चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित « Khabarhub

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित


२९ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहु उपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । चिराइतो बिक्रीबाट किसानले वार्षिक रु छ देखि आठ लाखसम्म आम्दानी लिने गरेका छन् । यहाँका किसानले आलु र मकै फल्ने बारीमा व्यावसायिक रूपमा चिराइताको खेती गरेको देख्न पाइन्छ ।

एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँको माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् । टेम्केमैयुङ गाउँपालिका– १ तिम्माका करिब ६०/७० किसानले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतो राम्रो उत्पादन हुँदै आएको र यसबाट आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुने किसानको भनाइ छ । एक किसानले २० देखि ५० मन चिराइतो उत्पादन गर्दै आएको यसको व्यावसायिक खेती गरिरहनुभएका स्थानीय किसान देवेन्द्र राउतले जानकारी दिए। उनले करिब ६२ रोपनी क्षेत्रमा चिराइतो खेती गरिरहेका छन्।

किसान राउतले भने,‘‘हाम्रो क्षेत्र जडीबुटी खेतीको लागि उपयोगी मानिन्छ । यहाँका अधिकांश किसानले चिराइतो खेती गरिरहेका छन् । मैले करिब ६२ रोपनी क्षेत्रमा खेती विस्तार गरेको छु । यस वर्ष मात्र मेरो २५ मन बढी चिराइतो उत्पादन हुन्छ । आगामी वर्ष ५० मन जति उत्पादन हुन्छ ।’’आठ वर्षदेखि चिराइतोको व्यावसायिक खेती गर्दै आएका अर्का किसान प्रेम बस्नेतले गत वर्ष चिराइतो बिक्रीबाट रु छ लाख ५० हजार आम्दानी भएको बताए । उनको गत वर्ष करिब ३५ रोपनी जमिनमा  २५ मन चिराइतो उत्पादन गरिएको थियो ।

 उत्पादित चिराइतो आफ्नै घरबाट प्रतिमन रु २६ हजारले बिक्री भएको बस्नेतको भनाइ थियो । ‘‘गत वर्ष चिराइतोबाट रु छ लाख ५० हजार आम्दानी लिएँ ’’ उनले भने,‘‘यो वर्ष थप २० रोपनीमा विस्तार गरेको छु । गत वर्षको जस्तै मूल्य पाइए यो वर्ष पनि राम्रै आम्दानी हुन्छ ।’’चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने कृषक बस्नेतले जानकारी दिए । रु ५० हजार आलु मकैबाट आम्दानी हुने बारीमा चिराइतो खेती गरिए रु पाँचलाखदेखि सात लाखसम्म आम्दानी लिन सकिने उहाँको भनाइ थियो । चिराइतोले आलु र मकैभन्दा अलि ढिलो आम्दानी दिन्छ ।

किसान बस्नेतले भने,‘‘हामीले आफूले जानेको परम्परागत रूपमा खेती गरिरहेका छौँ । हालसम्म राज्यबाट खास सहयोग छैन । यसको खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोग मात्र पाएमा पनि अझ बढी आम्दानी गर्न सकिने थियो ।’’

किसानले चिराइतोलाई असोज, कात्तिक महिनामा सङ्कलन गर्ने गर्दछन् । गत वर्ष मूल्य वृद्धि भएका कारण धेरै किसानमा चिराइतो खेतीमा मोह बढेको देखिन्छ । मूल्यमा आउने उतार चढावले भने किसानलाई समस्या हुने गरेको छ । विगतका वर्षमा ४५ मनसम्म चिराइतो उत्पादन भएको बाह्र वर्षदेखि यसको व्यावसायिक खेती गर्दै आएका किसान गुणराज राउतले सुनाए। एक रोपनीमा आठ मनसम्म चिराइतो उत्पादन भएको उनको भनाइ थियो ।

राउतले हाल २० रोपनी जमिनमा चिराइतो खेती गरिरहेका छन् । यो साल आठदेखि दश मनको हाराहारीमा उत्पादन हुने किसान उहाँको भनाइ थियो । ‘‘मसँग ४५ मनसम्म उत्पादन गरेको अनुभव छ’’ किसान राउतले भने,‘‘यसलाई मेहनत गरेर खेती गर्न सकेमा राम्रो आम्दानी पाउन सकिन्छ । एक रोपनीमा ८ मनसम्म चिराइतो उत्पादन भयो । एक पटक सङ्कलन गरेर बेचेपछि सानो बिरुवा उत्पादन योग्य हुन अलि समय लाग्छ । त्यही भएर बर्सेनि आम्दानी लिन फरक फरक जमिनमा खेती गर्नुपर्ने हुन्छ।’’ ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेकोलगायत रोगमा चिराइतो प्रयोग गर्न सकिने किसान राउतको भनाइ छ । यसको पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ ।

यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको बताइन्छ । भोजपुरको अधिकांश माथिल्लो भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रूपमा रहेका छन् । भोजपुरमा चिराइतोसँगै सतुवा, तेजपत्ता, लोठसल्ला, खिरौले, टिमुरलगायत  जडीबुटीको पनि खेती विस्तार भइरहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १ : ०१ बजे

शनिबारदेखि कीर्तिपुरमा विश्वकप लिग-२

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, यूएई

काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात्

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

तनहुँ– यहाँस्थित व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।