काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर अंकित चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन् ।
बुधबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा आफू, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर अंकित चुनावी पोस्टर राखेका थिए । सरकारी तलब बुझ्ने घिसिङको तस्बिरलाई चुनावी प्रचार प्रसारको सामग्री बनाउँदा निर्वाचन आचार संहिता आकर्षित हुने भन्दै आलोचना सुरु भएको थियो ।
कार्यकारी निर्देशक घिसिङले पनि आफूलाई नसोधी चुनावी पोस्टरमा आफ्नो तस्बिर राखिएकोमा आपत्ति जनाउँदै प्रचण्डको निजी सचिवालयलाई निर्देशन दिएका थिए । ‘मलाई नसोधी चुनावी पोस्टरमा मेरो तस्बिर राखिएको रहेछ । यसमा मेरो विमति छ । मैले पोस्टर हटाउन भनेको छु,’ घिसिङले भनेका छन् ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले निर्देशक घिसिङले पोस्टर हटाउन आग्रह गरेको स्विकार्दै अरू साथीले गडबड गरेको बताए। त्यसको केही समयपछि प्रचण्डको फेसबुक पेजबाट घिसिङको तस्बिर अंकित चुनावी पोस्टर हटाइएको छ । त्यसमा हाल प्रचण्ड मात्रै रहेको तस्बिर राखिएको छ।
प्रतिक्रिया