फाइल फोटो

देश/प्रदेश

आठ हजार घरपरिवारलाई १२ करोड राहत वितरण

By खबरहब

October 14, 2022

बर्दिया – जिल्लामा कर्णाली र बवई नदीको बाढीले सात सय घरपरिवार पिडीत भएका छन्।

अधिकांशको घर बाढीले बगाएको छ भने करोडौंको धानबाली बाढीले बगाएर पूर्णरूपमा नष्ट भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्दु बाँस्तोलाले बताए। गेरुवा र राजापुरमा कर्णाली नदीको बाढी पस्दा सात सय घरपरिवारमा विस्थापित भएका छन्। कोही स्कुल त कोही आफन्तकहाँ बसेका छन्।

बाढीबाट आठ हजार घरपरिवारलाई प्रतिघरपरिवार रु १५ हजारका दरले कुल रु १२ करोड नेपाल सरकार र विश्व खाद्य कार्यक्रमबाट राजापुर नगरपालिका, गेरुवा गाउँपालिका, ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिका कर्णालीको बाढी प्रभावितलाई राहत वितरण गरिएको प्रजिअ वाँस्तोलाले बताए।

त्यसैगरी बाढीबाट घरहरू बगाए पनि मानवीय क्षति हुनबाट भने आफूहरूले जोगाएको बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। करिब ३५ घर पूर्णरूपमा बगाएको छ भने तिनका परिवारलाई तत्काल रु १५ हजारका दर रकम वितरण गरिएको उनले बताए।

सदरमुकाम गुलरिया आउने बारबर्दियाका स्थानीयवासी बाँसगढी नगरपालिका बढैयाताल गाउँपालिका र मधुवन नगरपाललिका घुमेर आउनुपरेका कारण निकै सकस भएको बारबर्दिया–११ निवासी विक्रम चौधरीले बताए।