निर्वाचनकाे तयारी अन्तिम चरणमा « Khabarhub

निर्वाचनकाे तयारी अन्तिम चरणमा


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– मङ्सिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि  जिल्लाबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रगरी १३ जना प्रतिस्पर्धामा उत्रिएका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रतिनिधिसभाका लागि  चार र दुई निर्वाचन क्षेत्र रहेको प्रदेशसभाका लागि नौजना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । जिल्लामा नेपाल मजदुर किसान पार्टी, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्रपाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराएकामध्ये प्रमुख दल सत्ता गठबन्धनबाट माओवादीका गोमा गौतम कुँवर,  एमालेका  रत्ननाथ योगी, राप्रपाका ज्ञानेन्द्र शाही र नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यस्तै प्रदेशसभातर्फ क्षेत्र १ (क) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही, एमालेका धिरेन्द्रराज गिरी, नेमकिपाका राजेश्वर देवकोटा र स्वतन्त्रबाट देवेन्द्रबहादुर शाही प्रतिस्पर्धी छन् ।

प्रदेशसभा क्षेत्र २ (ख) मा गठबन्धनबाट एकीकृत समाजवादीका पदमबहादुर रोकाया, एमालेका टेकराज पछाई, नेमकिपाका विर्षबहादुर रावत, राप्रपाका देवप्रसाद न्यौपाने र स्वतन्त्रबाट धनबहादुर बस्नेत प्रतिस्पर्धामा छन्। बाटो, पुल, सडक, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीजस्ता विषयवस्तुलाई नै यहाँका उम्मेदवारले प्रायः चुनावी एजेन्डा बनाएका छन् ।

जिल्लामा निर्वाचन आचारसंहिताका बारेमा आफूहरुले सूक्ष्म ढङ्गले अनुगमन गरिरहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । ‘अहिलेसम्म आचारसंहिता उल्लङ्घनका घटना खासै जिल्लामा भएका छैनन्’, उनले भने, ‘मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुईदिने निर्वाचनसम्बन्धी तालिम सञ्चालन भइरहेको छ । तालिम सकिएलगत्तै सबै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई कार्यक्षेत्रमा खटाइने छ । जिल्लामा आठ सय ४८ कर्मचारी र एक हजार आठ सय सुरक्षाकर्मीसहित म्यादी प्रहरी निर्वाचनमा परिचालन हुने जिल्ला निर्वाचन परिचालन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।

जिल्लाका आठवटै स्थानीय तहमा नमुना मतदान कार्यक्रम सञ्चालन भइसकेको छ । यहाँका ६० वटै वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए । गएको वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले पाँच पालिकाको प्रमुख, तीन उपप्रमुखसहित २६ वडाध्यक्ष जितेको थियो । माओवादीले दुईवटा पालिका प्रमुख, चार उपप्रमुख, १९ वडामा अध्यक्ष जितेको थियो । एकीकृत समाजवादीले एक पालिकाको उपाध्यक्षसहित छ वडाध्यक्ष जितेको थियो।

एमालेले कुनै पनि पालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गर्न सकेन । जिल्लाका ६० वडामध्ये छ वडाध्यक्ष मात्रै एमाले जितेको थियो भने राप्रपाले कुनै वडाध्यक्षमा जितेको थिएन । स्थानीय तहको उक्त निर्वाचनमा जुम्लाको वडाध्यक्षले पाएको मतका आधारमा सत्ता गठबन्धन निकै बलियो देखिएको छ ।कांग्रेस  १६ हजार ७५ मत पाएर सबैभन्दा ठूलो पार्टी भएको थियो ।

माओवादीले १४ हजार एक सय ७५ मत पाएर दोस्रो ठूलो पार्टी बनेको थियो । एकीकृत समाजवादीका उम्मेदवारले छ हजार एक सय ९५ मत पाएका थिए ।  सत्ता गठबन्धनमा आबद्ध सबै दलको मत जोड्दा प्रतिनिधिसभाका लागि  एमाले ३० हजार मतले पछि परेको देखिन्छ  । एमालेले वडाध्यक्षमा छ हजार नौ सय ६२ मत पाएको थियो भने राप्रपाले पाँच सय ४० मत मात्र पाएको थियो ।

निर्वाचनका लागि जुम्लामा ८३ वटा मतदानस्थल र एक सय छवटा मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा सदस्यको निर्वाचनका लागि (क) मा ३६ हजार सात सय ८३ र (ख) मा ३१ हजार आठ सय ५५ मतदाता रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ३ : ३१ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न