काठमाडौँ- आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्विडेनकी प्रधानमन्त्री माग्दालेन एन्डरसनले औपचारिक रूपमा राजीनामा दिएकी छन् ।
स्विडेनको सोसल डेमोक्रयाटिक पार्टीबाट प्रधानमन्त्री बनेकी एन्डरसनले स्विडेनको संसदमा राष्ट्रवादी एवम् अध्यागमन विरोधी समूह सम्मिलित दक्षिणपन्थी गुट झिनो अन्तरले विजयी भएपछि दिएकी हुन् ।
एन्डरसनले स्विडेनको तीन सय ४९ सदस्यीय संसद् रिक्सडागका सभामुख एन्ड्रियास नोर्लेनसमक्ष औपचारिक रूपमा राजीनामा दिएकी हुन् । सभामुखले उनको राजीनामा स्वीकृत गरेको जनाइएको छ । उनले नयाँ सरकार गठन नभएसम्म कामचलाऊ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नेछिन् ।
सभामुख नोर्लेनले आगामी साता पार्टीका नेताहरूसँग वार्ता सुरु गर्ने जानकारी दिएका छन् । उनले दक्षिणपन्थी नेता उल्फ क्रिस्टर्सनलाई गठबन्धन सरकार गठनको प्रयास गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ ।
आइतबारको आम निर्वाचनमा दक्षिणपन्थी समूहले एक सय ७६ र बामपन्थी गुटले एक सय ७३ स्थानमा जित हासिल गरेका थिए ।
प्रतिक्रिया