७७७ चार्ली : दृश्य भाषा बलियो भएको फिल्म  | Khabarhub Khabarhub

७७७ चार्ली : दृश्य भाषा बलियो भएको फिल्म 



काठमाडौँ– केही समय यता दक्षिण भारतीय फिल्मको दर्शक बढिरहेका छन् । केजीएफमार्फत चिनिएको कन्नडा फिल्म उद्योगका दर्शक विश्वमै बढ्दै छन् । किनकी उनीहरुले केजीएफ जस्ता फिल्म मात्र नभई ‘७७७ चार्ली’ जस्तो फिल्म पनि दर्शक माझ ल्याइरहेका छन् । कुनै फिल्ममा दृश्यले दर्शकलाई मोहित बनाइरहेको छ भने कुनै फिल्मको कथाले दर्शकको आँखा रुझाएका छन् ।

प्रदर्शनरत फिल्म ‘७७७ चार्ली’ ले दर्शकलाई कथासँग राम्रोसँग कनेक्ट गर्छ । फिल्मको भाषा होइन, दृश्य भाषा बलियो हुनुपर्छ भन्ने यसले प्रस्ट्याएको छ । फिल्ममा चार्ली नामक कुकुर र रक्षित शेट्टी मुख्य भूमिकामा छन् । कथा यी दुईको वरपर घुमेको छ । फिल्मले कुकुर र मान्छेबीचको मित्रताको कथा भन्छ ।

चार्ली बोल्दैन तर उसको दृश्यले दर्शकलाई मोहित बनाउँछ । उसलाई अप्ठ्यारो पर्दा दर्शकलाई सकस हुन्छ । चार्लीको पीडा दर्शकले महसुस गर्छन । यो नै निर्देशक किरणराज केको सफलता हो । जीवनप्रति निराशावादी रहेको मुख्य पात्रको जीवनमा कुकुरको प्रवेशले ल्याउने परिवर्तन र जीवनप्रतिको आशालाई फिल्मले चित्रण गर्छ । फिल्ममा चार्ली नामक कुकुर र रक्षितसँगै संगीता श्रींगेरी र राज सेट्टीको मुख्य अभिनय छ । यद्यपि फिल्मले याद दिलाउने दुई पात्र चार्ली र धर्मा (रक्षीत) मात्र हुन् ।

फिल्मको कथा सामान्य छ । धर्मा जीवनमा एक्ला छन् । उनको दैनिकी निकै एक्लो छ । उनको दैनिकी घर र फ्याक्ट्री बाहेक अन्य छैन । उनलाई छिमेकी र कोलोनीको समेत मतलब छैन । फ्याक्ट्रीमा समेत उनी एक्ला छन् । उनले साथी बनाएका छैनन् । एक्लै काम गर्न र रहन रुचाउँछन् । उनले फ्याक्ट्रीबाट बिदा समेत लिएका छैनन् । बिहानको खान फ्याक्ट्रीको मेसमा र बेलुकी इडली उनको दैनिकी हो । उनी एक्लो हुनुको आफ्नै कारण छ । यो फिल्म हेर्ने क्रममा बुझ्दा नै रमाइलो हुन्छ । धर्माको परिचय छिमेकी बालबालिकामाझ भिलेन गज्जबको झैँ छ । किनकी उनलाई देखेपछि बच्चाहरू सतर्क मात्र हुँदैनन्डराउँछन् पनि । उनीहरूका बुवा आमाले खाना खुवाँउदा पनि धर्माको डर देखाउने गर्छन । 

यहा निर्देशकले धर्माको क्यारेक्टरलाई स्थापित गर्ने र बुझाउने गज्जबको शैली अपनाएका छन् । धर्माको जीवन अस्तव्यस्त छ । यिनै धर्मा एकदिन स्टेज कार्यक्रमलाई रोक्न पुग्छन् । उनी निदाउन नसक्ने भएपछि उनले स्टेज कार्यक्रम तोडफोड गरेर बन्द गरिदिन्छन् । किनकी उनी रिसाहा पनि छन् । उनमा माया रत्तिभर छैन । किनकी उनी सोसल पनि छैनन् । उनले स्टेज कार्यक्रमको कारण ध्वनि प्रदुषणले भोगेको पीडा चार्लीले पनि भोगेकी हुन्छिन् । आफ्नो समस्यालाई समाधान गरिदिएको देखेपछि चार्ली धर्मा तर्फ आकर्षित हुन्छिन् । उनी धर्माको पछि पछि आउछिन्यद्यपि धर्मा एक्ला छन् । उनलाई माया भन्ने महसुस नभएको लामो समय भइसकेको छ । 

चार्ली पानीमा भिज्दा, खाना नपाउँदा समेत धर्मालाई असर गर्दैन ।  धर्माले फ्यालेको इडली खाएर जीविकोपार्जन गरिरहेकी चार्लीको एक दिन दुर्घटना हुन्छ ।  उसलाई मोटरबाइकले ठक्कर दिन्छ । चार्ली मर्यो होला भनेर छिमेकीले छाडेपछि धर्माले डाक्टर कहाँ पुर्याउछन् । उपचार गरेपछि डाक्टरले चार्लीलाइ केही दिन आफूसँग राख्न सल्लाह दिन्छन् । त्यसपछि डाक्टरले कुनै परिवारलाई जिम्मा लगाई दिने बताएका हुन्छन् । कोलोनीमा कुकुर ल्याउन नपाइने भएता पनि अन्तत चार्ली धर्माको घर पुग्छिन् । 

त्यसपछि धर्माको एक्लो जीवन शान्त रहँदैन । चार्लीले धर्माको जीवनलाई रमाइलो बनाउँछिन् । चार्लीको क्रियाकलापले धर्मा स्थिर रहदैनन् । त्यस्ता हर्कतले धर्मा दिक्दार भइसकेका हुन्छन । तर, एक्लो जीवन बताईरहेका धर्मालाई चार्लीले विस्तारै सोसल बनाइरहेकी हुन्छिन् । यद्यपि धर्मा खुसी छैनन् । किनकी उनी एक्लो जीवनमा रमाउन थालिसकेका छन् । तर, चार्ली शान्त रहने कुरा नै छैन । किनकी बाहिर समाजबाट खतरा महसुस गरिरहेकी चार्लीले धर्मासँग आफूलाई सुरक्षित महसुस गर्न थालिसकेकी छिन् । 

केही दिन पश्चात धर्मालाई डाक्टरको फोन आउँछ । उनलाई ‘डग लाइसेन्स’ बनाउन सुझाउँछन्, डाक्टरले । उनी आफ्नो चार्ली लिएर लाइसेन्स लिन पुग्छन् । त्यहाँ उनको भेट डाक्टर देविका (संगीता) सँग हुन्छ । कुकर प्रेमी देविकाले धर्मालाई कुकरको खानपान देखि राख्ने शैलीसँग परिचित गराउँछिन् । धर्मा पनि चार्लीलाई एडप्ट गर्ने परिवार नपाउँदासम्म आफैँसँग राख्न बाध्य हुन्छन । 

एकदिन चार्लीलाई एडप्ट गर्ने परिवार भेटिन्छ । डाक्टरले उनलाई धर्माको घर ल्याउँछन्धर्माले पनि चार्लीलाई जिम्मा लगाएर पठाउँछन् । आफूले विश्वास गरेको धर्माले अरुसँग पठाउँदा चार्लीको आँखामा दुखित भाव प्रस्टिन्छ । चार्ली घरमा नहुँदा धर्माले एक्लोपन फिल गर्छन । चार्लीको आगमनले पारिवारिक अनुभूत गरिरहेका धर्मालाई विस्तारै एक्लोपनको महसुस हुन्छ । 

धर्माले चार्लीको लाइसेन्स ट्रान्सफर गर्नु पर्ने हुन्छ । उनी चार्लीलाई लिएर गएको परिवारको घर पुग्छन् । त्यहाँ पुग्दा उनलाई परिवारले चार्ली प्रति गर्ने व्यवहार मन पर्दैन । चार्ली देख्ने बित्तिकै उनले आफ्नो एक्लोपन हटेको महसुस गर्छन । धर्मा फिल्ममा पहिलोपटक यही दृश्यमा हास्छन् । यहाँसम्म फिल्म आइपुग्दा दर्शक यी दुईसँग कनेक्ट भइसकेका हुन्छन । 

चार्लीलाई घर लिएर आएपछि धर्माले परिवारको महत्व बुझछन् । उनलाई आफ्नो परिवार नभएको पछुतो हुँदैन । उनीसँग डराउने छिमेकी अब घुलमिल हुन्छिन् । छिमेकी बच्चा त चार्लीसँग खेल्न धर्माको घर नै आउछिन् । धर्मा फ्याक्ट्रीमा पनि सबैसँग हासरे बोल्न थाल्छन् । उनी सामाजिक भएको सबैले महसुस गर्छन । यो सब चार्लीको कारण सम्भव भएको हो । किनकी चार्लीले धर्मालाई परिवारको कमी पुरा गरेकी हुन्छिन् । उनीहरुको सामिप्यताला पर्दा बाहिरबाट हेरिरहेका दर्शकले सम्म महसुस गर्छन । एकदिन चार्ली बिरामी हुन्छिन् । त्यसपछि उनलाई लिएर धर्मा हस्पिटल पुग्छन् । त्यहाँ थाहा हुन्छ , चार्लीलाई कुनै रोग लागेको छ । 

जसले गर्दा उनको आयु छोटिएको छ । चार्ली कहाँ बाट आएकी हुन् ? यसबारे धर्मा अनविज्ञ छन् । यद्यपि चार्ली बिरामी भएको थाहा पाएपछि उनमा पीडा प्रस्टै देखिन्छ । उनले परिवारको सदस्यलाई गुमाउँदैछन् भन्ने पिडालाई धर्माको अनुहारमा मात्र होइन दर्शकमा समेत देखिन्छ । यसैबीच एकदिन चार्लीलाई टिभीमा हिउँ देखेर रमाइरहेको देखेपछि उनले त्यसलाई पूर्णता दिने सोच बनाएछन् । उनले चार्लीलाई हिउँमै पुर्‍याउने सोच बनाएर यात्रा तय गर्ने निधो गर्छन । त्यो यात्रामा आउने उतारचढावलाई फिल्ममा देखाइएको छ । 

चार्ली बाँच्छिन् या बाच्दिनन् ? फ्याक्ट्री छाडेर धर्माले टुर गराउन सक्छन्? सामान्य जीवन शैलीमा चलिरहेका धर्मालाई आर्थिक सहजता कत्तिको छ ? यी सब कुरालाई निर्देशक किरणराजले प्रस्तुत गरेका छन् । उनको निर्देशकीय क्षमताले रक्षितले गरेको अभिनय जीवन्त देखिएको छ । चार्लीले पनि परिवेश र दृश्य अनुसारको हाउभाउ दिएकी छिन् । दर्शकले सजिलै उनको सुख, दुखलाई महसुस गर्छन । फिल्मको दुई पाङ्ग्रा नै रक्षीत र चार्ली हुन् अनि बाटो कथा । यी तीनै पक्ष सशक्त रुपमा बधिएका छन् । नत कथालाई  पटकथामा ल्याउँदा समस्या देखिएको छ । नत रक्षित र चार्लीको सामिप्यतामा

सन् २०१० बाट अभिनय यात्राको प्रारम्भ गरेका रक्षीतले कन्टेनयुक्त फिल्म मार्फत आफ्नो छुट्टै फ्यानको समुह बनाइसकेका छन् । उनको फिल्ममा भव्यता कथामा देख्न पाइन्छ । सरल र सहज कथालाई त्यही अनुरूप चित्रण गरिने शैलीकै कारण रक्षीतले सुस्त गतिमा फ्यान बढाएका छन् । कन्नडा फिल्म उद्योगकै यशको फ्यान तीब्र गतिमा बढिरँहदा रक्षित पनि त्यही पथमा छन् । केजीएफ जस्ता फिल्मले आँखालाई आनन्द दिएता पनि ‘७७७ चार्ली’ ले मनलाई आनन्द दिन्छ । आफ्नै समाज, टोल र छिमेकको कथालाई रक्षीतले फिल्मी शैलीमा प्रस्तुत गर्ने गरेका छन् । पछिल्लो समय रक्षीतलाई उनका फ्यानले ‘कन्नडा टम ह्याङ्क्स’ समेत भन्न थालेका छन् । उनको फिल्म छान्ने शैली, अभिनयले त्यसको झल्को समेत दिन्छ ।

रक्षीतले यी फिल्ममा अभिनय मात्र गरेका छैनन् । निर्माणमा समेत सघाएका छन् । आज उनको दर्शक कम छन् होला । यद्यपि यी फिल्महरूले उनलाई सदैव दर्शक बढाउन मदत गर्नेछ । चार्लीको इच्छा पुरा गर्न रक्षीत तय गर्ने यात्राले जीवनको महत्वलाई बुझाउँछमानवहरु बीच नै मानवता हराइरहेको समयमा चार्ली नामक कुकुरले गर्ने माया र सामिप्यता अर्गानिक छ । तपाई पनि स-परिवार फिल्म हेर्दै हास्न, रुन र महसुस गर्न चाहनुहुन्छ भने, ‘७७७  चार्ली’ ले निराश बनाउदैन। तपाईँलाई कुकुर मन पर्दैन भने पनि यसले तपाईंलाई कनेक्ट गर्छ । किनकी चार्लीको पृष्ठभूमि र धर्माको जीवन उस्तै छ । फरक केवल एक कुकुर र एक मानव हुन् । ‘७७७ चार्ली’ आज कतिले हेर्छन् वा कतिले यसको चर्चा गर्छन ? यो भन्न सकिन्न तर धेरै समयपछिसम्म पनि यसको चर्चा हुनेछ । जति चर्चा हुनेछ , त्यति नै दर्शक बढ्नेछन् । किनकी आतिम्यता र भावनाको भाषा त सबैका लागि उस्तै हो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : ३१ बजे

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल

भोजपुर सदरमुकाममा आगलागी, एक घर जलेर नष्ट

भोजपुर सदरमुकाममा मंगलबार बिहान आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयबाट

बागलुङका ३८ वनमा आगलागी

बागलुङ– बागलुङमा गत फागुनदेखि अहिलेसम्म ३८ वटा सामुदायिक वनमा आगलागी

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस

सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।