पेट्रोलियम पदार्थको मूल्य नघट्दा उपभोक्ता मारमा « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य नघट्दा उपभोक्ता मारमा


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ओरालो लागिरहेको छ । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको थियो । सन् २०२१ को जुन महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको औसत मूल्य प्रतिव्यारेल ७१.३५ अमेरिकी डलर थियो ।

रुस र युक्रेनबीच युद्ध सुरु भएपछि कच्चा तेलको मूल्य अस्वाभाविकरूपमा वृद्धि भयो । सन् २०२२ को जुनमा क्रुड र प्रशोधित तेलको मूल्य ह्वात्तै बढेर प्रतिव्यारेल ११९.५५ अमेरिकी डलर पुग्यो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भयो ।

पछिल्लो दुई महिनायता भने विश्वबजारमा कच्चा तेलको औसत मूल्यमा निरन्तर गिरावट आइरहेको छ । सन् २०२२ को जुलाई १६ तारिखमा कच्चा तेलको मूल्य प्रतिव्यारेल १०७.४० अमेरिकी डलर र अगष्ट १६ तारिखमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ९९.७२ अमेरिकी डलरमा झरेको छ । कच्चा तेलको मूल्य घट्न थालेसँगै विश्व बजारमा प्रशोधित तेलको मूल्य पनि लगातार घटिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र प्रशोधित तेलको मूल्य लगातार घटिरहँदा इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ खरिद गरिरहेको नेपाल आयल निगमले भने अझै पनि मूल्य घटाएको छैन । पेट्रोलियम पदार्थको खरिद मूल्य घटेर आउनाका साथै केहीमा नाफा हुँदासमेत निगमका अधिकारी मूल्य घटाउने पक्षमा देखिएका छैनन् ।

अझै पनि मासिक रु ६२ करोड घाटा, रु २३ अर्ब बढी बक्यौता र रु १० अर्ब ऋण तिर्न बाँकी रहेकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा नेपालमा पनि मूल्य घटाउन सक्ने अवस्था नरहेको निगमका अधिकारीको भनाइ छ । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी आइओसीबाट मूल्य घटेर आए पनि मासिक घाटा तथा इन्धन खरिदवापतको रु २३ अर्ब र रु १० अर्ब ऋण भुक्तानी बाँकी रहेकाले मूल्य समायोजन गर्न नसकिएको बताए ।

आइओसीले आज पठाएको नयाँ मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ७४ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर चार रुपैयाँ ५० पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय ९९ रुपैयाँ ५७ पैसा घाटा छ ।
‘पछिल्लो तीनपटकमा आइओसीबाट केही मूल्य घटेर आएको छ, तर अझै निगमलाई मासिक रु ६२ करोड ५८ लाख घाटा छ, आइओसीलाई रु २३ अर्ब बक्यौता भुक्तानी तथा विभिन्न समयमा लिइएको रु १० अर्ब ऋण तिर्न बाँकी छ’, उनले भने, ‘आपूर्ति व्यवस्थालाई सहज बनाउन पेट्रोलियम पदार्थको थोक तथा खुद्रा बिक्री मूल्यमा कुनै समायोजन गर्न सक्ने अवस्था छैन ।’

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै जाँदा नेपालमा सोही ढङ्गबाट मूल्य समायोजन नहुँदा घाटा बढ्दै गएको उनले बताए । बक्यौता र ऋण चुक्ता नहुँदासम्म पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत राखेर जाने निगमको रणनीति छ ।

अहिले नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८१, डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७२, हवाई इन्धन (बाह्य)को प्रतिकिलोलिटर एक हजार छ सय ४५ अमेरिकी डलर, हवाई इन्धन प्रतिलिटर रु एक सय ९० र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार आठ सय छ ।

सञ्चित बचत शून्यमा पुगेको र घाटा बढ्दै जाँदा आपूर्ति व्यवस्थामा नै समस्या आउने सक्ने भन्दै निगमले गत असारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको थियो । निगमले गत असार ५ गते पेट्रोलमा प्रतिलिटर रु एक सय ९९, डिजेल/मट्टितेलमा रु एक सय ९२, हवाई इन्धन (बाह्य)को प्रतिलिटर १.६४५ अमेरिकी डलर, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर रु एक सय ८५ ले वृद्धि गरेको थियो ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गत असार १० गते सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको विभिन्न शीर्षकको करमा ५० प्रतिशतले छुट दिएर जनतालाई राहत दिन निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा निगमले असार ११ गते पेट्रोलिय पदार्थको मूल्य घटाएको थियो ।

सञ्चित बचत सकिएपछि सरकारले निगमलाई पेट्रोलियम पदार्थ खरिद गर्न भनेर रु सात अर्ब ऋण दिएको थियो । सो ऋणले पनि नपुगेपछि निगमले टेकुस्थित केन्द्रीय कार्यालय रहेको जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैंकबाट रु तीन अर्ब ऋण लिएको थियो । सरकारले दिएको ऋण पाँच वर्षभित्र चुक्ता गरिसक्नुपर्ने छ । सो ऋणको पाँच प्रतिशतले ब्याज र त्रैमासिक किस्ता तिर्नुपर्ने निगमले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ८ : २८ बजे

दोलखामा अतिक्रमित क्षेत्र व्यवस्थापन गर्ने बहस सुरु

दोलखा- दोलखा जिल्लामा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने सन्दर्भमा

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र

नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना

पेरिस- स्वास्थ्यमा समस्या आए पछि इरानका नोबेल शान्ति पुरस्कार विजेता

मुक्त कमैयालगायत समुदायका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

कञ्चनपुर- कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले