काठमाडौँ– केही समय यता दक्षिण भारतीय फिल्मको दर्शक बढिरहेका छन् । केजीएफमार्फत चिनिएको कन्नडा फिल्म उद्योगका दर्शक विश्वमै बढ्दै छन् । किनकी उनीहरुले केजीएफ जस्ता फिल्म मात्र नभई ‘७७७ चार्ली’ जस्तो फिल्म पनि दर्शक माझ ल्याइरहेका छन् । कुनै फिल्ममा दृश्यले दर्शकलाई मोहित बनाइरहेको छ भने कुनै फिल्मको कथाले दर्शकको आँखा रुझाएका छन् ।
प्रदर्शनरत फिल्म ‘७७७ चार्ली’ ले दर्शकलाई कथासँग राम्रोसँग कनेक्ट गर्छ । फिल्मको भाषा होइन, दृश्य भाषा बलियो हुनुपर्छ भन्ने यसले प्रस्ट्याएको छ । फिल्ममा चार्ली नामक कुकुर र रक्षित शेट्टी मुख्य भूमिकामा छन् । कथा यी दुईको वरपर घुमेको छ । फिल्मले कुकुर र मान्छेबीचको मित्रताको कथा भन्छ ।
चार्ली बोल्दैन तर उसको दृश्यले दर्शकलाई मोहित बनाउँछ । उसलाई अप्ठ्यारो पर्दा दर्शकलाई सकस हुन्छ । चार्लीको पीडा दर्शकले महसुस गर्छन । यो नै निर्देशक किरणराज केको सफलता हो । जीवनप्रति निराशावादी रहेको मुख्य पात्रको जीवनमा कुकुरको प्रवेशले ल्याउने परिवर्तन र जीवनप्रतिको आशालाई फिल्मले चित्रण गर्छ । फिल्ममा चार्ली नामक कुकुर र रक्षितसँगै संगीता श्रींगेरी र राज सेट्टीको मुख्य अभिनय छ । यद्यपि फिल्मले याद दिलाउने दुई पात्र चार्ली र धर्मा (रक्षीत) मात्र हुन् ।
फिल्मको कथा सामान्य छ । धर्मा जीवनमा एक्ला छन् । उनको दैनिकी निकै एक्लो छ । उनको दैनिकी घर र फ्याक्ट्री बाहेक अन्य छैन । उनलाई छिमेकी र कोलोनीको समेत मतलब छैन । फ्याक्ट्रीमा समेत उनी एक्ला छन् । उनले साथी बनाएका छैनन् । एक्लै काम गर्न र रहन रुचाउँछन् । उनले फ्याक्ट्रीबाट बिदा समेत लिएका छैनन् । बिहानको खान फ्याक्ट्रीको मेसमा र बेलुकी इडली उनको दैनिकी हो । उनी एक्लो हुनुको आफ्नै कारण छ । यो फिल्म हेर्ने क्रममा बुझ्दा नै रमाइलो हुन्छ । धर्माको परिचय छिमेकी बालबालिकामाझ भिलेन गज्जबको झैँ छ । किनकी उनलाई देखेपछि बच्चाहरू सतर्क मात्र हुँदैनन् । डराउँछन् पनि । उनीहरूका बुवा आमाले खाना खुवाँउदा पनि धर्माको डर देखाउने गर्छन ।
यहा निर्देशकले धर्माको क्यारेक्टरलाई स्थापित गर्ने र बुझाउने गज्जबको शैली अपनाएका छन् । धर्माको जीवन अस्तव्यस्त छ । यिनै धर्मा एकदिन स्टेज कार्यक्रमलाई रोक्न पुग्छन् । उनी निदाउन नसक्ने भएपछि उनले स्टेज कार्यक्रम तोडफोड गरेर बन्द गरिदिन्छन् । किनकी उनी रिसाहा पनि छन् । उनमा माया रत्तिभर छैन । किनकी उनी सोसल पनि छैनन् । उनले स्टेज कार्यक्रमको कारण ध्वनि प्रदुषणले भोगेको पीडा चार्लीले पनि भोगेकी हुन्छिन् । आफ्नो समस्यालाई समाधान गरिदिएको देखेपछि चार्ली धर्मा तर्फ आकर्षित हुन्छिन् । उनी धर्माको पछि पछि आउछिन् । यद्यपि धर्मा एक्ला छन् । उनलाई माया भन्ने महसुस नभएको लामो समय भइसकेको छ ।
चार्ली पानीमा भिज्दा, खाना नपाउँदा समेत धर्मालाई असर गर्दैन । धर्माले फ्यालेको इडली खाएर जीविकोपार्जन गरिरहेकी चार्लीको एक दिन दुर्घटना हुन्छ । उसलाई मोटरबाइकले ठक्कर दिन्छ । चार्ली मर्यो होला भनेर छिमेकीले छाडेपछि धर्माले डाक्टर कहाँ पुर्याउछन् । उपचार गरेपछि डाक्टरले चार्लीलाइ केही दिन आफूसँग राख्न सल्लाह दिन्छन् । त्यसपछि डाक्टरले कुनै परिवारलाई जिम्मा लगाई दिने बताएका हुन्छन् । कोलोनीमा कुकुर ल्याउन नपाइने भएता पनि अन्तत चार्ली धर्माको घर पुग्छिन् ।
त्यसपछि धर्माको एक्लो जीवन शान्त रहँदैन । चार्लीले धर्माको जीवनलाई रमाइलो बनाउँछिन् । चार्लीको क्रियाकलापले धर्मा स्थिर रहदैनन् । त्यस्ता हर्कतले धर्मा दिक्दार भइसकेका हुन्छन । तर, एक्लो जीवन बताईरहेका धर्मालाई चार्लीले विस्तारै सोसल बनाइरहेकी हुन्छिन् । यद्यपि धर्मा खुसी छैनन् । किनकी उनी एक्लो जीवनमा रमाउन थालिसकेका छन् । तर, चार्ली शान्त रहने कुरा नै छैन । किनकी बाहिर समाजबाट खतरा महसुस गरिरहेकी चार्लीले धर्मासँग आफूलाई सुरक्षित महसुस गर्न थालिसकेकी छिन् ।
केही दिन पश्चात धर्मालाई डाक्टरको फोन आउँछ । उनलाई ‘डग लाइसेन्स’ बनाउन सुझाउँछन्, डाक्टरले । उनी आफ्नो चार्ली लिएर लाइसेन्स लिन पुग्छन् । त्यहाँ उनको भेट डाक्टर देविका (संगीता) सँग हुन्छ । कुकर प्रेमी देविकाले धर्मालाई कुकरको खानपान देखि राख्ने शैलीसँग परिचित गराउँछिन् । धर्मा पनि चार्लीलाई एडप्ट गर्ने परिवार नपाउँदासम्म आफैँसँग राख्न बाध्य हुन्छन ।
एकदिन चार्लीलाई एडप्ट गर्ने परिवार भेटिन्छ । डाक्टरले उनलाई धर्माको घर ल्याउँछन् । धर्माले पनि चार्लीलाई जिम्मा लगाएर पठाउँछन् । आफूले विश्वास गरेको धर्माले अरुसँग पठाउँदा चार्लीको आँखामा दुखित भाव प्रस्टिन्छ । चार्ली घरमा नहुँदा धर्माले एक्लोपन फिल गर्छन । चार्लीको आगमनले पारिवारिक अनुभूत गरिरहेका धर्मालाई विस्तारै एक्लोपनको महसुस हुन्छ ।
धर्माले चार्लीको लाइसेन्स ट्रान्सफर गर्नु पर्ने हुन्छ । उनी चार्लीलाई लिएर गएको परिवारको घर पुग्छन् । त्यहाँ पुग्दा उनलाई परिवारले चार्ली प्रति गर्ने व्यवहार मन पर्दैन । चार्ली देख्ने बित्तिकै उनले आफ्नो एक्लोपन हटेको महसुस गर्छन । धर्मा फिल्ममा पहिलोपटक यही दृश्यमा हास्छन् । यहाँसम्म फिल्म आइपुग्दा दर्शक यी दुईसँग कनेक्ट भइसकेका हुन्छन ।
चार्लीलाई घर लिएर आएपछि धर्माले परिवारको महत्व बुझछन् । उनलाई आफ्नो परिवार नभएको पछुतो हुँदैन । उनीसँग डराउने छिमेकी अब घुलमिल हुन्छिन् । छिमेकी बच्चा त चार्लीसँग खेल्न धर्माको घर नै आउछिन् । धर्मा फ्याक्ट्रीमा पनि सबैसँग हासरे बोल्न थाल्छन् । उनी सामाजिक भएको सबैले महसुस गर्छन । यो सब चार्लीको कारण सम्भव भएको हो । किनकी चार्लीले धर्मालाई परिवारको कमी पुरा गरेकी हुन्छिन् । उनीहरुको सामिप्यताला पर्दा बाहिरबाट हेरिरहेका दर्शकले सम्म महसुस गर्छन । एकदिन चार्ली बिरामी हुन्छिन् । त्यसपछि उनलाई लिएर धर्मा हस्पिटल पुग्छन् । त्यहाँ थाहा हुन्छ , चार्लीलाई कुनै रोग लागेको छ ।
जसले गर्दा उनको आयु छोटिएको छ । चार्ली कहाँ बाट आएकी हुन् ? यसबारे धर्मा अनविज्ञ छन् । यद्यपि चार्ली बिरामी भएको थाहा पाएपछि उनमा पीडा प्रस्टै देखिन्छ । उनले परिवारको सदस्यलाई गुमाउँदैछन् भन्ने पिडालाई धर्माको अनुहारमा मात्र होइन दर्शकमा समेत देखिन्छ । यसैबीच एकदिन चार्लीलाई टिभीमा हिउँ देखेर रमाइरहेको देखेपछि उनले त्यसलाई पूर्णता दिने सोच बनाएछन् । उनले चार्लीलाई हिउँमै पुर्याउने सोच बनाएर यात्रा तय गर्ने निधो गर्छन । त्यो यात्रामा आउने उतारचढावलाई फिल्ममा देखाइएको छ ।
चार्ली बाँच्छिन् या बाच्दिनन् ? फ्याक्ट्री छाडेर धर्माले टुर गराउन सक्छन्? सामान्य जीवन शैलीमा चलिरहेका धर्मालाई आर्थिक सहजता कत्तिको छ ? यी सब कुरालाई निर्देशक किरणराजले प्रस्तुत गरेका छन् । उनको निर्देशकीय क्षमताले रक्षितले गरेको अभिनय जीवन्त देखिएको छ । चार्लीले पनि परिवेश र दृश्य अनुसारको हाउभाउ दिएकी छिन् । दर्शकले सजिलै उनको सुख, दुखलाई महसुस गर्छन । फिल्मको दुई पाङ्ग्रा नै रक्षीत र चार्ली हुन् अनि बाटो कथा । यी तीनै पक्ष सशक्त रुपमा बधिएका छन् । नत कथालाई पटकथामा ल्याउँदा समस्या देखिएको छ । नत रक्षित र चार्लीको सामिप्यतामा ।
सन् २०१० बाट अभिनय यात्राको प्रारम्भ गरेका रक्षीतले कन्टेनयुक्त फिल्म मार्फत आफ्नो छुट्टै फ्यानको समुह बनाइसकेका छन् । उनको फिल्ममा भव्यता कथामा देख्न पाइन्छ । सरल र सहज कथालाई त्यही अनुरूप चित्रण गरिने शैलीकै कारण रक्षीतले सुस्त गतिमा फ्यान बढाएका छन् । कन्नडा फिल्म उद्योगकै यशको फ्यान तीब्र गतिमा बढिरँहदा रक्षित पनि त्यही पथमा छन् । केजीएफ जस्ता फिल्मले आँखालाई आनन्द दिएता पनि ‘७७७ चार्ली’ ले मनलाई आनन्द दिन्छ । आफ्नै समाज, टोल र छिमेकको कथालाई रक्षीतले फिल्मी शैलीमा प्रस्तुत गर्ने गरेका छन् । पछिल्लो समय रक्षीतलाई उनका फ्यानले ‘कन्नडा टम ह्याङ्क्स’ समेत भन्न थालेका छन् । उनको फिल्म छान्ने शैली, अभिनयले त्यसको झल्को समेत दिन्छ ।
रक्षीतले यी फिल्ममा अभिनय मात्र गरेका छैनन् । निर्माणमा समेत सघाएका छन् । आज उनको दर्शक कम छन् होला । यद्यपि यी फिल्महरूले उनलाई सदैव दर्शक बढाउन मदत गर्नेछ । चार्लीको इच्छा पुरा गर्न रक्षीत तय गर्ने यात्राले जीवनको महत्वलाई बुझाउँछ । मानवहरु बीच नै मानवता हराइरहेको समयमा चार्ली नामक कुकुरले गर्ने माया र सामिप्यता अर्गानिक छ । तपाई पनि स-परिवार फिल्म हेर्दै हास्न, रुन र महसुस गर्न चाहनुहुन्छ भने, ‘७७७ चार्ली’ ले निराश बनाउदैन। तपाईँलाई कुकुर मन पर्दैन भने पनि यसले तपाईंलाई कनेक्ट गर्छ । किनकी चार्लीको पृष्ठभूमि र धर्माको जीवन उस्तै छ । फरक केवल एक कुकुर र एक मानव हुन् । ‘७७७ चार्ली’ आज कतिले हेर्छन् वा कतिले यसको चर्चा गर्छन ? यो भन्न सकिन्न तर धेरै समयपछिसम्म पनि यसको चर्चा हुनेछ । जति चर्चा हुनेछ , त्यति नै दर्शक बढ्नेछन् । किनकी आतिम्यता र भावनाको भाषा त सबैका लागि उस्तै हो ।
प्रतिक्रिया