काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नति भएका पुष्पराम केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
मन्त्रिपरिषद्को निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक बनेका केसीलाई आज गृहसचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिह्नबाटसमेत प्रदान गरेका हुन् ।
गृहमन्त्रालयमा भएको समारोहमा गृह सचिव पाण्डेले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
उनले सशस्त्र प्रहरी बललाई सबल, सुदृढ र थप सशक्त बनाउन आवश्यक योजना तर्जुमा गर्न सदैव मन्त्रालयको साथ र सहयोग रहिरहने प्रतिबद्धतासमेत व्यक्त गरे ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी महानिरीक्षक जस्तो गरिमामय पदमा पदोन्नति प्रदान गरेकोमा नेपाल सरकार मन्त्रिपरिषद् तथा गृह मन्त्रालयप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालमा साङ्गठानिक सुदृढीकरण र वृत्ति विकास तथा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरूको सशक्तीकरणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
२०२३ साल भदौ १५ गते नुवाकोटको तलाखु–३ मा जन्मेका केसी २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गरेका थिए । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रहरी सेवाबाट अनिवार्य अवकास लिएपछि सरकारले केसीलाई आज महानिरीक्षकमा पदोन्नति गरेको हो ।
प्रतिक्रिया