बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन्। पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन्। बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. चीनका नेता ली आज नेपाल आउँदै 
चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली झान्सु औपचारिक भ्रमणका क्रममा आज नेपाल आउँदै छन्। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली चार दिने नेपाल भ्रमणको सिलसिलामा आज आज अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। सभामुख सापकोटा र अध्यक्ष लीले आजै प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्नेछन्। सभामुख सापकोटाले अध्यक्ष ली र उहाँको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा आज साँझ रात्रि भोजको आयोजना गरेका छन्।

२. गृहमन्त्री, कानुनमन्त्रीले भेटे प्रचण्डलाई
गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। आज बिहान प्रचण्डनिवास खुमलटार पुगेर गृहमन्त्री खाण र कानुनमन्त्री कोइरालाले भेटवार्ता गरेका हुन्। भेटमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन,संसदमा प्रक्रियामा रहेका विधेयकका विषयमा छलफल भएको छ। प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा दुई मन्त्रीले प्रचण्डसँग छलफल गरेका हुन्।

३. एमाले अध्यक्ष ओली आज जनकपर जाँदै 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज जनकपुर जाँदै छन्। एमाले पार्टी प्रवेश कार्यक्रमका लागि ओली बिहान ११ बजे जनकपुर जान लागेको सचिव रघुवीर महासेठले जानकारी दिए। नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहित अन्य नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गर्न लागेको जनाइएको छ। पार्टी प्रवेशलगायतका कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको छ।

४. कमल थापाको आपत्ति 
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विवाह गरेर आएको भोलिपल्टै विदेशीलाई नागरिकता दिने प्रावधानको विधेयक तत्काल लागू गर्न माग गर्दै युवा सडकमा उत्रिएको भन्दै आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले युवाहरू स्वार्थको गोटी बन्न खोजेको टिप्पणी गरे। सो विधेयक तत्काल लागु गर्न सडकमा केही युवा समूह उत्रिएको देख्दा उदेक लागेको उनले बताएका छन्। जन्मसिद्ध नागरिकका सन्तानले सहजरूपमा नागरिकता पाउनुपर्नेमा उनले जोड दिएका छन्। राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेको भन्दै नेविसंघका कार्यकर्ताले  हिजो घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेका थिए।

५. १० वटा निर्माण कम्पनी कालोसुचीमा 
सार्वजनिक खरिद अनुगमन कार्यालयले काम अलपत्र पार्ने १० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। अनुगमन कार्यालयले आज एक सूचना प्रकाशन गर्दै कालोसूचीमा पर्ने १० वटा कम्पनी र ठेकेदारको नाम सार्वजनिक गरेको हो। विभिन्न सरकारी सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम मन्त्रीपरिषद् कार्यालयको २०७९ भदौ २६ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा  ६३ को उपदफा १ बमोजिम डेढ वर्षसम्मका लागि कालो सुचीमा  राखेको कार्यालयले जनाएको छ। कालोसूचीमा पर्नेमा देवेन्द्र तेल उद्योग, धर्यता निर्माण कम्पनी प्रालि र किसन रक्तकाली पावर क्वालिटी जेभि, रोज कन्स्ट्रक्सन लगायत रहेका छन्। सो अवधिभर यी कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैन।

६. अभियुक्त २ वर्षपछि पक्राउ 
रौतहटको माधव नारायण नगरपालिकामा पुजारीको हत्यामा संलग्न भएको आरोप लागेका एक अभियुक्तलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ। माधव नारायण–२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहको हत्यामा संलग्न भई फरार रहेका अभियुक्त देवाही गोनाही नगरपालिका–१ करुणिया घर भएका शेख बिकाउलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  २०७७ भदौ ३ गते  पुजारी साहको हत्यामा संलग्न भई उनी फरार रहेका थिए। आपसी विवादमा उनले पुजारी साहलाई कन्चटमा गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरले जानकारी दिए। हत्यापछि लुकिछिपी बस्दै आएका आरोपीलाई आफ्नो घर आएको मौकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी रौतहट प्रहरीले लागू औषध मुद्दाका फरार अभियुक्त यमुनामाई गाउँपालिका ४ का ४० वर्षीय रामनरेश साह कानुलाई पनि पक्राउ गरेको छ।

७. युक्रेनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रुपमा बन्द
युक्रेनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रुपमा बन्द भएको छ। युद्धग्रस्त पूर्वी युरोपका अधिकांश भागमा बिजुलीको आपूर्ति बन्द हुँदा अन्धकार भएको हो। यसबाट डोनेत्स्क क्षेत्रका ९० लाख मानिसको जनजीवन प्रभावित भएको जनाइएको छ। त्यस्तै जापोरिजिया र खार्किभ क्षेत्रमा पनि बिजुली आपूर्ति नियमित रुपमा नभएको  जनाइएको छ।  विद्युत् आपूर्ति नहुदाँ जनजीवन कष्टकर बनेको युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले बताए। उनले बिजुलीको आपूर्ति बन्दको आरोप भने रुसमाथि लगाएका छन्। रुसले सर्वसाधारणलाई उर्जा र तातोबाट बञ्चित गरेर सताउन खोजेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सुनाए।

८. पपुवा न्युगिनीको भूकम्पमा पाँच जनाको मृत्यु
पपुवा न्युगिनीमा आएको शक्तिशाली भूकम्पमा परेर पाँच जनाको मृत्यु भएको छ। अन्य ४ जना घाइते भएका छन्।  कैनान्तु सहरबाट ६१ किलोमिटरको गहिराइमा  केन्द्रविन्दु बनाएर हिजो बिहान ७ दशमलव ६ म्याग्निच्युडको भूकम्पमा गएको थियो। भुकम्पका कारण  धेरै घरहरु भत्किएका छन्। संसद सदस्य केसी सवाङले दुर्गम पहाडी गाउँमा दुई जनाको मृत्यु भएको र अन्य चारजनालाई गम्भीर अवस्थामा हेलिकोप्टरबाट अस्पताल लगिएको जानकारी दिनुभयो। नजिकैको वाउमा कोरगांको एउटा खानीमा पुरिएर तीन जना कामदारको मृत्यु भएको छ। भूकम्पले गरेको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी  रहेको जनाइएको छ।

९. नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै
घरेलु मैदानमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साँझ साढे ५ बजे श्रीलंकाको सामना गर्नेछ। नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ। नेपाल श्रीलंकालाई हराएर सेमिफाइनल पुग्न चाहन्छ। समूह ’बी’ को नेपालले १ खेलमा ३ अंक जोडेको छ। श्रीलंकालाई पराजित गरेको खण्डमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्नेछ।नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले हराएको थियो। श्रीलंका भने पहिलो जितको खोजीमा रहेको छ। यदि श्रीलंका नेपालसँग पराजित भएको खण्डमा भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्नेछ।

१०. कार्लोसलाई युएस ओपन टेनिसको उपाधि 
स्पेनका १९ वर्षीय खेलाडी कार्लोस अल्काराजले युएस ओपन टेनिसको उपाधि जितेका छन्। पुरुषतर्फको फाइनलमा नर्वेका कास्पर रुडलाई हराउँदै कार्लोसले पहिलो ग्रान्डस्लाम उपाधि जितेका हुन्। न्युरोर्कमा भएको फाइनलमा कार्लोसले कास्परमाथि ६–४,२–६,७–६ (७–१) र ६–३ को सेटमा जित निकाले। कार्लोसको यो पहिलो मुख्य उपाधि हो। यस्तै पहिलो पटक युएस ओपन जितेका हुन्। स्पेनकै राफायल नाडालपछि ग्रान्डस्लाम उपाधि जित्ने उनी सर्वाधिक युवा खेलाडी हुन्। महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छन्।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १० : १२ बजे

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ

पंक्षीको मासु नखाने खेवा लिम्बूहरूको लहरो

एक ऐतिहासिक थुमको रुपमा रहेको छ, पूर्वी नेपालमा छथर थुम।

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

काठमाडौं– राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत्

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा