विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

आज भदौ ३० २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १५, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

अडियो सुन्नुहोस्-

युक्रेनी राष्ट्रपति सवार कार दुर्घटना

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार गाडी दुर्घटनामा परेको छ । जेलेन्स्की सवार सवारीको लस्कर राजधानी किभबाट जाने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा राष्ट्रपति जेलेन्स्की सामान्य घाइते भएका उनका प्रवक्ताले बिहीबार जानकारी दिए ।

‘कीभमा एक यात्रुवाहक कार युक्रेनका राष्ट्रपति सवार कार र पछ्याइरहेका गाडीहरूसँग ठोक्कियो’ प्रवक्ता सर्गी निकिफोरोभले भने ।

‘राष्ट्रपतिसँगै आएका चिकित्सकहरूले यात्रुवाहक कारका चालकलाई आपतकालीन सहायता दिए र उनलाई एम्बुलेन्समा स्थानान्तरण गरे’ प्रवक्ताले जारी गरेको फेसबुक पोस्टमा उल्लेख छ ।

जेलेन्स्कीको जाँच गरिएको र गम्भीर चोट नलागेको अमेरिकी टेलिभिजन च्यानल सीएनएनले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान निकायका अधिकारीले छानविन गर्ने प्राप्त विवरणमा जनाइएको छ ।

यसैबीच, दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसले क्षेप्यास्त्र हमला गरेको छ । हमलापछि उक्त क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रमा जान भनिएको छ ।

क्रिभी रिहको दुई वटा जिल्लाका झन्डै दुई दर्जन वस्ती जोखिममा परेको नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले जानकारी दिए । बाँध फुटेको ठाउँमा १०० क्युबिक मिटर प्रति सेकेन्ड (क्युसेक) को गतिमा पानी झरेको जनाइएको छ ।

पाकिस्तानमा आएको बाढीमा परी थप ५ जनाको मृत्यु

पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र पाँच जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८६ को बाढीबाट ज्यान गएको छ ।

त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका जानकारी दिएको छ ।

पाकस्तिानको दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा २४ घन्टा यतामात्र यस बर्षा र बाढीमा परीमा तीन व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी खैबर पाख्तुन्ख्वा प्रान्तमा यस प्रकोपको कारण दुई व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

यहाँका तीन करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् । हजारौँ घर बाढीले बगाएको र लाखौलाख नागरिक घरबिहनी भएर आश्रय लिइरहेका छन् । उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा, पञ्जाव प्रान्तमा पनि बाढीले असर गरेको छ ।

सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिलगिट र बाल्टिस्तान क्षेत्र बाढीको चपेटामा परेका छन् ।बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीले जनाएका छन् । बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

पपुवा न्युगिनीमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १० पुग्यो

पपुवा न्युगिनीमा गत आइतबार गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । यस भूकम्पमा परी अन्य कैंयौैं घाइते भएका छन् ।

उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न थालेपछि मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

पपुवा न्युगिनीमा गत आइतबार बिहान ७ः४६ बजे भूकम्प गएको थियो । यस भूकम्पको केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्व देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा घर र पूर्वाधारमा व्यापक क्षति पुगेको छ । अहिले पनि धनजन क्षति विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।

प्रधानमन्त्री जेम्स मारापेले मुलुकमा आएको शक्तिशाली भूकम्पपछि सतर्क रहन आह्वान गरेका छन् । तर यसको प्रभाव सन् २०१८ को भूकम्पभन्दा कम हुने अपेक्षा गरिएको छ । सन् २०१८ को भूकम्पमा परी १५० जनाको ज्यान गएको थियो ।

सिरियालाई सहयोग गर्न राष्ट्रसङ्घ महासचिवको आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आह्वान गरेका छन् । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह महासचिव गुटरेसले आह्वान गरेका हुन् ।

उनले सिरियाका नागरिकलाई जीविकाका लागि नै सहयोग गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग रकम उपलब्ध गराउन माग गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको बैठकमा महासचिव गुटरेसले विश्व समुदायलाई नै सो आग्रह गरेको समाचारमा जनाइएको छ ।

उनले सिरियाली नागरिकको जीवन बचाउने योजनाका लागि संयुक्त राष्ट्रसङ्घले केही कार्यक्रमहरु बनाएको र त्यसका लागि यस वर्षमात्र कम्तीमा पनि चार करोड ४० लाख अमेरिकी डलर रकम चाहिएको बताए ।

सो रकम सिरियाली नागरिकको जीवन बचाउनका लागि अत्यावश्यक पर्ने मानवीय सहयाताका लागि मात्र आवश्यक रहेको उनले जानकारी दिए ।

साथै उनले यसबाहेक पनि सिरियामा बाहिरबाट आएका शरणार्थी तथा सिरियाबाट भागेर बाहिरिएका शरणार्थीहरुका लागि पनि थप ६१ लाख अमेरिकी डलर आवश्यक रहेको बताए ।

यो सबै गरेर सन् २०२२ का लागि मात्र सिरियाका लागि एक करोड ५ लाख अमेरिकी डलर आवश्यक रहेको जानकारी दिए ।

विगत लामो समयदेखिको आन्तरिक विद्रोह तथा खडेरी लगायतका कारणले गर्दा सिरियाको आर्थिक अवस्था निकै नाजुक रहेको र बालबालिका समेत कुपोषणको शिकार हुदै गएका बताउँदै उनले यस्तो अवस्थामा सिरियाका लागि विशेषतः मानवीय सहयता चाहिएको पनि सो बैठकमा जनाए ।

पाकिस्तानमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी

पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १५०० जनाको मृत्यु भएको बाढीबाट ३ करोड ३० लाख मानिस प्रभावित छन् ।

देशका विभिन्न भागहरूमा उद्धार र निकासीको प्रयास जारी रहँदा स्वास्थ्य विशेषज्ञहरूले डेंगु, मलेरिया र गम्भीर संक्रमणका घटना बढेको जनाएका छन् ।

धेरै विस्थापित मानिसहरू दुर्गन्धित पानी नजिक बसिरहेका छन् । डेंगु ज्वरोले धेरैको ज्यान गुमाइरहेको छ भने मानिसहरू दिनप्रतिदिन संक्रमित बनिरहेका छन् ।

बीबीसीका अनुसार दक्षिणी सिन्ध प्रान्तमा मात्रै स्वास्थ्य अधिकारीहरूले डेंगु ज्वरोका करिब ३ हजार ८३० केस रिपोर्ट गरेका छन् । तीमध्ये कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

‘समग्रमा सिन्धको अवस्था निकै खराब छ । प्रान्तभर हामीले मेडिकल शिविर प्रबन्ध गरिरहेका छौँ । मलेरियापछि अहिले हामी डेंगुका विरामी देखिरहेका छौँ’, पाकिस्तान मेडिकल संघका महासचिव डा. अब्दुल गफुर सोरोले भने ।

अर्को वर्ष कृषिमा आधुनिकीकरण शुरु गर्ने श्रीलंकाली राष्ट्रपतिको घोषणा

श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले श्रीलङ्काले सन् २०२३ देखि कृषिको आधुनिकीकरण शुरु गर्ने बताएका छन् ।

विक्रमासिङघेले खाद्य सुरक्षा र पोषण सुनिश्चित गर्न बहुक्षेत्र संयुक्त समितिको बैठकमा उक्त कुरा बताएका हुन् ।

कृषिको आधुनिकीकरणमार्फत उत्पादन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी कृषिले विदेशी मुद्रा आर्जन गर्न सक्ने उनको भनाइ थियो ।

उनले भने, ‘सन् २०२३ को अन्त्यसम्ममा हामीले आधुनिकीकरण कार्यक्रमलाई तीव्र गतिमा अघि बढाउनुपर्छ। हामीले कृषिबाट विदेशी मुद्रा आर्जन गर्नुपर्छ ।’

‘सन् २०५० सम्ममा हाम्रो जनसङ्ख्या दुई करोड ५० लाख पुग्नेछ। हामीले कृषिलाई आधुनिकीकरण गर्न सकेनौं भने खाद्य समस्या पेचिलो बन्नसक्छ ।’

विक्रमासिङ्घेले श्रीलङ्कामा मात्र नभई विश्वव्यापी रूपमा बढ्दो जनसङ्ख्याले धेरै अवसरहरू प्रस्तुत गरेको बताए ।

भारतको थोक मुद्रास्फीति घट्यो

भारतको थोक मूल्य सूचकाङ्क (डब्लुपीआई) अगष्ट महिनामा १२.४१ प्रतिशतमा झरेको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ ।

‘अल इन्डिया होलसेल प्राइस इन्डेक्स (डब्लुपीआई) नम्बरमा आधारित मुद्रास्फीतिको वार्षिक दर सन् २०२२ को अगस्टमा सन् २०२१को सोही महिनाभन्दा कमी भएको छ । यो १२.४१ प्रतिशत कायम भएको छ ।

जुलाई २०२२ मा डब्लुपीआईमा आधारित मुद्रास्फीति १३.९३ प्रतिशत रहेको थियो ।

‘सन् २०२२ को अगष्टमा खनिज तेल, खाद्य वस्तु, कच्चा पेट्रोलियम तथा प्राकृतिक ग्यास, आधारभूत धातु, रसायन र रासायनिक पदार्थ, बिजुली, खाद्य पदार्थ आदिको मूल्यवृद्धिले मुख्यतया अघिल्लो वर्षको सोही महिनाको तुलनामा मुद्रास्फीतिमा योगदान पु¥याएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयका अनुसार अगस्टमा डब्लुपीआई इन्डेक्समा जुलाईको तुलनामा ०.४६ प्रतिशतले कमी आएको छ ।

थोक बजारमा मूल्यको सूचक डब्लुपीआई मुद्रास्फीति, मुख्यतया विश्वव्यापी रूपमा वस्तुहरूको मूल्यमा तीव्र वृद्धि वा कमीको कारण परिवर्तन हुने गर्छ ।

स्विडेनकी प्रधानमन्त्रीद्वारा राजीनामा

आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्विडेनकी प्रधानमन्त्री माग्दालेन एन्डरसनले औपचारिक रूपमा राजीनामा गरेकी छन् ।

स्विडेनको सोसल डेमोक्र्याटिक पार्टीबाट प्रधानमन्त्री बनेकी एन्डरसनले स्विडेनको संसदमा राष्ट्रवादी एवम् अध्यागमन विरोधी समूह सम्मिलित दक्षिणपन्थी गुट झिनो अन्तरले विजयी भएपछि दिएकी हुन् ।

एन्डरसनले स्विडेनको तीन सय ४९ सदस्यीय संसद् रिक्सडागका सभामुख एन्ड्रियास नोर्लेनसमक्ष औपचारिक रूपमा राजीनामा दिएकी हुन् । सभामुखले उनको राजीनामा स्वीकृत गरेको जनाइएको छ । उनले नयाँ सरकार गठन नभएसम्म कामचलाऊ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नेछिन् ।

सभामुख नोर्लेनले आगामी साता पार्टीका नेताहरूसँग वार्ता सुरु गर्ने जानकारी दिएका छन् । उनले दक्षिणपन्थी नेता उल्फ क्रिस्टर्सनलाई गठबन्धन सरकार गठनको प्रयास गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ । आइतबारको आम निर्वाचनमा दक्षिणपन्थी समूहले एक सय ७६ र बामपन्थी गुटले एक सय ७३ स्थानमा जित हासिल गरेका थिए ।

जोर्डनमा भवन भत्किँदा १० जनाको मृत्यु

जोर्डनमा चार तले आवासीय भवन भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ ।

दुर्घटनामा परी अन्य १० जना घाइते भएका छन् । उद्धारकर्ताले आज पनि एउटा शव भग्नावशेषबाट निकालेका छन् ।

उनीहरूले यसअघि एक जना शिशुको जीवितै उद्धार गरेका थिए । सार्वजनिक सुरक्षा महानिर्देशनालयका अधिकारीले पनि हताहती, उद्धार र घाइतेहरूको सङ्ख्या बढ्दै गएको पुष्टि गरेका छन् ।

भवनका मालिक, भवन मर्मत संहारका ठेकेदार र मर्मत संहार प्राविधिकलाई घटनाको दोषी भएको आरोप लगाइएको छ ।

जोर्डनको राजधानीको पुरानो क्षेत्रमा अवस्थित उक्त भवन भत्किएको हो । उक्त क्षेत्रमा गरिब वर्गका धेरै मानिसहरुको बसोबास रहेको जनाइएको छ ।

पुटिन र गुटरेसबीच टेलिफोन वार्ता

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । सो वार्तामा खासगरी खाद्यान्नको निकासीका विषयमा कुराकानी भएको रुसी प्रशासन क्रेमलिनले जनाएको छ ।

कृष्ण सागर बन्दरगाहको बाटो भएर युक्रेनी खाद्यान्न निकासी गर्ने विषयमा उनीहरुबीच कुराकानी भएको बताइएको छ । त्यसैगरी रुसी खाद्यान्न तथा रासायनिक मलको निकासीका विषयमा पनि सो टेलिफोन वार्तामा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।

त्यस अवसरमा महासचिव गुटरेस र रुसी राष्ट्रपति पुटिनबीच युक्रेनमा विकसित पछिल्ला घटनाक्रमबारे पनि कुराकानी भएको बताइएको छ । त्यस अवसरमा रुसी राष्ट्रपति पुटिनले रुसी कृषि उपजका साथै रुसी विकासी मल र खाद्यान्न आदिको विदेशी बजारमा आपूर्तिका लागि सहज वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए ।

यसका लागि आफूले सक्दो प्रयास गर्ने र रुसी खाद्यान्न तथा रासायनिक मल विश्व बजारमा निर्यातका लागि आफूले सहजीकरण गर्ने महासचिव गुटरेसले बताएका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ८ : १२ बजे

‘नेपालमा लैंगिक हिंसाको अवस्था र न्यूनिकरणका उपाय’

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । विविधतायुक्त समाजमा

टिकटक बनाउने क्रममा तेह्रथुममा दुईजनाको मृत्यु

तेह्रथुम – खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको

प्रदेश राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना, तीन जना घाइते

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी

पाकिस्तानमा पोलियो संक्रमितको सङ्ख्या बढ्यो, बलोचिस्तानमा भने खोप अभियान स्थगित

काठमाडौं – पाकिस्तानमा पोलियो रोगका संक्रमितको सङ्ख्या बढ्दै जाँदा बलोचिस्तान

पाकिस्तानको कराँची शहरमा पानीको हाहाकार

काठमाडौं – पाकिस्तानको कराँचीमा पानीको हाहाकार मच्चिएको छ । कराँचीका