निर्वाचन आयोगलाई जंगी अड्डा नबनाउन सुझाव  | Khabarhub Khabarhub

निर्वाचन आयोगलाई जंगी अड्डा नबनाउन सुझाव 


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले मिडिया अनुगमन भन्दै सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोमा नेपाल पत्रकार महासंघसहित सरोकारवालाले विरोध जनाएका छन् । आयोगले मिडिया अनुगमनका लागि प्रेस अफिस नामक संरचना खडा गरेको र त्यसले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा प्रवेश गरेको भन्दै विज्ञहरूले त्यस्तो गलत काम नगर्न आयोगले सुझाएका हुन् ।

आसन्न निर्वाचन र आचारसंहिता विषयमा काउन्सिलले गरेको अन्तरक्रियामा बोल्दै बरिष्ठ पत्रकार एवं काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहालले आयोगले अनुगमनका लागि जंगी कर्मचारी राखेर बेकारको लफडामा परेको बताए । निर्वाचन आचारसंहिताको सूक्ष्म अनुगमन आयोगले गर्न सक्छ । तर, त्यसको संरचनामा जंगी कर्मचारी राख्दा बेकारमा शंका पैदा गराएको छ । यो कदम उचित होइन, दाहालले भने ।

आयोगले अनुगमनको जिम्मेवारी नदिए पनि आचारसंहिता कार्यान्वयन भए/नभएको विगतभन्दा बढी नै काउन्सिल सक्रिय हुनु पर्ने दाहालले सुझाव दिए ।
‘आयोगले गठन गरेको संयन्त्रमा सेना प्रहरीसमेत राखेर शाहीकालीन झल्को दिएको छ । आयोग संविधानभन्दा बाहिर जान सक्दैन, ’प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले भने, ‘यस्तो कार्यको विरोध गर्दा कारबाही हुन्छ भने जेल जान पनि तयार छु ।’

नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन सबैले काउन्सिलसँग समन्वय नगरेर आयोगले गल्ती गरेको भन्दै उक्त निर्णय सच्याउन माग गरिसकेका छन् । ती सङ्गठनहरूले प्रेस विज्ञप्ति जारी गरी आयोगले मिडियाको अनुगमन र कारवाही आफैले गर्न खोजे त्यो मान्य नहुने र आन्दोलनमा उत्रिन बाध्य हुने जनाएका छन् ।

पत्रकार महासंघका सचिव गोविन्द चौलागाइँले आयोगले अभिव्यक्ति र प्रेस स्वतन्त्रताविरोधी संयन्त्र बनाएको बताए । आयोगको कदम गलत भएको भन्दै महासंघले तत्काल नसच्चिए प्रतिवाद गर्ने यसअघि नै विज्ञप्ति जारी गरेको छ । ‘आयोगले बनाएको संयन्त्र गलत भएकोले हामी गम्भीर छौं, ’उनले भने, ‘आयोगले अहिले जे गर्दैछ त्यो संविधानविपरीत छ । अरुलाई वास्तै नगरी एक्लै हिँड्न खोजिएको छ । मिडिया अनुगमनको काम काउन्सिललाई दिनुपर्छ ।’

निर्वाचन आयोगले मिडिया र सामाजिक सञ्जालमा आउने सामग्री अनुगमन गर्न प्रेस अफिसको स्थापना गरेको छ । आयोगका सहसचिवको संयोजकत्वमा बनेको संयन्त्रमा सेना, प्रहरीको साइबर ब्युरोका प्रतिनिधि, विज्ञापन बोर्ड, सहितको प्रतिनिधि रहने भनिएको छ । काउन्सिलको अधिकार कटौती गर्ने गरी आयोगले नै मिडिया अनुगमन गरेको भन्दै काउन्सिल र आयोगबीच द्वन्द्व सुरु भएको छ । 

आयोगले लिएको पछिल्लो निर्णयलाई वक्ताहरूले अधिनायकवादको संज्ञा समेत दिए । मिडियाको सामग्री अनुगमन आयोगले गर्ने नभई प्रेस काउन्सिललाई दिनु पर्ने वक्ताहरूको जोड थियो । ‘मिडिया अनुगमनको काम आयोगले गर्ने होइन । जसको जे जिम्मेवारी हो त्यही गर्नुनपर्ने हुन्छ । सेना र प्रहरी रहेको संयन्त्रबाट अनुगमन गराउनुहुँदैन,’डब्लुडब्लुएफकी अध्यक्ष निर्मला आचार्यले बताइन् ।

व्यावसायिक रेडियोको छाता संगठन वानका अध्यक्ष कुमार भट्टराईले काउन्सिलबाहेक मिडियाको सामग्री अनुगमन र कारवाही गर्ने अधिकार अरुलाई नभएको बताए । सामुदायिक रेडियोहरूको साझा छाता संगठन सामुदायिक रेडियो प्रसारक संघले पनि आयोगको कदमको विरोध जनाएको छ । एकोराबको अध्यक्ष अर्जुन गिरीले अनुगमन आयोगको नभई काउन्सिललाई दिनुपर्ने बताए । गिरीले काउन्सिलको काम कारवाही व्यवस्थित र विश्वसनीय भएकाले काउन्सिलसँगै सहकार्य गर्न आयोगलाई सुझाएका थिए ।  

वक्ताहरूले गत स्थानीय चुनावमा काउन्सिलले प्रभावकारी ढंगले अनुगमन गरेको र त्यसले मिडिया जगतमा राम्रो सन्देश दिएको समेत स्मरण गरेका थिए । माओवादी निकट प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले सेना, प्रहरी राखेर मिडिया अनुगमन गर्ने संयन्त्र बनाउनु गलत भएको बताए । मिडिया नेपालका गोपाल पौडेल, समाजवादी प्रेसका महासचिव भूपराज खड्काले पनि आयोगको कदमको विरोध जनाए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला आचारसंहिता कार्यान्वयन गराउन थप सक्रिय हुने बताए । ‘हाम्रो काम मिडियाका कन्टेन्ट अनुगमन गर्ने,  आचारसंहिता पालना गराउने र त्यसका लागि आवश्यक समन्वय गर्ने भएकोले अरु बेलाभन्दा थप सक्रिय हुन्छौं, ’उनले भने ।
कार्यक्रममा काउन्सिलका बोर्ड सदस्यहरू दीपक पाण्डे, ठाकुर बेल्बासे र रामप्रसाद दाहालसहित विभिन्न विज्ञ पत्रकारहरूको सहभागिता थियो ।

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ३ : ४० बजे

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छ : नगर प्रमुख कोइराला

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि

प्रतिनिधि सभा बैठक : गृहमन्त्री लामिछानेले सम्बोधन गर्दै

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

सभामुखलाई उपेन्द्रको पत्र : अशोकसहित सात सांसदको पद गइसक्यो, विश्वासको मत दिन मिल्दैन

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईसहित

अर्थसंक्षेप : बिजुली नपुगेका घर खोज्दै कुलमानदेखि सुनकाे मूल्य उच्चसम्म 

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली नपुगेका

उपप्रधानमन्त्री लामिछानेले जवाफ दिएपछि गगन थापाले बोल्ने कांग्रेसको प्रस्ताव

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबार बस्न लागेको संसद् बैठकमा उपप्रधान