अर्थसंक्षेप : बिजुली नपुगेका घर खोज्दै कुलमानदेखि सुनकाे मूल्य उच्चसम्म  | Khabarhub Khabarhub

अर्थसंक्षेप : बिजुली नपुगेका घर खोज्दै कुलमानदेखि सुनकाे मूल्य उच्चसम्म 


६ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली नपुगेका घर भेट्टाए खबर गर्न आग्रह गरेका छन् । यस्तै, मेची भन्सार कार्यालयले दश महिनामा एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

आज शेयर बजारमा पनि उत्साह छाएर ५ अर्बमाथिको कारोबार भयो । साथै डेल कम्पनीको नक्कली लेबलिङ टाँसेर मोनिटर बिक्री गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै आज सुनको मूल्य वृद्धिले फेरि रेकर्ड कायम गरेको छ ।

हेर्नुहोस् आजका आर्थिक समाचार संक्षेपमा :

बिजुली नपुगेका घर खोज्दै हिँडेका छौँ, भेटिए खबर गर्नुहोला : कुलमान

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले आफूहरू बिजुली नपुगेका घर खोज्दै हिँडेकाले कतै त्यस्ता घर भेटिए खबर गर्न आग्रह गरेका छन् ।

धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युतीकरण गरिएको उपलक्ष्यमा आयोजित कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् ।

‘७/८ वर्ष अघि राष्ट्रिय प्रणालीबाट करिब ६० प्रतिशत जनसङ्ख्यामा मात्र विद्युत् पहुँच पुगेको थियो, विद्युत् पुगेको ठाउँमा पनि लोडसेडिङ थियो भने अन्य ठाउँ अन्धकारमै थिए, हाल लोडसेडिङ अन्त्य भई इतिहास बनेको छ, ९५ प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रणालीको विद्युत् पुगेको छ, शतप्रतिशत विद्युतीकरणका लागि ठेक्का सम्झौता सम्पन्न भई काम भइरहेको छ’, घिसिङले भने ।

उनले थपे, ‘पहिले विद्युत् चाहियो भनेर प्राधिकरणका कार्यालयहरूमा धाउनुपर्थ्यो, अहिले विद्युत् नपुगेका घर खोज्दै हामी हिँडेका छौँ, विकट क्षेत्रमा रहेको एउटा घरमा विद्युत् पुर्‍याउन लाखौँ रुपैयाँ खर्च गरिएको छ, कुनै घरमा पनि छुट्नु भएन, छुटेको पाइएमा खबर गर्नुहोला ।’

मेची भन्सारबाट एघार अर्ब ५९ करोड राजस्व संकलन

मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष एक करोड ८७ लाख १३ हजार रुपैयाँ कम राजस्व संकलन भएको हो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलकाअनुसार चालु आवको वैशाखसम्म गत आवको तुलनामा चियामा १६ दशमलव १२ र अलैँचीमा चार दशमलव ६५ प्रतिशत निर्यात घटेको छ ।

उनले भने ‘पछिल्लो समय भेनियस सिटसहित फलामको पाता, प्लाइउड, छुर्पी, अम्रिसो, अदुवालगायतका निर्यात बढेको छ’ ।

भन्सार कार्यालय काँकडभिट्टाका अनुसार पेट्रोल, फलामका सामग्री र फलफूलको जुसलगायतको आयातमा सामान्य वृद्धि भए पनि डिजेल, तरकारी, जुट, कपडा एलपिजीलयायतका सामग्रीको आयात गत आर्थिक वर्षको पहिलो दश महिनाको तुलनामा घटेको हो ।

पाँचतारेको मान्यता पाउन एभरेस्ट होटलले बुझायो ईआईए रिपोट

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन नबुझाएका कारण पाँच तारे होटलको मान्यता नपाएको द एभरेस्ट होटलले ईआईए रिपोर्ट बुझाएको छ । वन तथा वातावरण मन्त्रालयमा बुझाइएको रिपोट मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा २०३८ सालदेखि सञ्चालनमा आएको सो होटल ईआईए रिपोर्ट नबुझाएका कारण पर्यटन विभागको पाँच तारे होटलको सूचीमा अटाउन सकेको थिएन ।

यो होटल २०४२ सालदेखि पाँच तारे मान्यता प्राप्त थियो । २०७२ सालको भूकम्पले यो होटलको भवनमा धेरै क्षति गरेको थियो । त्यसपछि होटल बन्द भयो । मर्मतपछि १२ असोज २०७६ देखि एभरेस्ट होटल पुनः सञ्चालनमा आएको थियो । प्रतिवेदनअनुसार एभरेस्टले थप संरचना बनाउने कुनै योजना बनाएको छैन ।

नक्कली लेबलिङ टाँसेर मोनिटर बिक्री गर्ने दुई जना पक्राउ 

डेल कम्पनीको नक्कली लेबलिङ टाँसेर मोनिटर बिक्री गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ४ गते काठमाडौं–२२ स्थित घरको गोदाम भाडामा लिएर डेल कम्पनीको लोगो मोनिटरमा लेबलिङ गरी बेचबिखन गरिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो। जिल्ला प्रहरी परिसरको टोलीले छापा मार्दा म्यानमार घर भएर हाल काठमाडौं बस्दै आएका २२ वर्षीय तुसार अग्रवाललाई पक्राउ गरेको थियो ।

यस्तै, नक्कली कम्पनीको लेबलिङ गरी न्युरोड स्थित पसलमा बेच्नको लागि मोनिटर तयार पारिरहेको अवस्थामा प्रहरीले उमेश मुडभरीलाई पनि नियन्त्रण लिएको छ । प्रहरीले तुसार अग्रवालको साथबाट डेल कम्पनीको लोगो सहितको मोनिटर ५० थान, लोगो बिनाको २३५ थान मोनिटर बरामद गरेको छ।

उमेश मुडभरीको साथबाट भने कम्पनीको लोगो सहितको ६ थान मोनिटर बरामद गरिएको छ । उनको साथबाट कुल २८६ थान मोनिटर प्रहरीले बरामद गरेको छ ।

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ । मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ ।

अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । ‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ’, उनले भने, ‘टोलीको प्रतिवेदन प्राप्त भएपछि काम थालिन्छ ।’ पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गरिने छ ।

मोतिहारी–अमलेखगञ्ज पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७० प्रतिशतभन्दा बढी काम पूरा भएको छ । दोस्रो चरणमा भारतीय आयल निगमले बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई ‘पेट्रोल ट्यांक’, दुई सय ५० किलोलिटर क्षमताका दुई ‘ट्रान्समिक्स ट्यांक’, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित ‘लोडिङ वे–रिफिलर’, ‘पम्प हाउस’ र प्रयोगशाला निर्माण गरेको प्रमुख उपाध्यायले बताए ।

शेयर बजारमा उत्साह, ५ अर्बमाथिको कारोबार 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अंकको वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् कर्जा प्रवाह विस्तारमा केही लचिलो नीति लिएपछि त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो ।

आज परिसूचक ४५ दशमलव ६९ अंकले बढेर दुई हजार ६४ दशमलव ४५ को बिन्दुमा कायम भएको छ । आज तीन सय २३ कम्पनीको एक करोड २२ लाख ४० हजार आठ सय दुई कित्ता सेयर ७४ हजार नौ सय ९१ पटक खरिदबिक्री भयो भने पाँच अर्ब २५ करोड १० लाख २५ हजार बराबरको कारोबार भयो ।

सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह चार दशमलव ३८ र निर्जीवन बीमा समूह तीन दशमलव ८१ प्रतिशतले बढेको छ ।

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि शुक्रबार सुन तोलामा १ लाख ३९ हजार ३०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५०  रुपैयाँ थियो ।

प्रकाशित मिति : ६ जेठ २०८१, आइतबार  ६ : ०८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको