अछाम– अन्तरसरकारी वित्त ऐन ०७४ अनुसार संघीय सरकारले १५ जेठ र स्थानीय तहहरूले १० असारभित्रै बजेट प्रस्तुत गरिसक्नु पर्छ । ऐनअनुसार अछामका १० स्थानीय तहमध्ये नौ वटाले बजेट सार्वजनिक गरेका छन् । तर, यहाँको पञ्चदेवल विनायक नगरपालिकाले भने अझैसम्म पनि बजेट सार्वजनिक गरेको छैन् । नगरपालिकाको नगरसभा समेत हुन सकेको छैन् ।
स्थानीय १५ वर्षीय किशोर विनोद शाहीको हत्याको आरोपमा नगर प्रमुख अम्बिका चलाउनेमाथि मुद्दा दर्ता भएपछि नगरको सम्पूर्ण कामकाज रोकिएको छ । यही कारण नगरसभा समेत हुन सकेको छैन । नगर प्रमुख अम्बिका चलाउनेले बजेटको विषयमा कुनै विवाद नभए पनि पञ्चदेवल विनायक घट्ना कारण बजेट निर्माण ढिलाई भएको बताउँछन् । उक्त घट्नाका विषयमा आन्दोलनरत पक्षसँगै केही सम्झौता भएपछि अब बजेट निर्माणको प्रक्रिया अघि बढेको उनले बताए ।
पञ्चदेवल विनायक घट्ना र स्वास्थ्यमा समस्या भएपछि उपचारको लागि जिल्ला बाहिर जाँदा केही ढिला भएको नगर प्रमुख चलाउनेको भनाइ छ । अब १५ भदौभित्र बजेट ल्याउने तयारी भईरहेको उनले बताए । उनले बजेट निर्माण प्रक्रियाको लागि सम्पूर्ण विषयगत शाखाले तयारी गरिरहेको समेत जानकारी दिए ।
प्रतिक्रिया