दाँत समग्र स्वास्थ्यका लागि अभिन्न अंग हो। स्वास्थ्यसँग दाँतको गहिरो सम्बन्ध छ। दाँत बलियो भयो भने हाम्रो पाचन प्रकृयालाई पनि धेरै फाइदा पुग्ने गर्दछ । मानव शरीरमा अन्य भाग जस्तै मुखमा पनि अनगिन्ती ब्याक्टेरिया हुन सक्छ । जुन प्राय हानिकारक हुँदैनन् । तापनि, यसले हाम्रो सामान्य स्वास्थ्यलाई असर गर्न सक्छ । दन्तचिकित्सामा आधारित अनुशन्धानको तथ्याङ्कअनुसार ओरल इन्सफेक्सन अर्थात मुख भित्र विभिन्न हुने अस्वास्थ्य परिस्थिति जस्तै दन्त हर्षाले मधुमेह, मुटुजन्य रोगसहित गर्भवती अवस्थामा प्रिम्याचुअर डेलिभरी हुन सक्छ । साथै दन्त हर्षा जस्ता समस्याका कारण ब्यस्कहरुमा दाँत झर्ने समस्या अत्याधिक देखिएको छ । यस्तै समस्याले गर्दा कृतिम दाँत राख्नुपर्ने अवस्था बढ्दै गएको छ ।
दाँत चोइटिने झर्ने समस्या किन हुन्छ ?
हाम्रो दाँतहरूमा ३ वटा लेयर हुने गर्दछ । बाहिरि भागलाई इनामेल भनिन्छ । मध्य भागलाई डेन्टिन र भित्री भागलाई पल्प अथवा नसा भनिन्छ । हाम्रो दाँतको बनावट मिलेर बनेको हुँदैन । जस्तै मोलार दाँतहरूमा डिप फिसरका कारण इन्टरडेन्टल ग्यापहरूमा खाना अड्किन सक्छ । यदि कुनै कारणले गर्दा अडकिएको फोहोरहरू सफा गर्दा पनि नगएर त्यही बस्यो भने हाम्रो मुखमा भएको ब्याक्टेरियाहरूले त्यो खानाको सहाराले एसिड निकाल्छ । जसले गर्दा हाम्रो दाँतको सतह कमजोर भएर टुक्रिने समस्या आँउछ ।
अरु कारणहरूमा जस्तै इनामेल हाइपोप्लासिय साथै ट्रमा, धेरै दाँत किड्ने बानी भए, कडा खानेकुरा, खेलकुदमा लागेको चोट आदिका कारण पनि दाँत चोइटिने समस्या देखा पर्दछ ।
कृतिम दाँत राख्नुपर्ने अवस्था कसरी आउँछ ?
धेरै मान्छेमा एउटा दाँत नभए पनि केही हुँदैन भन्ने धारणा हुन्छ र बचाउन मिल्ने दाँतलाई पनि निकाल्न जिद्दी गर्दछन् । यसो गर्नाले हाम्रो पङ्क्ति मिलेर बाँकी दाँतहरू आफ्नो स्थानबाट खाली स्थानतर्फ सर्ने गर्दछ र विपरित आर्कमा रहेका दाँतहरू बढ्न थाल्छ । यो समय लाग्ने कुरा हो तर पनि अहिले सम्मको अनुभवमा प्रमुख कारण भनेको जानी नजानी आफ्नो दाँतप्रति बेवास्ता गरेको नै देखिन्छ । दोस्रो भने ट्रमाका कारण पनि दाँत झर्न सक्दछ र कृतिम दाँत राख्नु पर्ने अवस्था आउन सक्छ । साथै आरसीटी गरेको दाँत छ, कुनै डिसअर्डर भएको खण्डमा वा अन्य कुनै कारणले प्राकृति दाँतको अभावमा कृतिम दाँत भरपर्दो विकल्प बन्न सक्छ ।
कृतिम दाँतका प्रकार
कृतिम दाँतका चार वटा ब्रान्च हुन्छन्। सबै ब्रान्च मुख तथा जबडाको विभिन्न पाटोमा उपचारका लागि केन्द्रित हुन्छ । पहिलो ब्रान्च हो फिक्स्ड प्रोस्टोडोन्टिक्स । यो भनेको स्थाई हुन्छ । एक पटक लगाइसकेपछि फेरि निकाल्न सकिँदैन । यसअन्तर्गत दाँतको क्राउन, ब्रिज, ओन्लेज, इनलेज र भेनिर्स भागहरू पर्दछन् र यसको सहायताले जीर्ण दाँतका भागहरूलाई पुनर्स्थापित गरिन्छ । जस्तैः यदि हामीले आरसीटी गरेका छौं, कुनै कारणले गर्दा दाँतको आदि भागमा क्षति भएको छ, यदि दाँत विस्थापित भएको छ, सानासाना छिद्र छन् आदि समस्याका लागि यो विधिको प्रयोग गर्न उचित हुने गर्दछ ।
अर्को हो रिमुभेबल प्रोस्टोडोन्टिक्स । यसलाई बिरामी आफैले निकाल्न वा राख्न सक्छन् । यो दुई प्रकारको हुने गर्दछ । यो टिस्यु–सपोर्टेड वा टुथ– सपोर्टेड हुनसक्छ । यसलाई आफैले पनि निकालेर गर्न सफा सकिन्छ । तेस्रो प्रकार हो इम्प्लान्ट प्रोस्टोडोन्टिक्स । समान्य भाषामा भन्नु पर्दा यो भनेको ड्रिल गरेर जरा रोपिने प्रक्रिया हो । जुनमा प्राय टाइटेनियम नामक धातुको बढि प्रयोग हुने गरेको छ । यसमा दुईवटा चरण हुन्छन् । सर्जिकल र प्रोस्थेटिक ।
चौथो प्रकार भनेको म्याक्जिलोफेसियल प्रोस्टोडोन्टिक्स हो । यस ब्रान्चअन्तर्गत यदि कन्जिनाइटल वा जन्मजात बिरामी वा चोटले गर्दा कुनै पनि भाग छुटेको छ भने बोल्ने, निल्ने, चपाउने आदि जस्ता समस्याहरूको समाधान गरिन्छ । यो इन्ट्रा–ओरल वा एक्सट्रा–ओरल दुवै हुन सक्छ । यो विशेषगरी क्लेफ्ट प्यालेट वा क्यान्सरको उपचारको क्रममा बढि प्रयोग गरिन्छ । कुनै पनि किसिमको ट्रमाका कारण उत्पन्न समस्या छ भने विभिन्न माध्यम अपनाएर यो सबै कुराको उपचार गर्न सकिन्छ ।
यो दाँत राख्नको लागि आवश्यक पर्ने समय
यदि कम्पिल्ट डेन्चर अथवा पुरै दाँत राख्नु परेमा १५ देखि १ महिना समय लाग्न सक्छ । एक वा दूईवटा राख्नु परेमा बढिमा २ हप्ता लाग्ने गर्दछ । सोहि अवस्थामा ट्रायल गर्नु परेमा भने १० दिनसम्म लाग्न सक्छ । इम्प्लान्टको लागि भने बढिमा ६ महिना लाग्न सक्छ । तर, कुनै बेला परिस्थिति अनुरुप ६ महिना बढि पनि लाग्न सक्छ । म्याक्जिलोफेसियलअन्तर्गत भने विस्थापित दाँतको स्थानअनुरुप समय लाग्ने गर्दछ । किनकि जतिजति मासु र बेसमा बदलाव आउँछ, त्यहिअनुरुप हामीले त्यसलाई मिलाउँदै लैजानु पर्ने हुन्छ ।
डेन्टल क्राउन, ब्रिज, ओन्लेज, इनलेज र भेनिर्स मिलाउँदा भने एक हप्ता लाग्ने गर्दछ । यदि फुल–माउथ रिह्याबिलिटेसन गरेको छ भने धरै फलोअप लाग्छ । १ देखि डेढ वर्ष पनि लाग्न सक्छ । यसको मतलब यो होइन कि दिनदिनै आउनु पर्छ । फलोअपका लागि डेन्टल सर्जेनहरुले उपयुक्त समय मिलाएर अपौन्टमेन्ट फिक्स गर्ने गर्दछन् ।
कृतिम दाँतलाई कसरी सुरक्षित गर्न सकिन्छ ?
नियमित रूपले कुल्ला गर्ने । मनतातो पानीमा नुन राखेर पनि कुल्ला गर्न सकिन्छ । यो अति नै फाइदाजनक हुन्छ । दाँतको अन्तरमा फसेका फोहोरीहरू जुन समान्य ब्रसले सफ गर्न सकिँदैन त्यसलाई डेन्टल फल्सको साहयताले निकाल्न सकिन्छ । जस्तै भएपनि यो मेरो कृतिम दाँत हो प्राकृतिक जस्तो बलियो हुँदैन भन्ने सोच हुनु आवश्यक हुन्छ । यति भयो भने कडा खाने कुरा खाने जस्ता लापरवाही कम हुन्छ । मदिराजन्य तथा सुर्तीजन्य पदार्थहरूको सेवन नगर्नु दन्त्य स्वास्थ्यका लागि फाइदाजनक हुने गर्दछ ।
कृतिम दाँतको मूल्य
कृतिम दाँतको मूल्य मुख्यतः ३ कुराले निर्धारण गर्दछ ।
१. को बाट गरिदै छ – इन्टर्न, बि.डी.एस वा एम.डी.एस । सबैको काम एकै भएतापनि मूल्यमा फरक पर्न सक्छ र अनुभवको आधारमा पनि मूल्यमा फरक पर्ने गर्दछ ।
२. बजारमा अनेकौं सामाग्रीहरू उपलब्ध छन् । आफ्नो दाँतको लागि आफूले कस्तो किसिमको सामाग्री प्रयोग गर्ने त्यो रोज्न सकिन्छ । यसले पनि मूल्यमा फरक पार्ने गर्दछ ।
३. कुन ल्याबमा बनाउन दिने हो । अनुभवी ल्याबलाई दिने कि सुरुवाती ल्याबलाई दिने हो । यसले पनि मूल्यमा फरक ल्याउँछ ।
यी बुँदाहरूलाई ध्यान दिँदा, अस्पताल वा चिकित्सकको सलाह र नियम बमोजिम, कृतिम दाँतको गुणस्तर अनुरूप मूल्य निर्धारण हुने गर्दछ ।
कृतिम दाँत राख्नेले के कुरामा ध्यान दिनुपर्छ ?
कृतिम दाँत राखिसकेपछि विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ। नरम ब्रसको प्रयोग गर्ने । दाँतमा घर्षण उत्पन्न गर्ने सामग्रीको कम प्रयोग गर्ने । फल्स दिनहुँ गर्ने । दाँतमा टाँसिने र कडा खानेकुराहरू नखाने । प्रोस्थेसिसको दीर्घायुको लागि फलोअप गर्न अत्यन्त आवश्यक पर्दछ । कृतिम दाँत राख्नुका फाइदा
सुरुसुरुमा दाँत खोल्दा असर नदेखिए पनि, एक चोटी एउटा दाँतलाई निकाल्नु भनेको पुरा मुखको पङ्तिलाई नै बिर्गानु हो। दाँत नभएको बेफाइदा आजको भोलि नै थाहा भएपनि आजभन्दा धेरैपश्चात थाहा पाइन्छ । यदि तपाइएको प्राकृतिक दाँत नभए कृतिम दाँत आवश्यकता नै बन्दछ । बोली प्रस्ट गर्न पनि सहयोग गर्दछ । प्राकृतिक लयमा जिब्रोलाई काम गर्न कृतिम दाँतले मद्दत गर्दछ ।
यदि बुद्धि बंगराबाहेक अन्य दाँत नभएको खण्डमा खाली ठाँउमा कृतिम दाँत राख्नु उपयुक्त हुन्छ । किनभने उमेरअनुसार दाँत आफ्नो स्थानबाट सर्दै जाने गर्छन् । कुनै दाँत नभएको खण्डमा दाँतहरू अत्याधिक रूपले आफ्नो स्थानबाट सर्न सक्छन् । तर, यस्तो हुनबाट रोक्न खाली ठाँउमा कृतिम दाँत राखेमा यसले दाँतलाई टम्म रुपमा यथावत राख्न पनि सहयोग गर्दछ ।
कृतिम दाँतले सहज रुपमा चपाउन सहयोग गर्ने हुँदा पाचनप्रणालीलाई मद्दत पुगने गर्छ । साथै आफ्नो दाँतलाई पङ्क्तिमा राख्दा मिलाएर सुपराइरप्ट हुनबाट जोगाउन सकिन्छ । समग्रमा भन्नु पर्दा प्रोस्टोडोन्टिस्टको उद्देश्य भनेको नै प्राकृतिक दाँतको पुननिर्माणमा टेवा पुर्याउने हो । समग्र रुपमा प्राकृतिक दाँतको अत्याधिक क्षति भएको अवस्थामा भने कृतिम दाँतलाई विकल्पको रुपमा लिन सकिन्छ । कृतिम दाँतको राम्रो हेरचाहले यसले प्राकृतिक दाँतको अभावलाई पूर्ति गर्न सक्छ ।
( दन्त विशेषज्ञ ( प्रोस्टोडोन्टिस्ट ) डा.सुनिता कार्कीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया