काठमाडौं – दसैँ सँधै आउँछ । सबैलाई आउँछ । वर्षमा एक दिन दसैँ आउनु घर परिवारमा ठूलो भेटघाट र जमघटको अवसर आउनु हो । तर, जसरी दसैँ आउँछ, त्यसरी जान्छ । मनका पीडा र बाटोका दुःखहरु भने एकनाससँग जाँदैनन् । आम नेपालीका लागि दसैँको पीडा पनि एक पथ्थर बराबर छ ।
दसैँ मान्न राजधानी काठमाडौँबाट गाउँ जान सर्वसाधारणलाई जति कठिन छ, फर्कन त्यो भन्दा दोब्बर कठिन छ । जुन कुरा भोग्नेलाई बढी थाहा छ ।
जन्म थलोमा दसैँ मानेर कर्म थलो राजधानी फर्कनको सास्ती पाउने साएद धेरै नै हुनुहुन्छ होला । सवारी साधन पाउन गाह्रो, पाए पनि कोचाकोचसँग वा हुटमा बसेर यात्रा गर्नु पर्ने वाध्यता ।
सरकारले तोकेको भन्दा दोब्बर भाडा तिरेर जोखिमपूर्ण यात्रा गर्दै राजधानी फर्किएको अनुभव त म आफैसँग छ । अरुलाई भन्दा तोकेको भन्दा धेरै भाँडा दिनु हुदैन । गाडीवालाले माग्यो भने पनि पुलिस रिपोर्ट गर्नुपर्छ भनेर उपदेश दिने म बाध्यतामा परेर आफै तेब्बर भाँडा तिरेर कर्म थलो फर्किएँ ।
जुन मेरो जीवनकै सबैभन्दा निरीहता भएको क्षण हो । म नेपालमै छु । तर, सरकार भएको देशमा छु वा लुटतन्त्र मच्चिएको देशमा ? आफैँलाई प्रश्न गर्न मन लागेको छ ।
घर जादाँ त कुनै समस्या छ, जस्तो नि लागेन । किनकी निजी गाडीमा यात्रा गर्दा आफ्नै मनोमानी थियो । विडम्बना कर्मथलो फर्किदा बाटोमै गाडी बिग्रियो । न त सार्वजनिक गाडीको सहजता । न त गाडी बनाउने मान्छेको सहजता ।
यति मात्रै कहाँ हो र ? बाटोको बिजोग पनि उस्तै छ । धेरै जनाको प्रश्नको समाधान गर्ने सामथ्र्य राख्ने म आज आफैले आफैलाई प्रश्न गर्न थाले । मैले दिएको भोटले कति काम गरेछ ?
के मैले मेरो ठाउँको लागि सही प्रतिनिधि छानेको रैछु त ? मेरा प्रतिनिधिले मैले राखेका गुनासा सुनेका छन् त ? अहँ कुनै हालतमा पनि मेरा प्रतिनिधिलाई मेरो गाउँको समस्या सुन्ने फुर्सद छैन । न त समाधान गर्ने फुर्सद पक्कै पनि छैन । यदि भैदिएको भए नेपालीको महान चाड भनिएको दसैंमा कसैले पनि सास्ती खेप्नु पर्ने थिएन ।
हुन त अहिले पनि त्यही जनप्रतिनिधि छान्ने चुनाव आउन धेरैदिन त छैन । तर, पनि के अब पनि मैले पहिलाकै गल्ति गर्न सक्छु र ? सायद अब गर्दिन होला ।
किनकी मैले छानेको जनप्रतिनिधिले मेरै ठाउँको समस्या त समाधान गर्न सकेन भने देश त कसरी बनाउन सक्लान र ? हो, त्यसैले अबको निर्वाचनमा मेरो ठाउँबाट उठ्ने आधिकारीक उम्मेद्वारलाई मैले बहिष्कार गर्नेछु । किनकी चुनावमा विकास प्रेमी अनुहार होइन, विलासिता प्रेमी अनुहार मैले देखेको छु ।
चुनाव नजिकिएकाले पनि धेरैको अनुमान थियो कि यो पटक भोट माग्नकै लागि भए पनि बिग्रिएका बाटोहरु बन्छन् । र, सर्वसाधारणले सहज यात्रा गर्न पाउँछन् । तर, अनुमान मिलेन मिलेन मौसमले पनि साथ दिएन यस पटकको दसैंमा । जसको कारणले पनि यात्रा गर्नेहरुले निकै सास्ती खेप्नु पर्यो ।
अहिले पनि धेरै राजमार्ग बिग्रिएकै अवस्थामा टालटुल गरेर क्षणिक काम चालाएकै छन् । न त ध्यान स्थानीय सरकारको पुग्न सकेको छ । न त केन्द्र सरकारको । कालो सीसामा बन्द भएर हुइकिने जनप्रतिनिधिले नागरिकको पीडा देख्ने त कुरै भएन् ।
सडक विभागले पनि दसैं तिहारको लागि लक्षित गरेर सबै सडकलाई राम्रो बनाउन लागि परेको र कुनै पनि समस्या हुँदैन भनेर जानकारी दिएको पनि हो । तर, वास्तविकता यस्तो भएन । फोन धेरै आयो भनेर यस्तो भन्नु सडक विभागको बाध्यता थियो होला । ता कि सडक बनाउने होइन । सान्त्वना दिए जस्तै काम भएको नभएको अनुगमन गर्न सक्ने हो भने पक्कै पनि सडक विभाग हात्तीको देखाउने दाँत जस्तै बन्ने थिएन होला ।
अहिले पनि देसका धेरै राजमार्गको अवस्था उस्तै छ । पृथ्वी राजामार्ग सबै भन्दा धेरै ठाउँमा बिग्रिएको अनुभव छ । पूर्व–पश्चिम राजमार्गको ढल्केबरबाट पूर्वको सडक पनि बिग्रेको छ ।
त्रिभुवन राजपथ, बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्गलगायतका सडकका विभिन्न खण्डको अवस्था उस्तै छ ।
उता बेसीसहर–चामे, साँफेबगर–मार्तडी, बेनी–जोमसोम दुरावस्था त आफैले देखेर आएको छु । अनि कसरी भन्न सक्छु र यो देशमा नि सरकार छ ? सरकारले काम गर्छ । जनताको भलाई गर्छ । जनताको सेवा गर्छ भनेर नेपालीले पत्याउने अवस्था छैन ।
सरकारको महसुस गर्न नसके पनि दसैंमा जस्तै सास्ती तिहारमा नागरिकले भोग्नु नपरोस । केन्द्र सरकारको ध्यान नपुगे पनि स्थानिय सरकारको ध्यान आफ्नो ठाउँमा चाँडै पुगोस् । अन्यथा घरआँगनकै सिंहदरबार भनिने स्थानीय सरकार पनि नागरिकका आँखामा रमिते बन्ने गुनासो झन् बढ्नेछ ।
प्रतिक्रिया