सत्ता गठबन्धनमा सकस, कांग्रेसलाई दबाब | Khabarhub Khabarhub

सत्ता गठबन्धनमा सकस, कांग्रेसलाई दबाब

असन्तुष्टिमै सिट बाँडफाँड टुंगिदा पनि चुनावमा अन्तर्घात हुने डर


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको विषय निकै पेचिलो बनेको छ । साना दलहरुले ठूलो सिट माग गरेपछि सत्ता गठबन्धनमा सिट बाँडफाँडको विषय पेचिलो बनेको हो ।

चुनाव नजिकिँदै जाँदा सिट बाँडफाँड नमिल्दा गठबन्धन नै टुट्ने हो कि भन्ने डर नेता कार्यकर्तामा बढ्न थालेको छ । सिट मिलाउने प्रयास भइरहेका बेला गठबन्धन टुट्ने गरी चर्को र आलोचित अभिव्यक्ति नदिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई निर्देशन नै दिएका छन् ।

यस्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि गठबन्धनका नेतालाई असर नपर्ने गरी कार्यक्रम र प्रचारप्रसार गर्न आग्रह गरेका छन् । गठबन्धन नगर्दा कांग्रेसलाई चुनाव लड्न गाह्रो हुने समेत प्रतिक्रिया उनले दिएका छन् ।

यस्तो बेलामा सिट बाँडफाँडमा को कहाँ चुक्ने हो ? नेताहरू गम्भीर चिन्तामा छन् । गठबन्धनमा यति बेला साना मानिएका नेकपा एकीकृत समाजवादी, जसपाले ठूलो सिट माग गरेका छन् । जसपाले कम्तीमा २५ जनालाई टिकट दिनै पर्ने भएकाले त्यहाँबाट तल झर्न नसकिने बताउँदै आएको छ ।

जसपा पनि २० देखि २५ सिटलाई बटमलाइन बनाएर आफ्नो माग राखिरहेको छ । माओवादी भने ५० देखि ६० सिट माग गरिरहेको छ । कांग्रेस १०० सिटको बटमलाइनमा छ । कांग्रेस र माओवादी सजिलै भाग मिलाउन खोज्दा माधव नेपाल र उपेन्द्र यादवको अडानले सकस बढेको नेताहरू बताउँछन् ।

नेकपा समाजवादी र जसपाको अडानले कांग्रेसलाई भने दबाब बढ्दै गएको छ । जतिसक्दो छिटो सिट बाँडफाँड टुंग्याउन नसकेको खण्डमा कांग्रेसलाई अहिले गठबन्धनको नेतृत्वका हिसाबले चुनौती थपिनेछ । त्यो भन्दा धेरै प्रतिपक्षी नेकपा एमाले भने अझै पनि माओवादी र नेकपा एकीकृत समाजवादीको भरोसा गरेर बसेको छ ।

कांग्रेससँग कुरा नमिलेको खण्डमा प्रचण्ड र माधव नेपालसँग वाम गठबन्धन गर्नुपर्ने झिनो आस एमालेका नेताहरूमा छन् । त्यसैले गर्दा पनि प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवको चित्त बुझाएर पनि सिट बाँडफाँडको विषय टुंग्याउनुपर्ने दबाब कांग्रेसलाई छ ।

चुनावमा अन्तर्घात हुने डर !

सिट बाँडफाँडको विषयमा देखिएको असन्तुष्टि चुनावमा देखिने सम्भावना बढेको छ । यसअघि स्थानीय तहका धेरै ठाउँमा पनि सत्ता गठबन्धनभित्रै अन्तर्घात भएको थियो । अहिले त्यसरी नै केन्द्रमा कुरा नमिल्दा र जबर्जस्ती बढी सिट नपाएको झोकमा कांग्रेस र माओवादीभित्रैका नेताहरुबाट अन्तर्घात हुने सम्भावना बढेको हो ।

चुनावमा कांग्रेसले माओवादीलाई र माओवादीले कांग्रेसलाई भोट दिने सम्भावना पनि न्यून देखिएको छ । कम्युनिष्ट बीच कुरा मिले पनि कांग्रेस र माओवादीका तल्लो तहका नेता तथा कार्यकर्ताहरुमा मन मिल्न बाँकी रहेको नेताहरू बताउँछन् ।

शीर्ष नेताहरूले अडानका कारण सिट बाँडफाँड टुंग्याएपनि चुनावको बेला कांग्रेस र कम्युनिष्टबीचमा अन्तर्घात हुन सक्ने सम्भावना छ । कांग्रेसले आफूले भनेजति १०० सिट नपाएको खण्डमा धेरै ठाउँमा कांग्रेस नेता कार्यकर्ताबाट अन्तर्घातका लागि सर्कुलर नै हुन सक्ने जोखिम पनि छ ।

कांग्रेसमा संस्थापनइतर पक्ष भने अहिले पनि सत्ता गठबन्धनप्रति सन्तुष्ट छैन । एक्ला एक्लै चुनाव लड्दा पार्टीलाई बढी फाइदा हुने भन्दै शेखर कोइराला समूहले गठबन्धनभन्दा बढी एक्लै चुनाव लड्नुपर्ने दबाब दिँदै आएको छ ।

तर देउवा फेरि प्रधानमन्त्री बन्न सहज होस् भन्नका लागि सत्ता गठबन्धन जोगाएरै चुनावमा जानुपर्नेमा जोड दिइरहेका छन् । काठमाडौँमा शीर्ष नेता र गठबन्धनका नेताहरूबिच कुरा मिले पनि कार्यकर्ताको मन नमिल्दा तथा उम्मेदवारी दिन नपाएको झोकमा अन्तर्घात हुने त्रास बढेको हो ।

यद्यपि अहिले सिट बाँडफाँडको सकसमा रहेका नेताहरूले यसबारेमा चिन्तन गरेको देखिँदैन । जुन सोझै चुनावको नतिजा सँगसँगै देखिने सम्भावना प्रबल छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १२ : ५१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम