सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि यी दुई देश बीचको सम्बन्ध सुमधुर हुन सकेन। यत्तिसम्म कि एउटा देशको संस्कृति, कला र त्यहाँका मानिस पनि अर्को देशका लागि रुचिकर भएनन्। तर, इतिहासको कालखण्डमा केही यस्ता व्यक्ति देखिए, जो यी दुवै देशमा उत्तिकै सम्मानित छन्।
इन्जिनियर तथा परोपकारी व्यक्ति सर गङ्गाराम यी दुवै देशमा उत्तिकै सम्मानित भए। उनको नाममा खोलिएको ट्रस्ट र परिवारले दिल्ली र लाहोर दुवै स्थानमा अस्पताल निर्माण गरेका छन्। यस अस्पतालले पनि गङ्गारामलाई दुवै देशमा सम्झने गरिएको छ। पाकिस्तानको लाहोर नै गङ्गारामको घर हो। भारत विभाजित हुने समयमै गङ्गाराम दिल्लीमा बसाइँ सरेर गरेका थिए।
बेलायतबाट स्वतन्त्र भएपछि सन् १९४७ मा भएको आन्तरिक लडाइँमा पाँच लाखको ज्यान गएको थियो भने १ करोड २० लाख घरबारबिहीन भएका थिए। त्यस भन्दा अगाडि नै गङ्गारामले संसार छाडिसकेका थिए। सन् १९२७ मा गङ्गारामको निधन भएको थियो।
सादत हसन मान्टोको लघु कथामा गङ्गारामको जीवनको एउटा पाटो देखाइएको छ। भारत पाकिस्तान विभाजनको समयमा लाहोरमा रहेको गङ्गारामको सालिक अगाडि ढुङ्गा मुढा भएको दृश्य त्यस कथामा अटाइएको छ।
त्यसपछि बनेको सर्ट मुभीमा देखाइए अनुसार विभाजनको समयमा अस्पताल अगाडी नै रहेको गङ्गारामको सालिकमा अतिवादी मुस्लिमले तोडफोड गरेका थिए। हिन्दु नाममा रहेको सालिककै कारण त्यहाँ तोडफोड भएको हो। त्यसै ढुङ्गा मुढा र सालिकमा हमला गर्ने एक जना घाइते भएपछि चिच्याएका थिए। ‘मलाई सर गङ्गाराम अस्पतालमा लैजानु’ भन्दै।
कठोर अनुशासनका पर्याय गङ्गाराम दयालु मनका खानी थिए। आर्किटेक्चर, इन्जिनियरिङ, कृषि र महिला अधिकारका क्षेत्रमा उनको महत्त्वपूर्ण भूमिका रहेको थियो। उनी बिधुवा महिलाको अधिकारका लागि सङ्घर्षरत थिए।
उनकै बारे सन् १९४०मा बाबा प्यारे लाल बेदीले लेखेको ‘हार्भेस्ट फ्रम द डिजर्ट ः द लाइफ एन्ड वर्क बाइ सर गङ्गाराम’बाट धेरै कुरा थाहा पाउन सकिन्छ। गङ्गारामका बाबु दौलतराम उत्तर प्रदेशमा जुनियर पुलिस अफिसर थिए। उनका बाबुले यस स्थान छाडेर बसाइ सरेका थिए। उनको परिवार त्यहाँबाट पन्जाबको अमृत सर पुगेको हो। अमृत सरमै गङ्गारामले सरकारी विद्यालयमा अध्ययन गरेका थिए।
अध्ययनको क्रममा उत्तरी भारत र पाकिस्तानमा भौँतारिएका गङ्गाराम कलेज अध्ययनका लागि लाहोर पुगेका थिए। पछि उनले उत्तराखण्डको थोमस इन्जिनियरिङ कलेजमा इन्जिनियरिङका लागि छात्रवृत्ति पाएका थिए।
उनले छात्रवृत्ति बापत मासिक ५० रुपैयाँ पाउँथे। यसको आधा रकम आफै खर्च गर्थे भने आधा रकम घरमा खर्चका लागि पठाउने गरेका थिए।
सबैभन्दा धेरै अङ्क ल्याएर इन्जिनियरिङ पढिसकेपछि गङ्गारामले सुरुवाती दिनमा कन्हैया लालबहादुर रामको कार्यालयमा काम गरेका थिए। पछि गएर उनी लाहोरको चिफ इन्जिनियर भए। त्यसै समयदेखि लाहोरले गङ्गारामको आर्कीटेक खुबीको भरपुर उपयोग गरेको थियो। गङ्गाराम छाएको समयलाई लाहोरको भौतिक विकासको स्वर्णिम युग पनि मानिन्छ। उच्च कोटीमा सिभिल इन्जिनियरको रूपमा चिनिन थालेका उनले लाहोरलाई नै नयाँ दिसा दिएका हुन्। लाहोर सङ्ग्रहालय, आइटचीसीयोन कलेज, मायो स्कुल अफ आर्ट्स, हुलाक कार्यालय लगायत अनेकौँ मुख्य भुवन उनले तयार गरेको डिजाइनकै आधारमा तयार भएको थियो।
बेदीले आफ्नो पुस्तकमा लेखेका छन्, ‘उनी परम्परागत भारतीय शैलीको प्रयोग गर्थे। तातो र चिसोबाट बचाउन भने पश्चिमा देशका उपकरण यसमा जडान गर्थे। ’ पाकिस्तानी सञ्चारकर्मी खालेद अहमदले गङ्गारामलाई आधुनिक लाहोरको पिताको रूपमा व्याख्या गरेका थिए।
सरकारी जागिरेको रूपमा लाहोरको सहरमा ग्रामीण आर्कीटेकको मिश्रण दिइरहेका गङ्गारामकै ध्यान भने बारम्बार आफू हुर्किएको गाउँमै पुगिरहेको थियो। सन् १९०३ मा सेवा निवृत्त भएपछि उनी विगतको सरकारी सेवा बापत पुरस्कार स्वरूप पाएको चेनाव कोलोनीमा पुगे। त्यही उनले नयाँ ढङ्गको सिंचाई तथा कृषि प्रणाली भएको गङ्गापुरको अवधारणा अगाडी ल्याएका थिए।
उनले त्यहाँ यातायातको व्यवस्था पनि मौलिक ढङ्गले गरे। त्यसलाई नयाँ रूप दिन उनले अत्याधुनिक योजना अगाडि सारेका थिए। बुचीयाना रेल्वे स्टेसनबाट दुई माइल पर गङ्गापुर थियो। त्यहाँ जाने अत्याधुनिक बाटोको विकास भएको थियो।
पन्जाब प्रान्तमै ऊर्जा र सिंचाईका लागि कायापलट काम पनि उनले गरे। यो परियोजनाको स्थापना सन् १९२५ मा भएको थियो। उनमा एकल महिलाको जीवन देखेर दया जाग्न थालेको थियो। यसै कारण उनले बिधुवाहरूको हक हितका लागि आवाज उठाएका थिए। सन् १९१७ मा हिन्दुहरूको धार्मिक सभामा उपस्थित भएका उनले विधुवाले अर्को विवाह गर्न पाउने कुराको वकालत गरेका थिए।
त्यो सभाले गङ्गारामको कुरालाई अनुमोदन त गरेन। तर, उनी आफैले बिधुवा विवाह सङ्घ नै स्थापना गरे। यसको स्थापनामा आफैले २ हजार रुपैयाँ चन्दा दिएका थिए। यसै संस्थाले समाजमा बिधुवा महिलाले भोगेको समस्याका बारे आवाज उठाएको थियो। फेरी विवाहको प्रसङ्ग पनि त्यसै समयमा चलेको थियो। केही बिधुवाहरू फेरी विवाह गर्नका लागि उमेरका कारण अप्ठेरो भएको थियो भने धेरैले यसमा रुचि देखाएनन्।
सरकारकै अनुमतिमा गङ्गारामले सन् १९२१ मा २ लाख ५० हजार रुपैयाँको लागतमा हिन्दु बिधुवा महिला गृह निर्माण गरेका थिए। महिलाहरूलाई सिप सिकाउने र जीवन यापन सहज बनाउने उद्देश्यले यो स्थापना भएको थियो। त्यहाँ विद्यालय, प्रशिक्षण केन्द्र र होस्टेल समेत राखिएका थिए। यही प्रशिक्षण केन्द्रको लाभ लिएर धेरै जनाले ह्यान्डी क्राफ्टको परीक्षा उत्तीर्ण गरे। त्यस पछि आफै प्रशिक्षक पनि भए।
गङ्गारामले आर्थिक कठिनाइ भोगेका हिन्दु र सिख महिलाका लागि लेडी मायनार्ड औद्योगिक स्कुलको स्थापना गरेका थिए। यी इन्जिनियरको नाममा सन् १९२३ मा गङ्गाराम ट्रस्टको स्थापना भएको थियो। त्यसै वर्ष लाहोर सहरको मुटुमा गङ्गाराम सर गङ्गाराम निःशुल्क अस्पताल तथा उपचार केन्द्रको स्थापना भएको थियो। त्यस समयमा यो अस्पताललाई मायो अस्पताल पछिको दोस्रो ठूलो अस्पतालको रूपमा व्याख्या गरिएको थियो। गङ्गारामले बनाएको अस्पताल सर्जीकल र औषधि उपचारको सम्पूर्ण सेवा उपलब्ध भएपछि यसले विपन्न व्यक्तिको स्वास्थ्य उपचारको विषयमा एउटा क्रान्ति नै गरेको थियो।
सन् १९२४ मा उनले ‘ हिन्दु स्टुडेन्ट क्यारियर सोसाइटी’ स्थापना गरेका थिए। यसको उद्देश्य हिन्दु विद्यार्थीलाई रोजगारी दिलाउने थियो। योसँगै उनले सर गङ्गारामले बिजनेस ब्यूरो तथा लाइब्रेरी पनि गठन गरे।
उनले हिन्दु अफाज आश्रम पनि स्थापना गरेका थिए। यसमा धेरे असहायलाई राखिएको थियो। सन् १९२७ मा लन्डनमा उनको निधन भएपछि उनको शवलाई लाहोरमा ल्याएर त्यसै आश्रमको नजिकै अन्त्येष्टि गरिएको थियो।
गङ्गारामको निधनपछि उर्दु लेखक ख्वाजा हसन नेहदीले अरूको खसीका लागि आफ्नो जीवन समर्पित गर्ने एक जना बहादुरलाई भारतले गुमाएको प्रतिक्रिया दिएका थिए। गङ्गारामको त्यही परिवार भारत विभाजन भएपछि लाहोरमा बस्ने सम्भावना थिएन। धार्मिक अतिवादको छायामा पाकिस्तान परेपछि गङ्गारामका सन्तान नयाँ दिल्लीमा शरणार्थीको रूपमा आएका थिए।
कारोलबागमा शरणार्थीका लागि ज्वहारलाल नेहरुले थुप्रै जग्गा राखेका थिए। तत्कालीन प्रधानमन्त्री नेहरुकै साथ र सहयोगमा सन् १९५१ मा नयाँ दिल्लीमा गङ्गाराम अस्पतालको निर्माण भयो। भारत र पाकिस्तान विभाजित छ। तर, उनले गरेको काम र अहिले लाहोर र नयाँ दिल्ली दुवै स्थानमा रहेका गङ्गाराम अस्पतालले दिएको स्वास्थ्य सुविधाले दुवै देशमा गङ्गाराम सम्मानको पात्र भएका छन्। स्रोत : टाइम्स अफ इन्डिया, बीबीसी
प्रतिक्रिया