भिजिट भिसामा दुबई पुगेका ९ नेपाली अलपत्र, बाहिर हल्ला गरे हातखुट्टा भाँचेर नेपाल पठाइदिने एजेन्टको धम्की « Khabarhub

भिजिट भिसामा दुबई पुगेका ९ नेपाली अलपत्र, बाहिर हल्ला गरे हातखुट्टा भाँचेर नेपाल पठाइदिने एजेन्टको धम्की



दोहा–पछिल्लो समय आकर्षक रोजगारीको प्रलोभनमा परेर विभिन्न दलालमार्फत नेपालबाट दुबई पुगेर अलपत्र पर्ने नेपाली युवाहरुको संख्या बढेको छ । यही क्रममा रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका ९ नेपाली युवा अलपत्र परेका छन् । उनीहरु तीन महिना अघि दुबई पुगेर अलपत्र परेका हुन् ।

कैलाली जिल्लाका चेतराम चौधरी, मानोज चौधरी, आर्जुन चौधरी, लेखराज चौधरी र अंकित चौधरीले आफूहरू भिजिट भिसामा दुबई आएर अलपत्र परेको खबरहबलाई बताए ।

यस्तै सोलुखुम्बुका सागर सौवा र लबजी दामाई, बर्दियाका सोहन चौधरी तथा दोलखाका विशाल तामाङ दुबईमा अलपत्र परेका छन् ।

उनीहरूलाई कोहलपुर बाँकेकी एजेण्ट पार्वती थापाले दुबईको तेल काम्पनीमा ८ घण्टाको १ हजार ५ सय दिराम (४८ हजार रुपैयाँ) तलब हुने भन्दै पर्यटक (टुरिस्ट) भिसामा दुबई पठाएको अलपत्र परेका चेतराम चौधरीले बताए ।

‘नेपालमा एजेन्ट थापालाई २ लाख ६० हजार दिएर हामी दुबई आएका हौँ,’ बेसिक तलब १ हजार ५ सय दिराम र ४ घण्टा ओभर टाइम गरेर २ हजारदेखि २५ सयसम्म हुन्छ भनेको थियो,’ चौधरीले खबरहबसँग भने, ‘तर यहाँ जबर्जस्ती ट्याइलेट सफा गर्ने काममा लगाएको छ, हामी यो काम गर्न आएका पनि होइनौँ, एजेन्टले फसायो ।’

दुबई पठाउनुभन्दा पहिले भनेजस्तो भएन भनेर भन्दा दुबईमा रहेका दलाल मोहन बोगटीले चुप लगेर जहाँ काम लगाएको छु त्यही काम गर, बाहिर हल्ला नगर नत्र तिमीहरुको हात‍खुट्टा भाँचेर नेपाल फर्काइदिन्छु भन्दै धम्की दिएको उनले बताए ।

‘यहाँ हामीलाई डर त्रास र धम्की दिएर जबर्जस्ती काममा लगाएको छ । हामी नेपाल फर्कन चाहन्छौँ । हामीमध्ये केही साथीहरुको मात्रै भिसा छ केहीको भिसा नै लागेको छैन,’ उनले अगाडि भने, ‘आफ्नो समस्याका विषयमा बताउँदा हातखुट्टा भाँच्ने धम्की दिन्छ ।’

आफूहरूले नेपालको एजेन्टसँग कुरा गर्दा पनि एजेन्टले चासो नदेखाएको बताए ।

हामीले दुबईमा रहेको एजेन्ट बोगटीसँग यो काम गर्दैनौँ हाम्रो पासपोर्ट दिनुस् भन्दा उल्टो ४ हजार दिराम मागेको उनीहरूले बताए ।

यता, एजेण्ट भनिएकी पार्वती थापाले भने आफू एजेण्ट नै नभएको र उनीहरूले जसरी भए पनि विदेश जाने भनेपछि चिनजानको मानिसमार्फत उनीहरुलाई भिजिट भिसामा दुबई पठाएको दाबी गरिन् ।

उनीहरुले बुझाएको पैसामध्ये आफूले प्रत्येक व्यक्तिसँग १० हजार कमिसन लिएर नेपालको अध्यगनमनमा विभिन्न सेटिङ गरी ८ जनालाई पठाएको स्वीकार गर्दै बाँकी पैसा दुबईमा रहेका एजेन्ट मोहन बोगटीलाई पठाएको थापाले बताइन् ।

‘उनीहरुलाई दुबईको तेल कम्पनीमै भनेर पठाएको भए पनि त्यहाँ पुग्दा त्यो काम सकिएकाले अहिले होटलको काममा लगाएको तर काम लगाइदिँदा पनि पैसा फिर्ता गर्न भन्दै म्यासेज गरिरहेका छन्,’ एजेन्ट थापाले भनिन् ।

उनीहरुको भिसा लागिसकेको भन्दै अब नेपाल फर्किन चाहे भिसाको पैसा तिरे नेपाल फर्काउन सकिने तर, पैसा भने फिर्ता गर्न नसकिने उनले दाबी गरिन् ।

भिजिट भिसा जोखिमपूर्ण

दुबईस्थित नेपाली दूतावासले भिजिट भिसामा आएका नेपालीहरू अलपत्र पर्ने क्रम बढेको जनाउँदै भिजिट भिसामा कामका लागि नआउन आग्रह गरे पनि एजेन्टहरूले नेपाली युवालाई प्रलोभनमा पारेर भिजिट भिसामा दुबई पठाउने गरेका छन् ।

भिजिट भिसामा आएर काम नपाएमा वा भने अनुसारको नभए सम्बन्धित कम्पनी वा अन्य जिम्मेवार निकायलाई कारबाही गर्नसमेत नसकिने दूतावासले बताउँदै आएको छ ।

भिजिट भिसामा ल्याउनेहरूले ठगी गर्ने, ल्याएर अलपत्र छाड्ने, नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरूमा लैजाने तथा मानव तस्करहरूको सञ्जालमा समेत पार्न सक्ने दूतावासले जनाएको छ । दूतावासले भिजिट भिसामा आएर अलपत्र परेकाहरुलाई सहयोग गर्न नसक्ने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ११ : ३६ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा