नेपालमा आज : के-के भयो दिनभर ? (अडियोसहित) | Khabarhub Khabarhub

नेपालमा आज : के-के भयो दिनभर ? (अडियोसहित)


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुन्नुहोस् अडियोः

दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला

सरकारले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको छ । दुई वर्षदेखि मलेसियाको श्रम स्वीकृति बन्द थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिब दुई वर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुनः सुरु गर्ने मन्त्रीस्तरीय निर्णय भएको हो । वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी दूतावासबाट प्रमाणिकरण भएर आएका मागपत्रअनुसार श्रम स्वीकृति दिने निर्णय भएको छ ।

दरबन्दीभन्दा बढी कर्मचारीलाई तलबभत्ता दिन सकिँदैन – स्वास्थ्य मन्त्रालय 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने प्रस्ट पारेको छ । मन्त्रालयले आज सातवटै प्रदेश र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई थप तलबभत्ता दिन नसकिने प्रस्ट पारेको हो । दरबन्दी यकिन गरेर मात्र रिक्त दरबन्दीमा सहमति दिन सबै प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । हाल कर्मचारी समायोजन मिलानसम्बन्धी मापदण्ड २०७७ तथा स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलानसम्बन्धी व्यवस्था २०७७ बमोजिम सम्बन्धित तहहरूको दोहोरो सहमतिका आधारमा मन्त्रालयबाट स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान भइरहेको छ ।

प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव पेस

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव आजको प्रतिनिधिसभामा पेश भएको छ । एमाले सांसदको अवरोधकै बिचमा प्रतिनिधिसभामा पेश भएको प्रस्तावमाथि आगामी प्रतिनिधिसभा बैठकबाट छलफल सुरु हुने तय भएको छ । आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले आगामी चैत्र दुई गते बस्ने बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी गराएका हुन् । त्यसअघि आजको बैठकमा एमालेको अवरोधका बीच माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव पेश गरेका थिए ।

संसद अवरोध हटाउनु सभामुखको अनुरोध

सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले संसद अवरोधका कारण विधि निर्माण प्रकृया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल नपाएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका हुन् ।  सभामा विचाराधीन रहेका ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आम नागरिकका दैनिक समस्याहरू जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने, कानून निर्माण एवं निगरानी गर्ने कार्यहरू समेत अवरोधका कारण प्रभावित हुन पुगेको उनले बताए ।  

माधव नेपालसहित १४ सांसदको मुद्दामा सर्वोच्चले एकैपटक अन्तिम सुनुवाइ गर्ने

सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकता सम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले सो मुद्दाको लिखित जवाफ आइसकेको भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो । आदेशअनुसार आगामी चैत २० गते पूर्ण सुनुवाइ हुनेछ ।  

स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ति छैन -प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ति नरहेको बताएका छन् । आज काठमाडौंमा नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तह भन्दा आपत्ति भए स्थानीय सरकार बनाउन सकिने तर यसका लागि दलीय सहमति भने जुट्नुपर्ने बताएका हुन । प्रधानमन्त्री देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको भन्दै शव्दमा आपत्ती जनाउन नहुने धारणा राखे  । त्यस्तै उनले मुलुक र जनतालाई केन्द्रबिन्दुमा राखेर जनप्रतिनिधिहरूले सेवा प्रवाहमा ध्यान दिनुपर्ने उल्लेख गरेका थिए  ।

काँग्रेसले थाल्यो ७७ वटै जिल्लामा चुनावी अभियान

सत्तारुढ दल नेपाली काँग्रेसले ७७ वटै जिल्लामा एकैसाथ चुनावी अभियान थालेको छ । सरकारले स्थानीय तह निर्वाचन गर्ने मिति तोकेर तयारी अघि बढाएपछि ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित काँग्रेस नेताहरू गाउँ पसेका छन् । वडा तहसम्म पार्टी संगठन मजबुद बनाउन र पार्टीको पक्षमा चुनावी माहोल तयार गर्न कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय नेताहरूलाई प्रतिनिधिको रुपमा खटाएको छ ।

हलो चुनाव चिन्ह नदिए स्थानीय चुनाव बहिष्कार गर्ने राप्रपाको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो चुनाव चिन्ह नपाएको खण्डमा आसन्न स्थानीय चुनाव बहिष्कार गर्ने भएको छ । आज नेपालगञ्जमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सो घोषणा गरेका हुन् । राप्रपाले अघिल्लो संसदीय चुनावमा थ्रेस होल्ड पुरा गर्न नसकेपछि राष्ट्रिय पार्टीको मान्यता पाउन सकेको थिएन । आयोगले राष्ट्रिय पार्टी नरहेका दलहरूलाई सिंगो चुनाव चिन्ह नदिने नीति लिएपछि साना दलहरु आन्दोलित छन् ।

बागमती प्रदेशसभाको अवरोध हट्यो

करिब तीन महिनादेखि अवरुद्ध हुँदै आएको बागमती प्रदेशसभा अवरोध हटेको  छ । पुस ८ गतेदेखि बन्धक बनेको प्रदेशसभा बैठक आज बिना अवरोध सञ्चालन भएको हो । मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्नुपर्ने, मुख्यमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने र आफ्नो सरकारले ल्याएको योजना कटौती फिर्ता हुनुपर्ने माग राख्दै एमालेले संसद् अवरुद्व गर्दै आइरहेको थियो । आइतबार बसेको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एमालेले उठाएका सबै प्रश्नको जवाफ दिएसँगै प्रदेशसभा बैठक सहज ढंगले सञ्चालन भएको थियो ।

तनहुँमा बस र सुमो ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा बस र सुमो ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकालाई उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल लैजाँदा ३ जनालाई चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–८ ढोलफिर्दी गणेस टोलका रुद्र सेन, लक्ष्मी कुमारी साही र सुमो चालक ओमप्रकाश गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । आज दिउँसो मुग्लिनबाट आबुखैरेनीतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेको टाटासुमो एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

सरकारले नबढाए आफै भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चैत्र ७ गतेभित्र सार्वजनिक सवारीको भाडा बृद्धि गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ७ गतेभित्र भाडा समायोजन गर्न सरकारलाई अनुरोध गर्ने र सरकारले भाडा बृद्धि नगरे बाध्य भएर एकपक्षिय रुपमा भाडा बृद्धि गर्ने चेतावनी दिएको हो । महासंघले सार्वजनिक बसमा ९ प्रतिशत, ट्रकमा ११ देखि १३ प्रतिशत र पेट्रोलबाट चल्ने सवारी साधानमा ८ दशमलव ५ प्रतिशत भाडा बृद्धि गर्नुपर्ने माग राखेको छ । 

नाबालिका बलात्कार गरी हत्या हारोपमा २ जना पक्राउ

नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी २१ महिने नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई मोरङ प्रहरीले आज सार्वजनिक गरेको हो । गत शुक्रबार साझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उनको उपचारको क्रममा हिजो बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको थियो ।

वडाअध्यक्षसहित सात जना पक्राउ

जग्गा जालसाजीको आरोपमा संखुवासभा प्रहरीले वडाअध्यक्षसहित सात जनालाई पक्राउ गरेको छ । किर्ते कागज गरेर २७ रोपनी जग्गा हडपेको आरोपमा भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटे, सोही वडाका सुरेन्द्र तामाङ, कप्पना भोटे, ङिमा लाजुङ भोटे, खाँदबारी–१ का हाल मालपोल कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका–४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपालिकाका पासाङ शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपालमा कोरोनाबाट थप ६५ जनामा कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा नेपालमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ३ सय ६ पिसिआर परिक्षणका क्रममा ५९ जना र १ हजार ६ सय ४१ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ९१ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय १७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सप्तरीमा आगलागीबाट १३ घर जले

सप्तरीमा आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएका छन् । अग्निसाइर कृष्णासावरण गाउँपालिका–४ टेंगरीमा स्थानीय डम्बर यादवले आफ्नो घर अगाडि राखेको रुखको पातमा गएराती आगलागी भएको प्रहरीले जनाएको छ । खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादवसहित १३ जनाको घर जलेका छन् ।  आगलागीले ९ वटा बाख्रा जलेको छ ।

सहिद स्मारक ए डिभिजन लिग

ए डिभिजन क्लबहरु न्यूरोड टिम (एनआरटी), मनाङ मस्र्याङदी क्लब, थ्रीस्टार क्लब र संकटा क्लबले नेपाल सुपर लिग (एनएसएल) का लागि खेलाडी अनुबन्धनलाई लिएर चलेको विवादबीच खेलाडीलाई मर्का नपर्ने गरी अघि बढ्ने जनाएका छन् ।

 

 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १० : ०४ बजे

दसैँमा तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए

काठमाडौ‌ं– एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्

बैतडीका निङ्गलाशैनी र उदयदेव मन्दिरमा राँगा बोकाको बलिसहित जात्रा

काठमाडौं – बैतडीको निङ्गलाशैनी भगवती र उदयदेव मन्दिरमा जात्राको रौनक

अन्नपूर्ण क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना

कास्की – अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा पर्यटन

प्रधानन्यायाधीश राउत क्वालालम्पुरमा

 काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि यही असोज २८ गतेसम्म

महानवमीमा नवदुर्गा भगवतीको विशेष पूजा आराधना  

 काठमाडौं– आज  महानवमी, नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।