमा अध्ययन अनुसन्धानको व्यवस्था गर्न माग गरे ।

समितिलाई अनुसन्धान केन्द्रका रूपमा विकास गरिनुपर्ने उनले बताए ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले व्यक्तिगत तवरबाट प्रकाशन भएको पात्रोका आधारमा राज्यले काम गर्नुपर्ने समयको अन्त्य भएको बताए ।

विक्रम सम्वत् २०२५ मा स्थापना भएको समितिको गठन आदेश गत वर्ष स्वीकृत भएको उल्लेख गर्दै कार्यकारी निर्देशक ढुङ्गेलले जनशक्तिको अभावका कारण काम गर्न कठिनाइ भएको सुनाए ।

देशभर ५० देखि ७० हजार भित्तेपात्रो प्रकाशन गर्न ठूलो धनराशि खर्च हुने उल्लेख गर्दै उनले यसलाई समितिले व्यवस्थित गर्न लागिपरेको बताए ।

कार्यक्रममा विश्व ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेलले समितिले धर्म, संस्कृति क्षेत्रलाई नियमन गर्नुपर्ने बताए ।

महिला ज्योतिष सङ्घकी अध्यक्ष रतिदेवी जोशी श्रेष्ठले समितिको गठन आदेश जारी हुनुअघि ११ सदस्यीय समिति रहेकामा हाल घटाएर सात जनामा सीमित गरिनु उपयुक्त नभएको बताइन् ।

समितिमा जनजातिको पनि प्रतिनिधित्व हुनुपर्ने उनको माग छ ।

बजारमा निस्कने अन्य पात्रोभन्दा ठूलो आकारको अक्षर ठूला भएको यो पात्रो हेर्न सहज हुनेछ । आकर्षक कागजमा ६० पृष्ठमा छापिएको पात्रोको मूल्य व्यक्तिगत १५० र संस्थागत ५०० तोकिएको छ । पञ्चाङ्गको सम्पादक मण्डलमा समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, मन्त्रालयका संस्कृति शाखा प्रमुख उपसचिव पुण्यमाया गुरागाईं, कार्यकारी निर्देशक ज्योतिष पण्डित ढुङ्गेल र उपप्राध्यापक डा. पुरुषोत्तम भट्टराई रहेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  १० : ५५ बजे

गण्डकीको बजेटमा माओवादीको आपत्ति

पोखरा– प्रमुख प्रतिपक्षी दल माओवादीको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक

कोशी प्रदेशसभाबाट विनियोजन विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको

सञ्चालनमा आयो ग्वार्को ओभरपास, सवारी जाम घट्ने

काठमाडौं– ललितपुरको ग्वार्कोमा ३९ महिना लगाएर निर्माण गरिएको ओभरपास शुक्रबारदेखि

‘माग्ने बुढा’ले एकै फिल्मबाट लिए ६१ लाख पारिश्रमिक !

काठमाडौं – अहिले अनमोल केसी र प्रदीप खड्काले लिने पारश्रिमकको

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ : डेपुटी गभर्नर मिश्र

काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक