अडियो सुन्नुहोस्ः
आज असार ३, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन १६, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
भारतमा १२ हजार कोरोना सङ्क्रमित थपिए
भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टाको समयावधिमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । यस वर्षको फेब्रुअरी २६ मा भारतमा ११ हजार ४९९ कोरोना भाइरसका सङ्क्रमित थपिएका थिए । यसअघिको २४ घण्टाको समयावधिमा आठ हजार ६४१ जना कोरोना सङ्क्रमित भएका थिए । भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३२ लाख ५७ हजार ७३० पुगेको छ ।
यसमध्ये ५८ हजार २१५ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको शून्य दशमलब १३ प्रतिशत हो । पछिल्लो एक दिनमा सात हजार ६२४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जानकारी दिइएको छ । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८ दशमलब ६५ प्रतिशत रहेको छ ।
कोरोना महामारीबाट भारतमा थप ११ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म भारतमा ५ लाख २४ हजार ८०३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९५ करोड ६७ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ ।
युरोपमा मंकीपक्स बढ्दै
युरोपेली महाद्वीप अहिले मंकीपक्स सङ्क्रमणको केन्द्र बनेको विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले जनाएको छ ।
पछिल्ला केही महिनाहरूमा युरोपभर संक्रमण दरमा वृद्धि भएको छ, जसका कारण अधिकारीहरू चिन्तित बनेका छन् । विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्याङ्कअनुसार विश्वमा कुल सङ्क्रमित संख्याको लगभग ८५ प्रतिशत युरोपका २५ देशहरूमा छन् ।
अफ्रिकाबाट उत्पत्ति भएको मंकीपक्स भाइरस डरलाग्दो रुपमा फैलिरहेको छ । डब्ल्यूएचओले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रूपमा वर्गीकरण भने गरेको छैन।
‘यस प्रकोपको परिमाणले वास्तविक जोखिम निम्त्याउँछ । भाइरस जति लामो समयसम्म फैलिन्छ, त्यति नै यसको पहुँच विस्तार हुनेछ’, युरोपका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक हान्स क्लुगको भनाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा राहुल गान्धीसँग ३० घण्टा सोधपुछ
सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी लगातार तेस्रो दिन प्रवर्तन निर्देशनालय (ईडी) मा उपस्थित भएका छन् ।नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) ले ९ घण्टा सोधपुछ गरेको थियो । सोधपुछका लागि राहुललाई ईडीले पुनः शुक्रबार बोलाएको छ ।
ईडीले उनीमाथि गरिएको सोधपुछको अडियो र भिडियो संस्करण रेकर्ड गरिरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।पछिल्ला तीन दिनमा गान्धीसँग ईडीले ३० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरिसकेको छ । कोभिड परीक्षणपछि अस्पतालमा भर्ना भएकी उनकी आमा तथा कांग्रेस प्रमुख सोनिया गान्धीको स्वास्थ्यमा सुधार आएपछि ईडीले सोधपुछ गर्ने भएको छ ।
निर्देशनालयमा उनको सोधपुछलाई लिएर कांग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीहरूको आवाज बन्द गर्न प्रवर्तन निर्देशनालय र अन्य केन्द्रीय निकाय प्रयोग गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ ।
बेलायती केन्द्रीय बैंकद्वारा ब्याजदर बढाउने निर्णय
बेलायतको केन्द्रीय बैंकले ब्याजदर बढाएको छ । बैंक अफ इङ्ल्याण्डले ब्याजदर बढाएर १ दशमलब २५ प्रतिशत पुर्याएको हो । यो ब्याजदर १३ वर्षयता कै उच्च रहेको बीबीसीले जनाएको छ । यसअघि बेलायतको ब्याजदर १ प्रतिशत थियो । बैंक मौद्रिक नीति समितिको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । बैठकमा समितिका ९ सदस्यमध्ये ६ सदस्यले ब्याजदर बढाएर १.२५ प्रतिशत पुर्याउनुपर्ने जनाएका थिए भने बाँकी तीन सदस्यले ब्याजदर त्यो भन्दा बढि १.५ प्रतिशत पुर्याउनुपर्ने जनाएका थिए ।
मुलुकमा बढ्दो मूल्यवृद्धि र मुद्रास्फीतिलाई मध्यनजर गर्दै बैंक अफ इङल्याण्डले ब्याजदर बढाएको हो । बेलायतमा मुद्रास्फीतिको दर ९ प्रतिशत पुगेको छ । यो ४० वर्षयताकै उच्च हो । बेलायती केन्द्रीय बैंकले यो ११ प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ । अक्टोबर महिनामा मूल्यवृद्धि अझ बढ्ने बैंकको प्रक्षेपण छ ।
यसबाहेक बैंकले अप्रिल देखि जुन महिनामा मुलुकको अर्थतन्त्र शून्य दशमलब ३ प्रतिशतले संकुचन हुने देखिएको समेत जनाएको छ । बीबीसीका अनुसार बेलायती अर्थमन्त्री ऋषि सुनकलाई पत्र लेख्दै बैंकका गभर्नर एन्ड्रिउ बेलीले ऊर्जा एवम् कृषिजन्य उत्पादनमा भएको मूल्यवृद्धिका कारण मुद्रास्फीतिको अवस्था आएको र युक्रेनमा जारी रुसी आक्रमणका कारण अवस्था अझ खराब बनेको जनाएका छन् ।
रुसी फौजले ९ दिशाबाट आक्रमणको प्रयास गरेको युक्रेनी प्रधानसेनापतिको भनाइ
रुसी फौजले ९ दिशाबाट श्रृङ्खलाबद्ध आक्रमणको प्रयास गरेको युक्रेनी प्रधानसेनापतिले जनाएका छन् । पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रुसी फौजले विभिन्न ९ दिशाबाट आक्रमणको प्रयासलाई जारी राखेको युक्रेनी प्रधानसेनापति भलेरी जालुझ्नीले जनाएका हुन् ।
अहिले रुसी फौजको आक्रमणको केन्द्रमा लुहान्स्क क्षेत्रको उत्तरी भूभाग रहेको र लडाकु विमान, रकेट प्रोपेल्ड ग्रिनेड र तोपखानाले आक्रमण गरिरहेको जालुझ्निीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । ‘लुहान्स्क क्षेत्रमा भीषण संघर्ष जारी छ ।’ जालुझ्नीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
यमनमा पत्रकार मारिए
यमनमा कारलाई लक्षित गरी गराइएको बम आक्रमणमा परी एकजना पत्रकार मारिएका छन् । यमनको दक्षिणी बन्दरगाह सहर एडेनमा स्थानीय यमनी पत्रकार चढेको गाडीमा विस्फोट भएको हो । मारिनेमा स्थनीय पत्रकार साबेर नोमान अल–हैदरी रहेको जनाइएको छ । ती पत्रकार चढेको गाडीमा जडान गरिएको बमबाट एडेनको मन्सौरा जिल्लामा ठूलो विस्फोट भएको स्थानीय सरकारी स्रोतले नाम नछाप्ने सर्तमा बताएका छन् ।
राति भएको विष्फोटमा पत्रकारको ज्यान गएको र धेरै यात्रुहरू घाइते भएका छन् । पत्रकार जापानी समाचार आउटलेटका लागि काम गर्दै आएका थिए । उनलाई किन निशाना बनाइएको थियो भन्ने तुरुन्तै स्पष्ट नभएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
हालसम्म कुनै समूहले विस्फोटको जिम्मेवारी लिएको छैन । तर युद्धग्रस्त अरब देशमा यस्तै घटनाहरूमा धेरै यमनी पत्रकार मारिएका छन् । यमन सन् २०१४ को उत्तरार्धदेखि गृहयुद्धमा फसेको छ । हुथी लडाकुले यमनको उत्तरी भूभागमा कब्जा जमाएका छन् भने साउदी समर्थित यमनी सरकार अहिले शक्तिहीन जस्तै बनेको छ ।
स्थानीय अधिकारीहरूले एडेनमा सुरक्षा र स्थिरता कायम गर्न प्रयास गरिरहेको जनाएका छन् । यद्यपि, रणनीतिक यमन बन्दरगाह सहरमा छिटपुट बम विस्फोटका घटनाहरू र गोलाबारी आक्रमणहरू अझै पनि हुने गरेको पाइन्छ ।
फ्रान्स, जर्मनी र इटालीका नेताहरू युक्रेन भ्रमणमा
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ सोल्ज र इटालीका प्रधानमन्त्री मारियो द्राघी रुसी आक्रमणपछि पहिलो पटक युक्रेन भ्रमणका लागि बिहीबार राजधानी किभ पुगेका छन् । नेताहरू पोल्याण्डबाट विशेष रेल चढेर त्यहाँ पुगेको तस्बिर अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले सार्वजनिक गरेको छ । तस्बिरमा उनीहरूलाई युक्रेनी राजधानीको प्लेटफर्ममा ओर्लिरहेको देखाइएको छ । शक्तिराष्ट्रका नेताहरूको यस किसिमको युक्रेनको सामूहिक भ्रमण फेब्रुअरी २४ मा रुसी आक्रमणपछिको पहिलो हो ।
म्याक्रोनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने र ‘नरसंहार भएको युद्धस्थलमा जाने’ बताएका छन् । त्यस्तै उनले किभ नजिकका शहरहरूमा जारी रुसी अत्याचारलाई ‘युद्ध अपराध’ भनेका छन् । ‘यो युक्रेनी पुरुष र महिलाहरूलाई सम्बोधन गरिएको युरोपेली एकताको सन्देश हो’ म्याक्रोनले रेलबाट ओर्लँदै भने । उनले वर्तमान र भविष्य दुवैको बारेमा कुरा गर्न आफूहरू त्यहाँ पुगेको भएपनि त्यो विषय धेरै गाह्रो हुने बताएका छन् । युक्रेनले युरोपेली संघमा सामेल हुन आधिकारिक उम्मेदवारको हैसियत दिन दबाब दिइरहेको बेला यो भ्रमण भएको हो । तीनै जना नेताहरूले बिहीबार बिहान पोल्याण्डबाट किभका लागि विशेष रेलमा यात्रा गरेका थिए।
जर्मन मिडियाले उनीहरूलाई पोल्याण्डको दक्षिण–पूर्वी शहर रजेस्जोमा राती भेटेको बताएको छ जहाँ अन्तर्राष्ट्रिय विमानस्थल छ ।
फ्रान्सेली नेताले भर्खरै युक्रेनको छिमेकी राष्ट्र मोल्डोभाको भ्रमण पूरा गरेका थिए । अन्य पश्चिमी नेताहरूले पनि हालैका हप्ताहरूमा किभको भ्रमण गरेका छन् ।
सुडानमा भएको हिंसामा १ सय ४५ जनाको मृत्यु
वर्षौँको युद्धले क्षतविक्षत पूर्वी अफ्रिकी राष्ट्र सुडानमा पछिल्लो समयमा भएका आदिवासी हिंसामा एक सय ४५ जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । मानवीय मामिला समन्वयसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसीएचए) ले यो महिना भएका झडपमा कम्तिमा एक सय ४५ जनाको मृत्यु भएको र एकसय ८० जना घाइते भएका जनाएको हो । हालैका वर्षमा सबैभन्दा घातक हिंसा पश्चिमी डार्फर र दक्षिण कोर्दोफान प्रान्तमा बढिरहेका छन् ।
सुडानमा निरङ्कुश शासक ओमार अल–बसिरलाई सन् २०१९ मा सेनाले पदच्युत गरेपछि देशमा लोकतान्त्रिक शासनको बहाली हुने अपेक्षा गरिएको थियो । अझै त्यसो हुन नसकेको विपक्षीहरूले आलोचना गर्दै आएका छन् । गत साता पश्चिम डार्फरको कुलबस शहरमा अरब र अफ्रिकी जनजातिबीच जग्गा विवादलाई लिएर हिंसात्मक मुठभेड भएका थिए । स्थानीय अरब लडाकुहरूले धेरै गाउँमा घातक आक्रमण गरेको जनाइएको छ ।
साताभर भएका दोहोरो झडपमा गिमिर जनजातिका १०१ र अरब रिजेगट जनजातिका २५ जनासहित कुल १२६ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस क्रममा एकसय ३० जनाभन्दा बढी गैर–अरब जनजाति घाइते भएका थिए । ओसीएचएले सो क्षेत्रमा भएको हिंसामा परी कम्तिमा ५०,००० सर्वसाधारणले आफ्नो घर छोडेर भाग्न बाध्य भएका बताएको छ । यो महिनाको शुरुमा दक्षिण कोर्दाेफानमा छुट्टाछुट्टै भएका जनजाति झडपमा कम्तिमा १९ जनाको मृत्यु भएको र अन्य ५४ जना घाइते भएका थिए ।
अबु जुबाह शहरमा तीन दिनसम्म चलेको हिंसामा तीनपाङ्ग्रे सवारी साधनको लुटपाट बढेको र आगजनीपछि १५ हजारभन्दा बढी विस्थापित भएका जनाउँदै ओसीएचएले उक्त क्षेत्रमा सेना तैनाथ गर्नुपरेको बताएको छ । सैनिक परिचालन र निषेधाज्ञा जारी हुँदासमेत स्थिति तनावपूर्ण रहेको जनाइएको छ । गत हप्ताको युद्ध दुई दशकको द्वन्द्वले ध्वस्त पारेको पश्चिमी सुडानको विशाल क्षेत्र डार्फरमा आदिवासी हिंसाको पछिल्लो मुठभेड हो । पछिल्लो हिंसाले यस क्षेत्रमा संयुक्त राष्ट्रसङ्घ र अफ्रिकी सङ्घको संयुक्त शान्ति सेना परिचालन नगर्ने निर्णयमाथि प्रश्न उठाएको छ ।
जातीय अफ्रिकाहरूमाथि सरकारले भेदभाव गरेको आरोप लगाउँदै राजधानी खार्तुमबाट सन् २००३ मा सुरु भएको डार्फर द्वन्द्वले उग्ररूप लिएपछि सैन्य विद्रोहबाट अल बसिरलाई सन् २०१९ मा सत्ताच्युत गरियो । खार्तुमको जेलमा रहेका उनलाई एक दशकअघि अन्तर्राष्ट्रिय फौजदारी अदालतले डार्फरमा भएको नरसंहार र मानवताविरुद्धको अपराधको अभियोग लगाएको थियो ।
युक्रेनमा तत्काल युद्ध अपराध पुष्टि गर्न असम्भव : संयुक्त राष्ट्रसंघ
युक्रेनसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगले रुसी सेनाद्वारा मानव अधिकार हननका अनेक आरोपहरू प्राप्त भएको तर ती युद्ध अपराध हुन् वा होइनन् हतारमा निष्कर्षमा पुग्न नहुने बताएको छ । आयोगका अध्यक्ष एरिक मोसेले युक्रेनको राजधानी किभमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘बुचा र इर्पिनमा आयोगले आम नागरिकको अन्धाधुन्ध हत्या, सम्पत्तिको विनाश र लुटपाटका साथै विद्यालयलगायतका पूर्वाधारमा आक्रमण भएको जानकारी प्राप्त भएको छ ।’
उनले भने, ‘खारकिभ र सुमी क्षेत्रका ठूला सहरी केन्द्रहरूको विनाश भएको देखिएको छ । अध्ययनले हवाई आक्रमण, आम नागरिकविरुद्धका आक्रमण वा क्षेप्यास्त्र हमला भएका भन्ने बलिया आधारहरू भेटाएको छ ।’ तर मोशाले मार्चमा किभ नजिकै घटेका घटनाहरूको पूर्ण कानूनी आधार प्रदान गर्ने स्थितिमा संयुक्त राष्ट्रसंघ अहिले नभएको स्पष्ट पारे ।
उनले भने, ‘आयोगले संकलन गरेको प्रमाणहरू युद्ध अपराध र मानवताविरुद्ध अपराधसहित मानवअधिकार उल्लङ्घनका आरोपहरूलाई पुष्टि गर्नसक्ने आधारहरू बन्न सक्छन् । ’बुचा, इर्पिन, खार्किभ र सुमिको भ्रमणका क्रममा आयोगले नागरिकबाट साक्षी बयान संकलन गर्नुका साथै स्थानीय अधिकारी तथा नागरिक समाजका संगठनहरूसँग पनि भेटघाट गरेको थियो ।
आयोगका सदस्य पाब्लो डे ग्रिफले भने, ‘उदाहरणका लागि आम विनाशको साक्षी दिनु वा जानाजानी हत्याको विवरण प्राप्त गर्नु एउटा कुरा हो, तर यी तथ्यहरूको कानुनी आधारसहित निर्णयमा आउनु अर्कै कुरा हो । ’युक्रेनमा फेब्रुअरी र मार्चमा भएका घटनाहरूको जाँच गर्ने जिम्मेवारी पाएको आयोग आगामी महिना आफ्नो कामलाई निरन्तरता दिन फर्कने जनाइएको छ ।
संयुक्त राष्ट्रसंघको अनुगमन युक्रेनमा सम्भावित युद्ध अपराधको विभिन्न अन्तर्राष्ट्रिय अनुगमनहरूमध्ये एक हो । यसमा अपराध मामिला हेर्ने अन्तर्राष्ट्रिय अदालत (आईसीसी) ले गरेको एउटा जाँच पनि समावेश छ जसका अभियोजनकर्ता करीम खान हालै खार्किभ पुगेका थिए ।
प्रतिक्रिया