सुदूरको नियति : प्रस्तावित गेटा मेडिकल कलेजमा अर्बौँका भवन बने, सञ्चालन नहुँदा गेटमै बसेर बिरामीको चेकजाँच « Khabarhub

सुदूरको नियति : प्रस्तावित गेटा मेडिकल कलेजमा अर्बौँका भवन बने, सञ्चालन नहुँदा गेटमै बसेर बिरामीको चेकजाँच



अत्तरिया– सुदूरपश्चिमवासीलाई सुदूरपश्चिममै बसेर चिकित्सा शिक्षा अध्यापन गर्ने सपना देख्न थालेको दशकौँ बितिसकेको छ ।

सुदूरपश्चिम बाहेकका सबैजसो प्रदेशमा चिकित्सा शिक्षा अध्यापन भइरहेको भए पनि यस क्षेत्रमा भने अहिलेसम्म स्तरीय अस्पताल समेत सञ्चालन हुन सकेको छैन । जसका कारण यस क्षेत्रका जनता कि अन्य प्रदेशमा जान बाध्य छन्, कि त भारतीय अस्पतालतिर धाउने गरेका छन् ।

लामो समयको सङ्घर्षपछि हाल कैलालीको गेटामा चिकित्सा शिक्षासँगै सुविधा सम्पन्न ६ सय बेडको अस्पताल सञ्चालन गर्ने भनेर भौतिक संरचना निर्माण गरिएको भए पनि अझै अस्पताल सञ्चालनमा आएको छैन ।

चिकित्सा शिक्षा अध्यापनका लागि कुन मोडालिटीमा जाने भन्ने अन्योल पनि अझै कायमै छ । गेटामा करिब साढे ४ अर्बको लागतमा अस्पताल, कलेज, छात्रावास, आवास लगायत २९ वटा आधुनिक भवनहरू निर्माण भइसकेका छन् ।

सङ्घीय सरकारमार्फत भवन निर्माण गरिएका भए पनि सञ्चालनमा बेवास्ता गरिँदा अहिले यस क्षेत्रमा विभिन्न आन्दोलनका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

आन्दोलनका क्रममा मंगलबार प्रस्तावित गेटा मेडिकल कलेजको गेट (प्रवेशद्वार) मा दबाबमूलक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

गेटा मेडिकल विश्वविद्यालय सञ्चालनार्थ सङ्घर्ष समिति कैलालीले गेटा मेडिकल विश्वविद्यालय अन्तर्गत अस्पताल सञ्चालनार्थ दबाबमूलक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

अस्पतालको गेटमा गरिएको शिविरमा यस क्षेत्रका पदमा अस्पताल, अत्तरिया अस्पताल, माया मेट्रो अस्पताल, सुदूरपश्चिम सामुदायिक अस्पताल, गोदावरी पोलिक्लिनिक प्रालिका चिकित्सकहरूले बिरामी चेकजाँच गरेका थिए ।

उक्त शिविरमा डा. नर बहादुर मौनी, डा. आनन्द पाठक, डा. वीरेन्द भण्डारी, डा. सुनिल चन्द, डा. नारायण प्रसाद पौडेल, डा. ब्रिजेश शाह, डा. ढाकाराम लामिछाने, डा. विकास रिजाल लगायतले निःशुल्क रूपमा बिरामी चेकजाँच गरेका थिए ।

गेटामै उपचार पाउने आशामा बिरामी

गेटा मेडिकल विश्वविद्यालय अन्तर्गत अस्पताल सञ्चालनार्थ दबाब दिन आयोजनामा गरिएको शिविरमा उपचार गराउन आएका बिरामीहरूले छिट्टै गेटामा उपचार पाउने आशा गरेका छन् ।

अर्बौँका भवन प्रयोगविहीन बनिरहँदा प्रवेशद्वारमा चेकजाँच गराएका बिरामीहरूले सरकारले यस क्षेत्रका जनताको स्वास्थ्य समस्यालाई बुझेर चाँडो अस्पताल सञ्चालन गरिनुपर्ने माग समेत गरेका थिए ।

पेटको उपचार गराउन शिविरमा पुगेकी अत्तरियाकी लक्ष्मी विष्टले गेटामा निर्माण गरिएका भवनमा अस्पताल सञ्चालन भएमा उपचार गराउन निकै सहज हुने बताइन् ।

‘छिटो मेडिकल कलेज सञ्चालन भइदिएको भए हामीलाई यस क्षेत्रबाट स्वास्थ्य सेवा लिन सहज हुने थियो,’ उनले भनिन्, ‘अहिले यति ठूला भवन बनिसक्दा पनि कि काठमाडौं कि त भारत धाउनुपर्ने बाध्यता छ ।’

अत्तरियाकी कमला भट्टले पनि छिटो अस्पताल सञ्चालन भए उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने आशा व्यक्त गरिन् ।

खबरहबसँगको कुराकानीमा उनले भनिन्, ‘शिविरभन्दा पनि यहीँ नियमित उपचार गर्न पाए सहज हुन्थ्यो ।’

गोदावरीका सुरज विष्टले छिटोभन्दा छिटो अस्पताल सञ्चालन भएर चिकित्सा शिक्षाको अध्यापन हुनुपर्ने बताए । उनले जतिसक्दो चाँडो अस्पताल सञ्चालनमा आउनुपर्ने धारणा राखे ।

गेटा मेडिकल विश्वविद्यालय सञ्चालनार्थ सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले मोडालिटीको विषयमा अब बहस नगरी यथाशीघ्र मेडिकल विश्वविद्यालय स्थापना गरिनुपर्ने बताए ।

स्वास्थ्य शिविर सञ्चालन गरिनु पूर्व आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यसै वर्ष अस्पताल सञ्चालन गर्ने भने पनि हालसम्म अस्पताल सञ्चालन हुने सङ्केत नदेखिएकाले सरकारलाई चुनौती दिन गेटमै अस्पतालका सेवा दिइएको बताए ।

‘अझै पनि हाम्रा माग पूरा नगरिए हामी अझै सशक्त रूपमा आन्दोलन गर्नेछौँ,’ उनले भने, ‘अब जबसम्म विद्यार्थी एप्रोन लगाएर यस ठाउँमा पढ्न आउँदैनन्, जबसम्म यहाँ अस्पताल सञ्चालन हुँदैन, तबसम्म आन्दोलन जारी रहने छ ।’

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : ४० बजे

कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी

ज्ञानेन्द्र शाहीले भने- देशको प्रधानमन्त्रीले हचुवाका भरमा हैन, तथ्य र प्रमाणमा टेकेर बोल्नुपर्‍यो 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

भारत भ्रमणमा जापानी प्रधानमन्त्री ताकाइची, सेमिकन्डक्टर, एआई र इन्डो–प्यासिफिक सहकार्यमा वार्ता हुने

काठमाडौं- जापानकी प्रधानमन्त्री सनाए ताकाइची तीनदिने औपचारिक भ्रमणका लागि बुधबार भारतको

संसद्‍मा कांग्रेसले भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्

काठमाडौं–  नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले राहदानी (पासपोर्ट) छपाइ प्रकरणमा

थाइल्यान्डमा बसोबास गर्ने नेपालीलाई कृषिमन्त्रीले भनिन्- अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकासमा उपयोग गरौँ

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग थाइल्यान्डमा बसोबास गर्ने