ब्रेकिङ स्टोरी

दिनभर आज: एसपीपीका लागि सेनाले पठाएको पत्र सार्वजनिक, भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

By खबरहब

June 16, 2022

काठमाडौँ– आज दिनभर नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुनका लागि पठाएको पत्रको विषय, एसपीपी सम्झौताबारे प्रचण्डले दिएको अभिव्यक्ति, भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको लगायतका समाचार चर्चामा रहे । तीमध्ये यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

एसपीपीमा सहभागी हुनका लागि नेपाली सेनाले पठाएको पत्र सार्वजनिक

नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ ।

नेपाली सेनाल हिजो एक विज्ञप्ति जारी गरी यस्तो कुनै पनि सम्झौता नगरिएको र समझदारका लागि कुनै प्रक्रिया अगाडि नबढाइएको दाबी गरेको थियो ।

तर, तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको हो ।

सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १०) मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी. टेप्लिजलाई सम्बोधन गर्दै गरेको पत्राचारमा नेपाली सेनालाई सहयोग गर्ने विषयहरू उल्लेख गरिएको छ ।

यस्तै पत्रमा नेपाल सरकारको तर्फबाट आधिकारिक रुपमा एसपीपी सहकार्यका लागि अनुरोध गर्न पाउँदा गौरव अनुभव भएको पनि उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित

नेकपा एमालेका सांसदहरुको बहिष्कारका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । प्र्रतिनिधिसभाको आज बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

अर्थमन्त्री शर्माले सो प्रस्ताव पेश गर्दा एमाले सांसदहरुले सदन बहिष्कार गरेका थिए ।

त्यसलगत्तै प्रस्ताव पेश गर्दै अर्थमन्त्री शर्माले दुईपटक संसदको विघटन गरेपछि लोकतन्त्रलाई बचाएर वर्तमान सरकार गठन भएको बताए । बैठकले विनियोजन विधेयकमाथि परेको खर्च कटौतीको प्रस्ताव समेत अस्वीकृत गरेको थियो ।

औषधि (तेस्रो संसोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाद्धारा सर्वसम्मतले स्वीकृत

राष्ट्रियसभाका बैठकले औषधि (तेस्रो संसोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सो प्रस्ताव पेश गरेका थिए ।

त्यस्तै बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

त्यसअघि बैठकमा सांसदहरुले रणनीतिक साझेदारी कार्यक्रम (एसपिपी)ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका थिए ।

एसपीपी सम्झौता गर्न लागेको विषयमा कुनै सत्यता नरहेको सरकारको स्पष्टोक्ति

सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागेको विषयमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अरु देशको सेना नेपाल भित्राउने किसिमको सम्झौताका विषयमा कुनै सत्यता नभएको बताए ।

उनले मुलुक सार्वभौम स्वतन्त्र राष्ट्र भएकाले यस विपरीतका कुनै काम नगर्ने बताए । प्रवक्ता कार्कीले एमसीसी सदनबाट पारित भइसकेको अवस्थामा कार्यान्वयनको प्रक्रियामा रहेको जिकिर गरे ।

मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने करीब ३६ करोड ६२ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

भारतीय (आईओसी)ले निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठायो

भारतीय आयल कर्पोरेसन भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । आईओसीले आज पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ ।

पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढेर आएको निगमले जनाएको छ ।

नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा, डिजेलमा ३७ रुपैयाँ १६ पैसा, हवाई इन्धन आन्तरिकमा २ रुपैयाँ ७० पैसा घाटा रहेको पनि निगमले जनाएको छ ।

(एसपीपी) एमाले सरकारले अघि बढाएको प्रमाण पेश गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको चुनौती

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकाको स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) एमाले सरकारले अघि बढाएको प्रमाण पेश गर्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभा आज बसेको बैठकमा पोखरेलले केही नेताहरुले एसपीपी एमाले सरकारले अघि बढाएको अभिव्यक्ति दिएको भन्दै प्रमाणित गर्न चुनौती दिएका हुन् ।

पोखरेलले एमालेमाथि लगाइएको आक्षेपको निन्दा गर्दै एमाले सरकारले एसपीपी अघि बढाएको भेटिए जिम्मेवारी लिन तयार रहेको दाबी गरे ।

साथै उनले एसपीपी प्रस्ताव पठाउँदा सन् २०१५ मा सुशील कोइराला प्रधानमन्त्री र २०१७ मा शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला अगाडि बढेको पनि ठोकुवा गरे ।

(एसपीपी) सम्झौता कुनै हालतमा अघि बढ्दैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) सम्झौता कुनै हालतमा अघि नबढ्ने स्पष्ट पारेका छन् ।

रितबहादुर खड्का स्मृति दिवसका अवसरमा आज काठमाडौंमा भएको कार्यक्रममा प्रचण्डले वर्तमान सरकारले एसपीपी सम्झौता गर्न लागेको झुटो प्रचार भएको भन्दै कुनै सैन्य सम्झौता नहुने स्पष्ट पारे ।

राष्ट्रवादको पाखण्डी प्रचारले केही नहुने उल्लेख गर्दै दाहालले सो सम्झौता केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अघि बढेको दाबी गरे । अध्यक्ष दाहालले गठबन्धन नेपालको राष्ट्रिय स्वाधिनता, विकास र समृद्धिको पक्षमा दृढताका साथ उभिने बताए ।

एसपीपीबारे सम्झौता गरिँदैछ भनेर गरिएको चर्चा असत्यः रमेश लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको क्रममा एसपीपीबारे सम्झौता गरिँदैछ भनेर गरिएको चर्चा असत्य रहेको स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले एसपीपीबारे कसको सरकारको पालामा के के भएको हो ? त्यो सबै कुरा वर्तमान सरकारले बाहिर ल्याउनुपर्ने बताए ।

आफ्नो पार्टी जहिले पनि परराष्ट्र नीतिलाई निर्धारण गर्दा पार्टीभित्र गम्भीर छलफल गरेर निष्कर्षमा पुग्ने र अन्य दलहरुबीच पनि छलफल गरेर सहमतिमा पुग्ने पार्टी भएको उनले बताए ।

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन हुने

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन गर्ने सर्वदलीय सहमति जुटेको छ । आज बसेको सर्वदलीय बैठकमा असार २३ मा पुनः निर्वाचन गर्ने सहमति भएको हो ।

निर्वाचनमा कांग्रेस र एमालेले धाँधली गरेको आरोप लगाएपछि मतदान स्थगित गरिएको थियो ।

वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद हुँदा मतदान स्थगित गरिएको थियो । निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनः निर्वाचन गर्ने निष्कर्ष निकालेको थियो ।

एमालेका जनप्रतिनिधिले महासंग्राम जितेर आएको अध्यक्ष ओलीको भनाइ

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा एमालेका जनप्रतिनिधिले महासंग्राम जितेर आएको बताएका छन् ।

काठमाडौंमा पार्टीको केन्द्रीय स्कूल विभागले आज काठमाडौँमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै ओलीले एमालेले चूनावमात्रै नभएर अधिनायकवादी तानाशाही र दमनकारी शासकका विरुद्ध लडेको भन्दै जनप्रतिनिधिले महासंग्राम जितेर आएको बताए ।

सम्पूर्ण प्रतिक्रियावादी एमालेविरुद्ध लागेर बुथ कब्जा गरिएको स्थितिको सामना एमालेले गर्नुपरेको उनले बताए ।

जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सब इन्जिनियर रूपक घिमिरे र लेखापाल सतेन्द्र यादवविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

यस्तै बलेफी तेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामाविरुद्ध पनि अख्तियारले मुद्दा दर्ता गरेको छ ।

कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा झूटो प्रतिवेदन बनाई बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा आर्थिक वर्ष २०७४/७५ मा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ अनियमितता गरेको अख्तियारको ठहर छ ।

चितवन राष्ट्रिय निकुञ्जको टोलीले बाघ खोजी कार्य गर्दै

चितवनमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएपछि चितवन राष्ट्रिय निकुञ्जको टोलीले बाघको खोजी कार्य थालेको छ ।

सो टोलीमा निकुञ्जका कर्मचारी, सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी छन् ।

बाघले भरतपुर महानगरपालिका–२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो । उनी बिहान ७ बजेतिर जंगल गएकी थिइन् ।

साढे ८ बजेतिर बाघले आक्रमण गरेको थियो । निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले हवाई फायर गर्दै बाघलाई लखेटेर शव निकालेका थिए । प्रहरीले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लैजान लाग्दा स्थानीयले विरोध गरेका थिए ।

नेपालमा पनि मंकीपक्सका एक शंकास्पद बिरामी फेला

नेपालमा पनि मंकीपक्सका एक शंकास्पद बिरामी फेला परेका छन् । दुबई हुँदै नेपाल आएका एक २६ वर्षीय पुरुषमा मंकीपक्सको संक्रमण देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका छन् ।

ती पुरुषमा मंकीपक्सको शंकास्पद लक्षण देखिएपछि टेकु लगिएको हो । बिरामीको हिस्ट्री लिँदा सात दिनदेखि लगातार ज्वरो आएको पाइएको र शरीरमा ‘मंकीपक्स’ भाइरसको जस्तो धेरै राता फोका देखिएको पनि चिकित्सकले बताएका छन् ।

नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रदेशभर गरिएको १ हजार ३८ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार २ सय ३० एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १४ संक्रमित निको भएका छन् । हाल नेपालमा ९५ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

५१ किलो लागू औषध हेरोइनसहित ७ जना विदेशी नागरिक पक्राउ

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले ५१ किलो लागू औषध हेरोइनसहित ७ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोले आज काठमाडौंका पत्रकार सम्मेलन गर्दै त्रिभुवन विमानस्थल र ठमेल वरपरका क्षेत्रमा निगरानी र अनुसन्धान गर्दा सात जना दक्षिण अफ्रिकाका महिलाहरुलाई पक्राउ गरिएको जनाएको हो ।

उनीहरु विभिन्न मितिमा फ्लाई दुबई र कतार एयरवेजबाट काठमाडौं आएको खुलेको छ ।

उनीहरुबाट बरामद लागू औषधमा सेतो हिरोइन ४९ किलो र खैरो हिरोइन २ किलो रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विरुद्ध लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।