डेभिज फल्स अवलोकन गर्ने पर्यटक बढे | Khabarhub Khabarhub

डेभिज फल्स अवलोकन गर्ने पर्यटक बढे


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमाली दृश्य, गुफा, तालतलैया, सांस्कृतिक र प्राकृतिक सम्पदाका कारण पोखरा स्वदेशी विदेशी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य मानिन्छ । पोखरा पुग्नेहरुलाई सुन्दर र आकर्षक लाग्ने ठाउँ फेवातालको निकासको रुपमा रहेको पाताले छाँगो पनि हो । पोखरा–१७ को छोरेपाटनमा रहेको यस छाँगोले पर्यटकलाई सधै लोभ्याइरहेको छ । जमिनको सतहभन्दा तल गुप्तेश्वर गुफातर्फ झर्ने यो झरना बर्खायाममा ठूलो र आकर्षक देखिन्छ ।

पर्यटकलाई लोभ्याउने पाताले छाँगोलाई ‘डेभिज फल्स’ भनेरसमेत चिनिन्छ । कोभिडका कारण दुई वर्षदेखि छाँगो अवलोकन गर्नेको कमी आएपनि दसैँपछि पर्यटकको सङख्या ह्वात्तै बढेको छ ।

अहिले अधिकांश भारतीय पर्यटक र शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू बढी हुने गरेको जानकारी पातले छाँगोस्थित टिकट काउन्टरका प्रमुख सुरेन्द्र सापकोटाले दिए । सबै देशका गरी यतिबेला दैनिक तीन हजारदेखि पैँतिस सयको सङ्ख्यामा छाँगो अवलोकन गर्न पर्यटक आउने गरेको सापकोटाले बताए । दसैँअघि दैनिक हजारको सङ्ख्यामा पर्यटक आउँने गरेका थिए ।

सोमबार दिउँसो पातले छाँगो अवलोकन गर्न पुगेकी भारत विहारकी पुनम कुमारीले भनिन्, “पातले छाँगो निकै सुन्दर लाग्यो, यहाँका फेवा ताल, गुप्तेश्वर र महेन्द्र गुफा, म्युजियमलगायत अन्य ठाउँ सुन्दर छन् ।”

स्पेनबाट आएका दुई पर्यटकले पातले छाँगो अवलोकनपछि प्राकृतिक झरनाले मन लोभ्याएको बताए । सहर नजिकै फेवाताल, डेभिज फल्स, बेगनास, माछापुच्छ«े हिमाल जस्ता प्राकृतिक सम्पदा देख्न पाउँदा आनन्दित भएको उनीहरु बताउँछन् ।

पातले छाँगो अवलोकन गरेबापत प्रवेश शुल्कबाट वार्षिक रु दुई करोड बढी आम्दानी हुन्छ । छाँगो सञ्चालन र संरक्षणको जिम्मा स्थानीय छोरेपाटन माविले लिएको छ । उक्त शुल्कबापत हुने आम्दानी निजी स्रोतबाट राखिएका ७० शिक्षकको तलब र छाँगोमा परिचालित कर्मचारीको तलबका साथै बाँकी रकम त्यहीको संरचना निर्माणमा खर्च गर्ने गरेको उक्त विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्माले बताए ।

प्रधानाध्यापक शर्माका अनुसार विद्यालयमा दुई हजार तीन सय विद्यार्थी छन् । त्यहाँ सरकारीस्तरबाट २५ शिक्षक दरबन्दी छन् । निजीस्तरबाट ७० शिक्षक तथा कर्मचारी रहेका हुँदा शुल्कबाट उठेको रकम अधिकांश तलब भत्तामा नै खर्च हुने गर्छ । २०३५ सालदेखि विद्यालयले पाताले छाँगो अवलोकन गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउँदै आएको हो । आम्दानीको ४० प्रतिशत पाताले छाँगो व्यवस्थापन र बाँकी ६० प्रतिशत विद्यालयको शैक्षिक भौतिक विकासका लागि खर्च गरिने शर्माले जानकारी दिए ।

यहाँको पर्यटकहरु सेल्फी खिच्दै छाँगोबाट आइरहेको पानीको शीतलतामा रमाइरहेको यहाँ पुग्ने जोकोहीले सजिलै हेर्न सकिन्छ । डेभी नाम गरेकी एक स्विस पर्यटक सन् १९६१ यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो ।

पाँच सय मिटर भूमिगत जल प्रवाह र सय फिट गहिराइ रहेको छाँगोमा निरन्तर जल प्रवाह भइरहन्छ भने जेठदेखि असोज महिना छाँगो हेर्न आकर्षक मानिन्छ । छाँगो वरिपरिका फूलका बगैँचा, परम्परागत घर, हिमालका कृत्तिम दृश्य, बुद्धका मूर्ति र विभिन्न जनजातिका पोसाकसहितका तस्बिर खिच्ने ठाउँहरुले पनि पर्यटकलाई लोभ्याएको पाइन्छ । करिब १२ रोपनी क्षेत्रफलमा रहेको यस पर्यटकीयस्थलमा आन्तरिक र भारतीय पर्यटकको चाप हुने गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ३ : १३ बजे

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्री, पर्व, २०८१

सेना दिवसको पूर्वसन्ध्यामा मैत्रीपूर्ण फुटबल

जनकपुरधाम– मधेश प्रदेशको राजधानीमा सेना दिवसको पूर्व सन्ध्यामा मैत्रीपूर्ण फुटबल

अर्थतन्त्र सुधारको लागि सबै पक्ष गम्भीर हुन आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले

टीसीएलले ल्यायो इन्भर्टर, एसी र भीआरएफ मोडलहरू 

काठमाडौं– टीसीएलले नेपालमा नयाँ इन्भर्टर ८ वे क्यासेट एसी र भीआरएफ

रारा पर्यटन पदमार्ग निर्माणमा उल्झन्, साइकलमार्ग पनि अलपत्र

सुर्खेत – कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा निर्माणाधीन रारा पर्यटन